विद्यालयमा आश्रय लिएका मानिसलाई महानगरले बाँड्यो खाद्यान्न

काठमाडौं । काठमाडौं महानगरपालिकाले बाढीका कारण समस्यामा परेका विद्यालयमा आश्रय लिइरहेका मानिसहरूका लागि खाद्यान्नको व्यवस्था गरेको छ। हाललाई महानगर प्रहरीमार्फत सुख्खा खानेकुराको व्यवस्था गरिएको छ भने महानगरपालिकाको शिक्षा विभागले सबै विद्यालयलाई आवश्यक थप व्यवस्था गर्न निर्देशन दिएको छ ।

अविरल वर्षाका कारण बाढी र डुबानको जोखिममा परेका बस्ती, त्यहाँका बासिन्दा र भौतिक सम्पत्ति जोगाउन जनशक्ति, स्रोत, साधन र उपकरण परिचालन गरिएको छ । जोखिममा रहेका परिवारका लागि महानगरपालिका भित्रका करिब ७० वटा सामुदायिक विद्यालयलाई तत्काल आश्रय स्थलका रूपमा प्रयोग गर्न व्यवस्था मिलाइएको छ । 

तीमध्ये ४ वटा विद्यालयमा जोखिममा रहेका परिवारलाई स्थानान्तरण गरी राखिएको छ । महानगरका अनुसार विश्व निकेतन माध्यमिक विद्यालय, त्रिपुरेश्वरमा  ७० जना, गुह्येश्वरी माध्यमिक विद्यालय, थापाथलीमा ५२ जना, जन विकास माध्यमिक विद्यालय कुलेश्वरमा ५२ परिवार २५१ जना, महेन्द्र सरस्वती आधारभूत विद्यालय, टेकुमा २० जना रहेका छन् । 

विद्यालयमा आश्रयसहित खाना, शौचालय, पानीलगायत आधारभूत सुविधाहरू महानगरपालिकाले उपलब्ध गराइरहेको छ। महानगरपालिकाका अधिकारीहरू जोखिमयुक्त क्षेत्रमा नियमित रूपमा खटिएका छन् । 

आम नागरिकले कुनै जोखिममा पर्न नपरोस् र विपदका कारण कष्ट भोग्नु नपरोस् भन्ने उद्देश्यले महानगरले संयन्त्र परिचालन गरेको छ । 

Share News