काठमाडौं । चालु आर्थिक वर्षको २ महिनामा वीरगञ्ज नाकाबाट १७ अर्ब ३ करोड रुपैयाँ बराबरका वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको छ । गत आवको सोही अवधिको तुलनामा चालु आवको २ महिनामा १० अर्ब ९८ करोड रुपैयाँभन्दा बढीको वस्तु तथा सामान निर्यात भएको हो । गत आवको पहिलो २ महिनामा यस नाकाबाट ६ अर्ब ५ करोड रुपैयाँ बराबरको वस्तु तथा सामान निर्यात भएको थियो ।
वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले वीरगञ्ज नाका हुँदै चालु आवको २ महिनामा निर्यात उत्साहजनक भएको बताए ।
‘गत आवको भदाैको तुलनामा चालु आवको सोही अवधिमा यहाँबाट हुने निर्यात १८१ प्रतिशतले वृद्धि भएको छ,’ उनले भने, ‘गत आवको २ महिनामा यहाँबाट हुने वैदेशिक व्यापारको अनुपात १ः२० रहेको अहिले सो अनुपातमा सुधार भएर १ः६० मा पुगेको छ ।’
वीरगञ्ज नाका हुँदै चालु आवको २ महिनामा ८ अर्ब ८४ करोड रुपैयाँ पर्ने ४ करोड २८ लाख २४ हजार ८७१ लिटर भटमासको तेल प्रशोधित निर्यात भएको छ । जबकी गत आवको सोही अवधिमा भने तीन लाख मूल्य पर्ने ४८० लिटर भटमासको तेल प्रशोधित निर्यात भएको थियो ।
त्यस्तै चालु आवको २ महिनामा १ अर्ब २४ करोड रुपैयाँ पर्ने १ करोड २६ लाख ९५ हजार ७३२ लिटर फलफूलको जुस विदेशी मुलुकमा निर्यात भएको छ । जबकी गत आवको सोही अवधिमा भने १ अर्ब २९ करोड रुपैयाँ पर्ने १ करोड ३६ लाख ४८ हजार १५५ लिटर जुस निर्यात भएको थियो ।
चालु आवको दुई महिनामा १ अर्ब १७ करोड रुपैयाँ बराबरको ३ करोड ४१ लाख १३ हजार २३० लिटर सूर्यमुखीको प्रशोधित तेल निर्यात भएको छ । जबकी गत आवको सोही अवधिमा भने नगन्य मात्रामा मात्रै निर्यात भएको थियो ।