अख्तियार प्रमुख राईको राजीनामा माग, जेनजीको प्रदर्शन

काठमाडौं । जेनजी युवाहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईको राजीनामा माग्दै प्रदर्शन गरेका छन् ।

उनीहरूले आज बिहान टंगालस्थित अख्तियार आयोगको मुख्यालय अगाडि सडकमा प्रदर्शन गरेका हुन् । प्रदर्शनलाई लक्षित गर्दै सुरक्षा निकायले आसपासका क्षेत्रमा कडा निगरानी र अतिरिक्त सुरक्षाकर्मी तैनाथ गरेको थियो ।

प्रदर्शनमा सहभागी अमित खनाल ओझाले अख्तियार प्रमुख राईले नैतिकताको आधारमा पदबाट राजीनामा दिनुपर्ने बताएका छन् ।

जेनजी युवाहरूले यसअघि पनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा नियुक्त भएका ५२ जना संवैधानिक पदाधिकारीको नियुक्ति खारेज गर्न माग गर्दै आएका छन् ।

 जेनजी मुभमेन्ट अलायन्सले राईसहित सम्पूर्ण आयुक्तहरूको राजीनामा माग्दै आज आयोगमै औपचारिक पत्र पनि बुझाएको छ । जेनजीले हिजो मात्र प्रमुख आयुक्त राईलाई इमेलमार्फत स्वेच्छिक राजीनामाको आग्रह गरेको थियो । 

Share News