डटकम युगपछि यस्तो चमत्कार : सेयर बजार रेकर्ड स्तरमा, एनभीडीया ४ ट्रिलियन डलर पार गर्ने पहिलो कम्पनी

एनभीडीयाका सीईओ जेन्सेन हुआङ । फाइल तस्बिर

काठमाडौं । अमेरिकामा अहिले डलर बाहेकका सबै एसेट्सहरू रेकर्ड स्तरमा पुगेका छन् । यसमा सेयर बजार पनि सामेल छ । हालैको तीव्र वृद्धिसँगै अमेरिकी स्टक मार्केटको क्याप–टु–जीडीपी अनुपात २२१ प्रतिशतको ऐतिहासिक स्तरमा पुगेको छ । अप्रिलको न्यूनतम स्तरदेखि यसमा ५८ प्रतिशतको वृद्धि आएको हो । 

यो २००८ को वित्तीय सङ्कटपछिको न्यूनतम स्तरभन्दा करिब ४।६ गुणा बढी हो । सन् २००० को डटकम बबलका बेला यो अनुपात १४२ प्रतिशतमा पुगेको थियो । अहिले यो १३ वर्षको औसत ८७ प्रतिशतभन्दा निकै माथि पुगेको छ ।

पछिल्लो समयमा अमेरिकाका ठूला कम्पनीहरूको सेयरमा उल्लेखनीय वृद्धि देखिएको छ । उदाहरणका लागि, विश्वकै सबैभन्दा मूल्यवान कम्पनी एनभीडीयाको हिस्सा अहिले एमएससीआई अल–कन्ट्री वर्ल्ड इन्डेक्समा ५.०४ प्रतिशत पुगेको छ । 

यो इन्डेक्सले विश्वका इक्विटी बजारको करिब ८५ प्रतिशत हिस्सा समेट्छ जसमा ठूला र मध्यम आकारका सेयरहरू सामेल छन् । एनभीडीयाको तौल अब विश्वकै तेस्रो ठूलो सेयर बजार जापान (४.७८ प्रतिशत) भन्दा पनि बढी भएको छ ।

उक्त इन्डेक्समा चीनको हिस्सा ३.३३ प्रतिशत, बेलायतको ३।२३ प्रतिशत र क्यानडाको २.९२ प्रतिशत छ । एनभीडीयाको योगदान फ्रान्स र जर्मनी दुवैको संयुक्त योगदानभन्दा पनि ठूलो छ । 

एनभीडीयाको बजार पूँजीकरण अहिले ४.५०५ ट्रिलियन अमेरिकी डलर पुगेको छ — इतिहासमै पहिलोपटक कुनै कम्पनीको मार्केट क्याप ४ ट्रिलियन डलर नाघेको हो । एनभीडीयापछि माइक्रोसफ्ट (३.८९४ ट्रिलियन डलर), एप्पल (३.८०६ ट्रिलियन डलर) र अल्फाबेट (२.९७९ ट्रिलियन डलर) क्रमशः रहेका छन् ।

Share News