काठमाडौं । चालु आर्थिक वर्षको पहिलो २ महिनामा वीरगञ्ज नाकाबाट ७ अर्ब १६ लाख रुपैयाँ बराबरका सवारीसाधन तथा पार्ट पुर्जा आयात भएका छन् । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आवमा उक्त नाकाबाट १ अर्ब ७५ करोड रुपैयाँ बढी मूल्यका सवारीसाधन र त्यसमा प्रयोग हुने पार्ट पुर्जा आयात भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार गत आवको उक्त अवधिमा ५ अर्ब २५ करोड रुपैयाँ का सवारीसाधन तथा पार्टपुर्जा आयात भएका थिए । कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले चालु आवको २ महिनामा यो नाका हुँदै सवारीसाधनको आयात उत्साहजनक भएको बताए ।
‘गत आवको २ महिनाको तुलनामा चालु आवको सोही अवधिमा सवारीसाधनको आयातबाट प्राप्त हुने राजस्वमा समेत वृद्धि भएको छ,’ उनले भने ।
गत आवको २ महिनामा सवारीसाधनको आयातबाट ४ अर्ब ४७ करोड ७६ लाख रुपैयाँ राजस्व सङ्कलन भएको थियो भने चालु आवको २ महिनामा सवारीसाधनको आयातबाट ६ अर्ब १३ करोड ९२ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
चालु आवको २ महिनामा ४३ करोड ५२ लाख रुपैयाँका १७८ वटा जीप, कार र भ्यान आयात भएका छन् । जबकि गत आवको सोही अवधिमा ५१ करोड ६२ लाख रुपैयाँका २९५ वटा जीप, कार र भ्यान आयात भएको थियो ।
चालु आवको २ महिनामा २ अर्ब ७९ करोड रुपैयाँका २० हजार ६२० थान अनएसेम्वल्ड मोटरसाइकल आयात भएको छ । जबकि गत आवको सोही अवधिमा १ अर्ब ८५ करोड रुपैयाँका १४ हजार ७६६ वटा अनएसेम्वल्ड मोटरसाइकल आयात भएको थियो । चालु आवको २ महिनामा ६६ करोड ४३ लाख रुपैयाँका ३१८ वटा अन्य बस ट्रकका चेसिस आयात भएको कार्यालयको भनाइ छ ।