काठमाडौं । टेस्लाले आफ्नो सबैभन्दा बढी बिक्री हुने मोडल वाई एसयूभी र मोडल थ्री सेडानका ‘सस्तो’ संस्करण सार्वजनिक गरेको छ । तर, सुरुवाती मूल्य क्रमशः ३९ हजार ९९० डलर र ३६ हजार ९९० डलर राखिएपछि केहीले यसलाई नयाँ वर्गका ग्राहकलाई आकर्षित गर्न अझै पनि महँगो भएको बताउँछन् ।
प्रमुख कार्यकारी अधिकारी (सीईओ) एलन मस्कले गत वर्ष कर छुटपछि ३० हजार डलरभन्दा कम मूल्य नै व्यापक ग्राहक समूहसम्म पुग्ने प्रमुख उपाय हुने बताएका थिए ।
टेस्लाले अहिले यूरोप र चीनमा बढ्दो प्रतिस्पर्धा, घट्दो बिक्री र अमेरिकाको ७ हजार ५०० डलरको कर छुट गुमेपछि आफ्नो पुरानो मोडेलहरूको बिक्री पुनः बढाउने प्रयास गरिरहेको छ । नयाँ कारहरूले केही प्रिमियम विशेषता र फिनिस हटाएका छन्, तर ३०० माइल (४८० किमी) भन्दा बढीको ड्राइभिङ दायरा प्रदान गर्छन् ।
टेस्लाको सेयर मूल्य ४.५ प्रतिशतले घट्यो । टेस्लाका समर्थक तथा वेडबशका विश्लेषक ड्यान आइभ्सले भने नयाँ मोडलहरू अघिल्ला स्तरका ट्रिम्सभन्दा मात्र करिब ५ हजार डलर सस्तो भएकोमा निराशा व्यक्त गरे ।
नयाँ ‘स्ट्यान्डर्ड’ संस्करणको मूल्य गत सेप्टेम्बरमा उपलब्ध अमेरिकाको सबैभन्दा सस्तो मोडलहरूभन्दा बढी परेको छ, जब कर छुट अझै लागू थियो ।
मस्कले वर्षौंदेखि सर्वसाधारणका लागि सस्तो कार ल्याउने वाचा गर्दै आएका थिए । तर, गत वर्ष उनले नयाँ २५ हजार डलरको इलेक्ट्रिक कार निर्माण योजना रद्द गरेका थिए, जसको जानकारी पहिलो पटक रोयटर्सले दिएको थियो । त्यसको सट्टा उनले हालका मोडलकै सस्तो संस्करण बनाउने निर्णय गरे जसले लगानीकर्ता र विश्लेषकबीच चिन्ता पैदा गर्यो कि यसले पुराना मोडलहरूको बिक्री घटाउन सक्छ र कम्पनीको वृद्धि सीमित गर्न सक्छ ।
‘यो मूलतः मूल्य नियन्त्रणको प्रयास हो, नयाँ उत्पादनले बजारमा ठूलो प्रभाव पार्ने खालको होइन,’ अनुसन्धान संस्था फ्यूचरम इक्विटीजका प्रमुख बजार रणनीतिकार शाय बोलूरले भने, ‘म यसले नयाँ माग व्यापक रूपमा सिर्जना गर्ने देख्दिनँ ।’
अमेरिकामा कर छुट गुमेपछि माग घट्ने डरले केही अन्य कार निर्माता कम्पनीहरूले पहिले नै मूल्य घटाएका छन् भने कतिपयले प्रोत्साहनहरूको लाभ उपभोक्तालाई पुर्याउने नयाँ उपाय अपनाएका छन् ।
लगानीकर्ता र विश्लेषकहरूका अनुसार ४० हजार डलरभन्दा कम मूल्यले बिक्री बढाउन मद्दत गर्न सक्छ, किनभने अबका नयाँ मोडलहरूले आगामी वर्ष शेवरलेट इक्विनक्स, हुन्डाई आइओनिक फाइभ र कियाको ईभी फोरसँग प्रतिस्पर्धा गर्नेछन् । तर, केहीले टेस्लाले मूल्य ३० हजार डलरभन्दा तल झार्ने अपेक्षा गरेका थिए ।
‘मलाई लाग्दैन कि यो पर्याप्त छ,’ क्यामेलथोर्न इन्भेस्टमेन्ट्सका सल्लाहकार सन् क्याम्पबेलले भने, ‘दीर्घकालीन हिसाबले हेर्दा, यो समाचारले विश्व बजारमा कम लागतका चिनियाँ प्रतिस्पर्धीहरूले खडा गरेको समस्या समाधान गर्दैन । मेरो विचारमा टेस्लालाई ३० हजार डलरभन्दा कमको ईभी चाहिन्छ ।’