दसैँमा महिलाहरू घरायसी काममा व्यस्त, पुरुष जाँडरक्सी र जुवा तासमा मस्त

काठमाडौं । दसैँको समयमा घरबाहिर रहेका वा रोजगारीमा रहेका घर फर्किएका छन् । यो समयमा परिवारका सबै सदस्य जम्मा हुने, खानपान तथा रमाइलो गर्ने चलन छ । यस्तो बेलामा घरायसी काम बढ्ने गर्दछ । घरायसी काम बढ्दा महिलालाई कामको बोझ बढ्ने गरेको महिला बताउँछन् ।

चाडपर्व भनेपछि प्रायजसो सबैलाई रमाइलो गर्न मनपर्छ । नेपाली समाजमा महिला घरायसी कामले पिल्सिने, पुरुष रमाइलो गर्ने, फुर्सदिला भएकाजस्तो देखिन्छ । भजनी नगरपालिकाकी साधना साउदका घरमा अहिले दसैँको रौनक छ । विदेशमा भएका श्रीमान् घर आएपछि घर आफन्त तथा पाहुनाले भरिएको छ । सबैलाई घरमा रमाइलो छ तर साधनाको भोक निद्रा हराएको छ ।

‘दुई वर्षपछि श्रीमानसँग भेट भएकोमा खुसी छु, यसपाली श्रीमानसँग घुम्ने योजना थियो, तर घरको कामबाट फुर्सद छैन,’ उनले भनिन्, ‘बिहान ४ बजेदेखि राति ११ बजेसम्म कामै सकिँदैन, सबै रमाउनेहरु मात्रै छन्, काम जति मेरै जिम्मामा छ ।’

टीकापुरकी द्रोपती तिमिल्सिनाले चाडपर्वमा समाजमा महिलालाई भ्याइनभ्याइ भएको देखेकी छिन् । ‘दसैँ, तिहार बिदामा समाजमा पुरुष फुर्सदिला देखिने, महिला भने घर सरसफाइ, भान्साको काम, पाहुनाको स्वागतमा व्यस्त रहेको देखिन्छ,’ उनले भनिन्, ‘महिलाले पनि यो समयमा नयाँ ठाउँ घुम्ने, अध्ययन गर्ने, नयाँ काम गर्ने, आफ्ना लागि समय छुट्याउन पाएको देखिँदैन ।’

द्रोपतीका श्रीमान् भने निकै सहयोगी छन् । उनीहरू मिलेर घरायसी काम गर्छन् । चाडपर्वमा गरिने खर्च, किनमेल र नयाँ योजना बनाउँदा पनि सल्लाह गरेर गर्छन् ।

अर्की महिला जानकी कुँवर महिलालाई त्यसै पनि घरायसी कामको बोझ हुने गरेका बेला चाडपर्व तथा उत्सवले थप जिम्मेवारी थप्ने बताउँछिन् । ‘कामकाजी महिलालाई अझ दोहोरो जिम्मेवारी हुने हुँदा महिलालाई घरायसी काम व्यवस्थापन गर्न कठिन हुन्छ,’ उनले भनिन्, ‘यस्तो बेला परिवारका सदस्य सहयोगी हुनुपर्छ । चाडपर्वमा खुसी हुने अवसर सबैलाई दिनुपर्छ । परिवार भनेको सामूहिक खुसी हो भन्ने सबैमा भावना हुनुपर्छ ।’

पुरुष घुमघाम गर्ने, रमाइलो गर्ने, जाँडरक्सी खाने, जुवा तास खेल्ने गलत अभ्यास हाम्रो समाजमा अहिले पनि देखिन्छ । जसले समाजमा अशान्ति र हिंसा बढाउँछ, भन्नेमा सबै सचेत हुनुपर्ने अधिकारकर्मी चन्द्रावती शर्माको भनाइ छ ।

‘महिला रातदिन घरको काममा व्यस्त हुने, पुरुष जुवा तासमा रमाउने गर्दा पारिवारिक कलह हुनसक्छ । परिवारका सबै सदस्य मिलेर घरायसी काम गर्ने, मिलेर रमाइलो गर्दै चाडपर्व मनाउने गरेमा चाडपर्व सबैका लागि रमाइलो हुन्छ । तर समाजमा यस्तो अभ्यास निकै कम छ,’ उनले भनिन् ।

अर्की महिला अधिकारकर्मी कौशल्या खनाल पितृसत्तात्मक समाजका कारण विगतमा छोराछोरीलाई बराबरी काम नसिकाएकै कारण अहिले महिलाले हिंसा भोगिरहेका बताउँछिन् ।

‘घरायसी काममा असमानता महसुस गरिरहेकाले अबका आमा सचेत हुनुपर्छ । छोराछोरीले बराबरी काम गर्नुपर्छ भन्ने सन्देश दिनुपर्छ । सानैबाट छोरालाई घरायसी काम सिकाउनुपर्छ,’ उनले भनिन् । 

चाडपर्वका बेला महिलाले खानपान, काम मात्र नभनी आफ्नो स्वास्थ्यको ख्याल गर्नुपर्ने, धेरै तनाव नलिने, योग तथा ध्यान जस्ता कार्यमा सहभागी भएर आफूलाई सम्हाल्नुपर्ने स्वास्थ्यकर्मी हेमा ज्ञवालीको सुझाव छ ।

‘चाडपर्व सबैका लागि आएको हुन्छ । चाडपर्वमा रमाउने, राम्रो लगाउने, मीठो खाने चाहना सबैको हुने भएकाले सबै मिलेर काम बाँडफाँड गर्ने, अनावश्यक खर्च नगर्ने, घर सल्लाहमा खर्च गर्ने गरेमा महिला पुरुष दुवै खुसी हुन्छन् । महिला पुरुष खुसी भएमा परिवार, समाजमा शान्ति छाउँछ,’ उनले भनिन् । रासस

Share News