काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तोकिएकै समयमा निर्वाचन सम्पन्न गरी संसद र सरकारको निरन्तरताका लागि सबैलाई संयमता र सहयोग गर्न अपिल गरेका छन् ।
बडादशैं–२०८२ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले भनेका छन्, 'तोकिएको निर्वाचन समयमै सम्पन्न गरी जनप्रतिनिधिमूलक संसद र सरकारको निरन्तरताका लागि सबैलाई संयमित भई आवश्यक सहयोग र सहकार्य गर्न आग्रह गर्दछु । यस परिस्थितिबाट शीघ्र उन्मुक्ति प्राप्त गरी समग्र राष्ट्रको कल्याणका लागि दुर्गा भवानीले शक्ति प्रदान गरून् भन्ने प्रार्थना गर्दछु ।'
गत भदौ २३ र २४ गते जेनजीको प्रदर्शनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए । प्रतिनिधि सभाबाट अर्को सरकार गठनको अवस्था नबनेपछि पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको हो । अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले भदौ २७ गते प्रतिनिधि सभा विघटन गरेका थिए । नयाँ निर्वाचन आगामी फागुन २१ गते तोकिएको छ ।
यस सन्दर्भमा राष्ट्रपति पौडेलले तोकिएको निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्ने आवश्यकता औंल्याउँदै मुलुकमा सुख, शान्ति, स्थायित्व, सुशासन र समृद्धिको कामना गरेका छन् ।
मुलुकमा उत्पन्न असाधारण परिस्थिति, मानवीय क्षति र सरकारी तथा निजी क्षेत्रमा परेको भौतिक क्षतिलाई उपयुक्त व्यवस्थापन गर्न सबै पक्षको सहकार्य अपरिहार्य भएको पनि उनले बताएका छन् ।
दसैँ पर्वको संरक्षण र सम्बर्द्धनले राष्ट्र र राष्ट्रियताप्रति अटल सम्मान र गहिरो प्रेम जागृत हुने विश्वास व्यक्त गर्दै राष्ट्रपति पौडेलले बडादशैं–२०८२ सबै नेपालीमा नयाँ उत्साह, उमंग र सकारात्मक ऊर्जा भर्ने शुभकामना व्यक्त गरेका छन् ।