काठमाडौं । सेतो दौरा सुरुवाल, खरानी कलरको कोट, घाँटीमा रातो गलबन्दी, खुट्टामा कालो जुत्ता, कपालमा भादगाउँले टोपी । सायद महावीर पुनको यो नयाँ रूप थियो । योभन्दा अगाडि सायदै उनलाई यस्तो पहिरनमा नागरिकले देखेनन् ।
सादा जीवन उच्च विचारलाई आत्मसात गर्दै सामान्य चप्पल र हाफ पाइन्टमा सडकमा भेटिने उनी सोमबार फरक पहिरनमा देखिए । झट्ट हेर्दा महावीर पुन नै हुन् र भन्ने अड्कल गर्न गाह्रो । तर, उनै महावीर हुन् जो खुट्टामा चप्पल पड्काउँदै विभिन्न चोकमा भेटिन्थे । पुनका लागि जसरी शिक्षामन्त्रीको पद र अब निभाउनुपर्ने भूमिका फरक छ, त्यसैगरी उनले लगाउने पहिरनमा पनि फरक भएको छ ।
महावीर को हुन्, उनी कस्तो बोल्छन्, के काम गर्छन्, कसरी हिँड्छन्, कसरी बोल्छन् धेरैलाई थाहा छ । उनको बारेमा त कक्षा ४ मा विद्यार्थीले नेपाली किताबमै पढ्नुपर्छ ।
म्याग्दी जिल्लामा जन्मेका महावीर पुन वैज्ञानिक हुन् । समाजसेवाका रूपमा परिचित उनको जीवनशैली निकै सरल छ । एउटा सामान्य परिवारको नागरिक जस्तै सामान्य पहिरनमा देखिने उनको सोमबारको पहिरन धेरैका लागि पृथक लाग्यो । मुखमा आएको फ्याट्ट बोली हाल्ने उनको व्यवहार हो । सामान्य जीवनशैली उनको पहिचान हो । औपचारिकतामा धेरै विश्वास नगर्ने उनी शिक्षामन्त्री बनेपछि पनि त्यस्तै देखिए ।
सोमबार शितलनिवासमा शपथ ग्रहणपछि पदभार ग्रहणका लागि नारायणहिटी नजिकै रहेको केशर महल पुग्नुअघि धेरैले शिक्षामन्त्री पुनको बारेमा यस्तै खासखुस गरे । उनी पदभार ग्रहणका लागि मन्त्रालयमा पुग्नुअघि शिक्षा बिटमा कलम चलाउने पत्रकार र शिक्षा मन्त्रालयका विभिन्न विभागका प्रमुख र कर्मचारी केशर महलमा मन्त्रीको प्रतीक्षामा थिए ।
उनीहरू सबै एकअर्कामा गफिँदै शिक्षामन्त्री पुनको पहिरनको चर्चा गरिरहेका थिए । ‘हाफ पाइन्टमा शपथ लिनुहुन्छ कि भन्ने पीर थियो, धन्न दौरा सुरुवाल लगाउनु भएछ’, कोही भन्थे- ‘कवाडी मन्त्रीले अब कस्तो काम गर्ने होलान् ? कसैले भनिरहेका थिए- ‘६ महिनामा के नै गर्न सकिन्छ र ?’ यस्तै खासखुस चल्दै गर्दा मन्त्रीको सवारी भयो ।
दुइटा गाडी सर्र केशर महलको अगाडि आएर रोकिए । पहिलो गाडीमा सुरक्षाकर्मी थिए भने दोस्रो गाडीमा नवनियुक्त शिक्षामन्त्री महावीर पुनसँगै सचिव थिए ।
गाडीबाट झर्नेबित्तिकै मन्त्रालयका कर्मचारीले उनलाई फूल दिएर स्वागत गरे । उनले खादामाला लगाएनन् ।

पहिलो निर्णयमै प्रष्टिकरण
सोमबार केशर महलमा आफ्नो कार्यकक्षमा पुगेर पदभार ग्रहण गरेका पुनले पहिलो निर्णयमै सचिवलाई प्रष्टिकरण सोधे । जब मन्त्री कुर्सीमा बसेका थिए तब शिक्षा सचिवले पहिलो निर्णय सुनाए ।
निर्णय थियो– विज्ञान प्रविधिको क्षेत्रमा स्टेक होल्डर सरोकारवालाहरूको पर्याप्त सल्लाह सुझावमा विज्ञान प्रविधिलाई अगाडि बढाउन सल्लाहकार समिति बनाउने ।
तत्काल अन्तरिक्ष तथा एरोनेटिकल सल्लाहकार समिति, राष्ट्रिय सूचना प्रविधि तथा कृतिम बौद्धिकता सम्बन्धी सल्लाहकार समिति, राष्ट्रिय प्रमाण विज्ञान प्रविधि सल्लाहकार समिति, राष्ट्रिय जैविक प्रविधि सल्लाहकार समिति गरी चारवटा सल्लाहकार समिति बनाउने भन्दै सचिवले निर्णय सुनाइ मन्त्रीलाई हस्ताक्षर गर्न लगाउँदा मन्त्री पुनले भने, ‘हस्ताक्षर गर्नै पर्ने हो ? यो समिति बनाउन आर्थिक स्रोत के हो ? कहाँबाट आउँछ, समिति धेरै बन्छ, बनाउँदै गरौंला तर समिति बनाएर मात्र भएन, आर्थिक स्रोत खोइ ?’
मन्त्री पुनले विगतमा पनि आर्थिक अभावमा गरिएका निर्णय कार्यान्वयन नभएको भन्दै आर्थिक स्रोतको खोजी गरे । मन्त्रीले वार्षिक बजेटमै यो काम गर्न मिल्ने भन्दै जवाफ दिए ।
मन्त्री पुनले स्वंय आफू पनि यस्ता धेरै समितिमा बसेको तर काम हुन नसकेको भन्दै कुनै समिति बनाउनुभन्दा पहिले आर्थिक स्रोत खोजेर कार्यान्वयन गर्नेगरी बनाउनुपर्ने बताए ।
सचिवहरूले त्यसमा प्रष्टिकरण गरेपछि मन्त्री पुनले निर्णयमा हस्ताक्षर गरे । उनले भने, ‘मन्त्रालयबाट जे काम हुन्छ ठोस रूपमा हुन्छ, गर्ने भन्ने नगर्ने मेरो पालामा हुँदैन ।’ उनले मान्छे छानेर काम गर्ने समिति बनाउने बताए ।
‘कवाडी मन्त्री भन्नू’
मन्त्रीमा नियुक्त भइसकेपछि पुनले आफूलाई बधाइ नदिन र खादामाला लिएर नआउन भनेका थिए । सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले आफूलाई मन्त्री नभन्न र भन्ने नै मन भए कवाडीमन्त्री भन्न भनेका थिए ।
पदभार ग्रहणमा पत्रकारले अब तपाईंलाई शिक्षामन्त्री भन्ने कि कवाडीमन्त्री भन्ने प्रश्नमा उनले भने, ‘मलाई मन्त्री नै भन्नु पर्दैन, कवाडीमन्त्री नै भन्दा हुन्छ । त्यो पनि मेरो मन्त्रालय भित्र तर मन्त्रालय बाहिर भेट्नुभयो भने मन्त्री भन्नु पर्दैन ।’
मन्त्रालयमै बस्ने
मन्त्री पुन आफू अब २४ घण्टा नै मन्त्रालयमै हुने बताउँछन् । कहिलेकाँही काम विशेषले बाहिर जानुपरे पनि अघिपछिको समय मन्त्रालयमै हुने भएको आफ्नो काममा कुनै शंका नगर्न र कमी नहुने बताए ।
उनी भन्छन्, ‘मलाई कुनै क्वार्टर चाहिँदैन । यही मन्त्रालयमा मेरै कार्यकक्षमा एउटा बेड अनि टेबुल कुर्सी भए पुग्छ । मेरो जहाँ काम गर्यो त्यही बस्ने बानी छ– राष्ट्रिय आविष्कार केन्द्रमा काम गर्दा त्यही बस्थे, यहाँ पनि त्यस्तै हुन्छ ।’
उनले खाना पकाउन एउटा किचन भए खाना आफै पकाएर खाने पनि बताए ।
सेवासुविधा के गर्नुहुन्छ भन्ने प्रश्नमा पुन भन्छन्, ‘म शितलनिवासबाट आउँदा एक जना प्रहरी र र अर्को एक जना आर्मी दुईजना भाइहरू थिए, छन् । मैले उहाँहरूलाई भनिसकेँ– मन्त्रालयमा हुँदा मसँगै बसौं तर म बाहिर निस्केपछि मेरो पछि पछि आउन पर्दैन ।’
उनले गाडी भने कार्यालयको कामका लागि प्रयोग गर्ने बताए । ‘मेरो आफ्नो गाडी छैन, आफ्नो भए प्रयोगर्ने थिएन, कार्यालयको काम गर्दा कहाँकहाँ जानुपर्ने हुन्छ गाडकिो प्रयोग भने गर्छु,’ उनले भने ।
शिक्षा ऐनमा धारणा
भदौ २६ गते विद्यालय शिक्षा ऐन, २०८० पारित हुने दिन थियो । तर २३ र २४ गतेको जेनजी आन्दोलनपछि राजनीतिक परिवर्तन हुँदा शिक्षा ऐन पनि धरापमा पर्यो । ५२ वर्षपछि आउन लागेको ऐन फेरि निष्कृय भएको छ । अब यो ऐन कहिले आउँछ भन्ने बारेमा अन्यौलता छाएको छ । नवनियुक्त मन्त्री पुन शिक्षा ऐनका विषयमा अहिले केही भन्न नसकिने बताउँछन् ।
ऐनबारे आफू अनविज्ञ रहेकाले अध्ययन गरेर मात्र काम गर्ने उनको भनाइ छ । ‘कस्तो ऐन बनेको छ, के–के कुराहरू उल्लेख छ मलाई थाहा छैन , अब विज्ञहरूको टोली बनाएर छलफल गरिसकेपछि मात्र शिक्षा ऐनलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल हुन्छ,’ उनले भने ।
पुनले सबै कुरा आफूले भनेकै हुनुपर्छ भन्ने पक्षमा नरहेकाले विज्ञहरूको सल्लाह र सुझाव अनुसार काम अगाडि बढाउने बताए ।

निःशुल्क शिक्षा असम्भव
मन्त्री पुन अहिलेकै अवस्थामा तत्काल निःशुल्क दिन नसकिने बताउँछन् । उनी यसका लागि सबैभन्दा पहिले पैसा हुनुपर्ने बताउँछन् ।
‘नेपालको शिक्षा मन्त्रालय विदेशीहरूको सहयोगमा चलेको छ,’ उनी भन्छन्, ‘कति प्रतिशत अनुदान भन्ने मलाई थाहा छैन । तर, मन्त्रालय विदेशी अनुदानमा चलेको छ यस्तो अवस्थामा निःशुल्क शिक्षा दिन समस्या हुन्छ ।’
जब देशको अर्थतन्त्र सुधारेर बलियो हुन्छ, त्यो बेलामात्र शिक्षा निःशुल्क गराउन सकिने पुन बताउँछन् । उनले सबैभन्दा पहिले नेपालको अर्थतन्त्र सुधारमा ध्यान दिनुपर्ने बताए ।
उनी भन्छन्, ‘मैले निःशुल्क गराउँछु भनेर हुँदैन, पैसा कहाँबाट ल्याउने, हिमालको हिउँ खनेर पैसा बनाउन सकिँदैन, माटोलाई पेलेर पनि पैसा हुँदैन ।’
मन्त्री बन्न आग्रह
शिक्षा मन्त्री पुनलाई नेपालमा सत्ता परिर्वतन हुन्छ, आफू पनि मन्त्री बन्छु भन्ने लागेको थिएन । काठमाडौंमा जेनजी आन्दोलन हुँदा उनी इलाममा थिए । दिनभरि आफ्नो काममा व्यस्त उनलाई काठमाडौंमा भएको प्रदर्शनबारे २३ गते बेलुका मात्र थाहा भयो । उनले थाहा पाउँदा देशको अवस्था सोचेभन्दा पर पुगिसकेको थियो । २४ गते भएको सत्ता पलटले झन् अचम्मित पार्यो ।
पुन इलाममै हुँदा मन्त्री बन्नुपर्छ भन्दै फोन आउन थालिसकेको थियो । तर, उनलाई मजाकजस्तै लाग्थ्यो । सबैले मन्त्री बन्नुपर्छ भनेर फोन, एसएमएस आउन थाल्यो । यतिसम्मकि उनलाई काम गर्नसमेत समस्या भयो । उनले ठट्टा गर्दै फेसबुकमा स्टाटस लेखे, ‘मलाई प्रधानमन्त्री बनाउने हो भने तयार छु, होइन भने मन्त्री बन्दिनँ ।’
पुन आफू जेनजी मुख बन्द गर्न पनि मन्त्री बन्न बाध्य भएको बताउँछन् । ‘मन्त्री हुन्छु भन्ने सोच्नुभएको थियो ? भन्ने प्रश्नमा उनी भन्छन्, ‘जिन्दगीमा कति खेर यस्तो मोड आउँछ भन्ने थाहा नहुने रहेछ, मलाई पनि मन्त्री हुन्छु भन्ने थाहै थिएन । यो देशमा भएको राजनीतिक परिवर्तनले दिएको अवसर हो ।’
६ महिना काम गरेर उनले ६ महिनापछि राजनीतिबाट फर्केर आफ्नै काममा लाग्ने पुनको भनाइ छ ।
‘जेनजीको परिवर्तनले मन्त्री बन्ने अवसर मिल्यो अब जेनजीलाई कसरी सम्बोधन गर्नुहुन्छ’ भन्ने प्रश्नमा मन्त्री पुन भन्छन्, ‘म पनि जेनजी पुस्ता नै हो, धेरै भए जेनजी भन्दा दुई वर्षमात्र बढी हो, उमेरले म ७१ वर्ष लागेँ तर म आफूलाई जहिले ३० वर्षको भन्छु, किनकि मैले अहिलेसम्म जुन ठाउँमा काम गरेको छु, मसँग १६ देखि बढीमा ३० वर्षका युवाहरू हुन्छन् । त्योभन्दा बढीको हुँदैनन्, त्यसैले पनि म आफूलाई जेनजीको भर्खरको दाई भन्छु ।’
पुन जेनजीको मुख्य माग भ्रष्टाचार हटाउने भएकाले आफू यही विषयमा काम गर्ने बताउँछन् ।
‘मलाई थाहा छैन शिक्षा मन्त्रालयमा भ्रष्टाचार कसले कसरी गरिरहेको छ तर अब म हुँदासम्म कसैले यस्तो गर्न पाउँदैनन्,’ उनी भन्छन्, ‘मलाई युवाहरूले विश्वास गरेका छन्, यसले भ्रष्टाचार गर्न पनि गर्दैन, गर्न पनि दिँदैन भन्ने उनीहरूको विश्वास डगमगाउन दिने छैन ।’