चाडपर्वमा पनि तलब नपाएको ५०० भन्दा बढी गुनासो, छानबिन गर्ने मन्त्री पुनको घोषणा

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले दशैं, तिहार र छठ जस्ता चाडपर्वमा समेत शिक्षक र कर्मचारीले तलब नपाएको गुनासो आएको भन्दै छानबिन गर्ने बताएका छन् ।

मन्त्री पुनले सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै ५०० भन्दा बढी गुनासो आफूलाई फोन र इमेलबाट प्राप्त भएको जानकारी दिएका हुन् । उनका अनुसार सबैभन्दा धेरै गुनासो मधेश प्रदेशबाट आएको छ ।

उनले लेखेका छन्, 'तलब पाइएन भनेर मलाई सबैभन्दा धेरै फोन मधेशबाट आएको छ। वर्ष दिनमा आउने दशैं, तिहार र छठ पर्व जस्तो महान चाडपर्वको बेलामा पनि पालिकाले ढिलासुस्ती र अनेक बहाना देखाइ तलब नखुवाएको ५०० भन्दा बढी गुनासो मलाई फोन र इमेलबाट आयो । शिक्षा मन्त्रालयले सबै पालिकालाई पैसा पठाइसकेको रहेछ। यस्तो बेथिति कसरी भयो भन्ने कुरामा अनुसन्धान गर्दैछु र सो बेथितिको समाधानको उपाय खोज्दैछु ।'

मन्त्री पुनले पालिकाबाट देखिएको ढिलासुस्ती र गैरजिम्मेवारीकै कारण शिक्षाकर्मी प्रभावित भएको भन्दै तत्काल छानबिन प्रक्रिया अघि बढाइने बताएका छन् ।

Share News