काठमाडौं । कोशी प्रदेशको इलामका बाढी–पहिरो पीडितहरूका लागि प्रदेश सरकारले राहत सामग्री प्रभावित क्षेत्रतर्फ पठाएको छ ।
प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीका अनुसार चामल, दाल, आलु, तेल, नुन र बेसारसहितका दैनिक उपभोग्य वस्तु इलाम पठाइएको छ । यसबाहेक ब्ल्यांकेट, म्याट्रेस, त्रिपाललगायतका न्याना कपडा पनि इलाम पठाइएको कार्कीले जानकारी दिएका छन् ।
जिल्लाका माङसेबुङ र इलाम सदरमुकामसहितका प्रभावित क्षेत्रमा हेलिकप्टरमार्फत राहत सामग्री पुर्याइसकिएको छ । इलामका सूर्योदय र देउमाई नगरपालिका तथा सदरमुकाम इलाम नगरपालिका बाढीबाट बढी प्रभावित देखिएका छन् । यसबाहेक जिल्लाका सन्दकपुर गाउँपालिका, माङसेबुङ गाउँपालिका, माईजोगमाई गाउँपालिका र फाकफोकथुम गाउँपालिकामा पनि बाढीले क्षति पुर्याएको छ ।
जिल्लाका बाढी–पहिरो पीडितहरूका लागि थप आवश्यक सामग्री पठाउने तयारी प्रदेश सरकारले गरेको मुख्यमन्त्री कार्कीले जानकारी दिएका छन् ।
मुख्यमन्त्री कार्कीले सुरक्षा निकायलाई उद्धृत गर्दै दिएको जानकारीअनुसार जिल्लामा कम्तीमा ३९ जनाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता रहेका छन् । जिल्लामा पहिरोले १४ घरमा पूर्णरूपमा क्षति पुर्याएको छ ।