काठमाडौं । शिक्षा मन्त्री महावीर पुनले तीन वटा निर्देशन तुरुन्त अगाडि बढाउन निर्देशन जारी गरेका छन् । पुनले सामाजिक सञ्जाल फेसबुकमार्फत तीन वटा निर्देशन जारी गरेका छन् ।
पहिलो निर्देशनमा हरेक सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षकको दरबन्दी अनिवार्य गर्ने दोस्रोमा विश्वविद्यालयले परीक्षा लिएको तीन महिनामै नतिजा प्रकाशन गर्नुपर्ने र तेस्रो त्रिभुवन विश्वविद्यालयमा रहेको झाडी फाँडेर सुन्दर बगैँचा बनाउन निर्देशन दिएका छन् ।
मन्त्रीले लेखेका छन्, ‘सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थी कम्प्युटर शिक्षाबाट वञ्चित नहुन् भन्ने उद्देश्यले पठनपाठनका लागि हरेक विद्यालयमा एक जना कम्प्युटर शिक्षकको दरबन्दी अनिवार्य थप्नु पर्नेछ ।’
मन्त्री पुनले तीन महिनाभित्र परीक्षाफल नदिने विश्वविद्यालयको अनुदान रोक्का गर्ने निर्णय गरेका छन् । केही विश्वविद्यालयले परीक्षा लिएको आठ महिनादेखि एक वर्षसम्म पनि परीक्षाफल सार्वजनिक नगर्दा विद्यार्थीलाई अपूरणीय क्षति पुगेकोले बढीमा तीन महिनाभित्र नतिजा सार्वजनिक गरिसक्नुपर्नेछ । यो निर्देशन पालना नगर्ने विश्वविद्यालयको अनुदान रोक्का गरिने उनको भनाइ छ ।
यस्तै पुनले त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको हाताभित्र बगैँचासहित फुटपाथ बनाउने बताएका छन् । विश्वविद्यालयको हाताभित्र ठुलो क्षेत्रफलमा रहेको झाडी फाँडेर सुन्दर बगैँचासहित फुटपाथ निर्माण गरी आकर्षक बनाउने पनि मन्त्री पुनले बताएका छन् ।