म्यानमारमा बौद्ध पर्वका क्रममा प्याराग्लाइडरबाट बम आक्रमण, २४ जनाको मृत्यु

करिब सय मानिस उत्सवका लागि जुटेका थिए ।

काठमाडौं । सेन्ट्रल म्यानमारमा एक धार्मिक पर्व र प्रदर्शनका क्रममा जनसमूहमाथि मोटरचालित प्याराग्लाइडरबाट आक्रमण भएको छ । यस आक्रमणबाट कम्तीमा २४ जनाको मृत्यु भएको छ भने ४७ जना घाइते भएका छन् ।

निर्वासित नेशनल युनिटी गभर्नमेन्टका प्रवक्ताले बीबीसी बर्मिजलाई यो जानकारी दिएका हुन् ।

पीपल्स डिफेन्स फोर्ससँग सम्बन्धित एक स्थानीय अधिकारीका अनुसार सोमबार साँझ करिब १०० जना व्यक्ति चाउङ-यु टाउनसिपमा आयोजित थाडिङयुत पर्वमा सहभागी भएका थिए ।

यो पर्व बौद्ध परम्परासँग सम्बन्धित छ । अधिकारीका अनुसार उक्त अवसरमा मोटरचालित प्याराग्लाइडरबाट भीडमाथि दुईवटा बम फ्यालिएका थिए ।

यस पर्वमा सैन्य जुन्ताको नीतिको विरोधस्वरूप बत्ती बालेर प्रदर्शन पनि गरिएको थियो ।

म्यानमार सन् २०२१ मा भएको सैनिक शासनपछि गृहयुद्धको अवस्थाबाट गुज्रिरहेको छ । संयुक्त राष्ट्रसंघको अनुमान अनुसार हालसम्म यस संघर्षमा ५ हजारभन्दा बढी सर्वसाधारणले ज्यान गुमाइसकेका छन् ।

Share News