बलिदानको व्यापार १ करोड बढी, यस्तो छ दसैँमा प्रदर्शन भएका चलचित्रको व्यापार

काठमाडौं । दसैँका अवसर पारेर तीन नेपाली चलचित्र प्रदर्शन भएका छन् । फूलपाती अर्थात् असोज १३ गतेदेखि चलचित्र ‘हरिबहादुरको जुत्ता’, ‘माइतीघर’ र ‘बलिदान’ नेपालभर प्रदर्शनमा आएका छन् ।

दसैँको बिदा भए पनि तीन वटै चलचित्रले घरेलु बजारमा अपेक्षाकृत व्यापार भने गर्न सकेका छैनन् । चलचित्र विकास बोर्डको ‘बक्स अफिस २ सिनेमा’ एपमा चलचित्र ‘बलिदान’ ले २ दिनमा १ करोड ५ लाख ६५ हजार रुपैयाँ व्यापार (ग्रस कलेक्सन) गरेको तथ्याङ्क छ ।

उक्त चलचित्रले पहिलो दिन असोज १३ गते नेपालभर प्राप्त गरेको २४४ ‘शो’बाट ५७ लाख १९ हजार ३४० रुपैयाँ र दोस्रो दिन २१३ शोबाट ४८ लाख ४६ हजार रुपैयाँको व्यापार गरेको छ । सन्तोष सेनको निर्देशनमा तयार भएको चलचित्र ‘बलिदान’ मा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मालगायत कलाकारले अभिनय गरेका छन् । 

यस्तै, अभिनेता हरिवंश आचार्यले शीर्ष भूमिका निर्वाह गरेको चलचित्र ‘हरिबहादुरको जुत्ता’ ले प्रदर्शनको २ दिनमा ५९ लाख ५८ हजार रुपैयाँको व्यापार गरेको छ ।

उक्त चलचित्रले असोज १३ गते १३४ शोबाट २४ लाख ८५ हजार ६४ रुपैयाँ र दोस्रो दिन ३४ लाख ७३ हजार रुपैयाँको व्यापार गरेको छ । उक्त चलचित्रले पहिलो दिन र दोस्रो दिन समान ‘शो’ पाएको छ । दीपेन्द्रकुमार खनालको निर्देशनमा तयार भएको चलचित्र ‘हरिबहादुरको जुत्ता’ मा अभिनेता आचार्यसँगै स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल लगायतका कलाकारले अभिनय गरेका छन् ।

अभिनेता आचार्यले टेलिशृङ्खला र रङ्गमञ्चमा निर्वाह गरेकाे चर्चित पात्र ‘हरिबहादुर’ लाई यसपटक चलचित्रमा ल्याएका हुन् ।

प्रदर्शनरत तेस्रो चलचित्र ‘माइतीघर’ ले प्रदर्शनको २ दिनमा ३८ लाख ६३ हजार रुपैयाँको व्यापार गरेको छ । उक्त चलचित्रले असोज १३ गते पहिलो दिन १४४ ‘शो’बाट १८ लाख ९६ हजार ४५५ रुपैयाँ र दोस्रो दिन १३० ‘शो’बाट १९ लाख ६७ हजार रुपैयाँको व्यापार गरेको तथ्याङ्क चलचित्र विकास बोर्डको ‘बक्स अफिस २ सिनेमा’ एपमा छ ।

रोहित अधिकारीले निर्माण तथा मिलन तामाङले निर्देशन गरेको यस चलचित्रमा केदार घिमिरे, उपासना सिंह ठकुरी, धीरज मगर, प्रकाश सपुतलगायत  कलाकारले अभिनय गरेका छन् । 

पछिल्ला वर्षमा दसैँमा नेपाली चलचित्रको व्यापार राम्रो भएको पाइएको छ । सोही कारण यो दसैँमा तीन चलचित्रले प्रदर्शन मिति तय गरेका हुन् । बिदाको समयमा चलचित्रले राम्रो प्रतिक्रिया पाएमा त्यसको व्यापार बढ्ने अपेक्षाले चाडपर्व केन्द्रित प्रदर्शन हुने क्रम बढेको चलचित्रकर्मीको भनाइ छ ।

Share News