साझाका ५ वटा सटल बस काठमाडौंदेखि नारायणगढसम्म

काठमाडौँ । दशैंको बेला उपत्यकाबाट बाहिरिने यात्रुहरूलाई सहजता प्रदान गर्न साझा यातायातले सटल बस सेवा सञ्चालनमा ल्याएको छ । 

यस वर्ष सवारीसाधनको कमी हुने र सडकको अवस्था पनि बिग्रिएको हुनसक्ने भएकाले यात्रुहरूलाई सुरक्षित र व्यवस्थित यात्रा गराउने उद्देश्यले यो सेवा सुरु गरिएको साझा यातायातले जनाएको छ । 

साझा यातायाताका अनुसार काठमाडौं-नारायणगढ रुटमा मात्रै यो सेवा उपलब्ध हुनेछ । मंगलबारदेखि सुरु भएको यो सेवा दशैंअवधिभरि जारी रहनेछ । दैनिक पाँचवटा बसले यो रुटमा सेवा दिनेछन् ।

बसहरू हरेक दिन बिहान ७ बजेदेखि प्रत्येक एक घण्टाको फरकमा कलंकीबाट छुट्ने छन् । साझाका अनुसार बिहान ७ बजे, ८ बजे, ९ बजे, १० बजे, ११ बजे र १२ बजेसम्म बसहरू काठमाडौंबाट प्रस्थान गर्नेछन् ।

यात्रुले सिटमा मात्र बस्न पाउने, उभिएर वा मुडामा बसेर यात्रा गर्न नपाउने साझाले जनाएको छ । टिकटबिना यात्रा गर्ने यात्रुहरूलाई प्रचलित कानुन बमोजिम कारबाही गरिने संस्थाले स्पष्ट पारेको छ ।

 प्रारम्भिक दिनमा यात्रुको संख्या केही कम भए पनि, अहिले फोनमार्फत सोधपुछ र अनलाइन बुकिङ गर्नेहरूको संख्या बढेको साझा यातायात व्यवस्थापन अधिकृत शंकर बस्यालले विकासन्युजलाई जानकारी दिए । 

उनका अनुसार टिकटको मूल्य सरकारी दररेटअनुसार निर्धारण गरिएको छ  । यात्रुहरूले अनलाइन माध्यमबाट पनि टिकट बुकिङ गर्न सक्ने व्यवस्था मिलाइएको उनको भनाइ छ । 

नारायणगढसम्मको भाडा एकतर्फी ३०० रुपैयाँ तोकेको उनको भनाइ छ । यात्रुले अनिवार्य रूपमा साझा यातायातको टिकट लिनुपर्ने व्यवस्था गरिएको छ ।

यात्रुहरूको सुरक्षाका लागि बसमा सीसीटीभी जडान गरिनुका साथै ट्राफिक समन्वय अधिकारीहरूसँग पनि सहकार्य गरिएको छ । बस्यालका अनुसार विगतमा यातायात व्यवसायीहरूको आन्दोलनका बेला पनि साझाले उपत्यकाभित्र र बाहिर बस सञ्चालन गरेर यात्रुहरूलाई सहयोग गरेको थियो । 

चीन सरकारको अनुदानमा १०० वटा विद्युतीय बस ल्याउने योजना साझाको छ ।  

साझा यातायात नेपाल सरकारको ९९ प्रतिशत लगानी रहेको एक सार्वजनिक यातायात संस्था हो । हाल साझा यातायातसँग १ सय ११ वटा बस सञ्चालनमा छन् । उपत्यकाभित्र चल्ने बसहरूका लागि आफ्नै परिसरभित्र २० वटा चार्जिङ स्टेशन पनि निर्माण गरिएका छन् । 

यात्रुहरूले साझालाई सुरक्षित र भरपर्दो यात्राका लागि मन पराएको प्रतिक्रिया साझाले पाएको छ । जसले गर्दा धेरै यात्रुहरूले अन्य सार्वजनिक यातायातभन्दा साझालाई प्राथमिकता दिने गरेको बस्यालले बताए । 

Share News