मल अभावको समस्या हटाउने प्रयास गर्छु : कृषिमन्त्री परियार

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री मदन परियारले मल अभावको समस्या हटाउने प्रयास गर्ने बताएका छन् । राष्ट्रपति भवन शितल निवासमा मन्त्रीको शपथग्रहण गरेपछि पत्रकारहरुसंग कुरा गर्दै उनले यस्तो बताएका हुन् । 

मलबिना कृषिको उत्पादन बढाउन नसकिने उनको भनाई छ । मल आयातमा हुने अवरोधलाई अध्ययन गरेर समस्या समाधान गर्ने उनले बताए । मल आयात भएको खबर सार्वजानिक भईरहँदा पनि यसको अभाव हुने कुराको आफुले गहिरो अध्ययन गर्ने उनले जानकारी दिए । 

उनले भने, ‘मल नभएर कृषिको उत्पादन बढाउन सकिँदैन । मैले यो विषयमा अझै अध्ययन गर्न जरुरी छ कि आखिर भएको के रहेछ । किन यो मल चाहीँ समयमा उपलब्ध हुन सक्दैन । त्यो किन भएन भन्ने कुरा चाँही मैले अब हेर्नुपर्छ । त्यसमा के कमीकमजोरी भएको छ, त्यसलाई हटाउने प्रयास गर्नेछु ।’ 

उनले कृषकको हित हुने काम गर्ने बताए । वर्तमान सरकारको मुख्य प्राथमिकता चुनाव गराउने, सुशासन कायम गर्ने र बेथिति नियन्त्रण गर्ने भएकाले सोही अनुरूप आफुहरुले काम गर्ने उनको भनाई छ । 

Share News