हिमालबाट नयाँ गाडीको ताँती

५ दिनमै भित्रिए ३१६ वटा गाडी

काठमाडौं । तातोपानी र रसुवा नाका अवरुद्ध भएपछि हिमाली जिल्ला मुस्ताङबाट चिनिया गाडीहरू धमाधम भित्रिरहेका छन् । मुस्ताङस्थित मुस्ताङ भन्सार कार्यालय, नेचुङ (कोरला नाका) सञ्चालनमा आएपछि ५ दिनमा ३१६ वटा गाडी नेपाल भित्रिएका हुन् ।

भन्सार विभागको तथ्याङ्क अनुसार कोरला नाका सञ्चालनमा आएदेखि २०९ वटा विद्युतीय सवारी साधन (ईभी)सहित ३१६ वटा गाडी नेपाल भित्रिएका हुन् । गत असार २४ गते रसुवास्थित लेहेन्दे खोलामा आएको बाढीका कारण रसुवा भन्सार कार्यालय पूर्ण रुपमा बन्द भएको र तातोपानी भन्सार कार्यालयतर्फ कोदारी राजमार्गमा आएको पहिरोको कारण अवरोध छ ।

तर, चीन र नेपालबीचको वैदेशिक व्यापारलाई सहजीकरण गर्न मुस्ताङस्थित मुस्ताङ भन्सार कार्यालय, नेचुङ (कोरला नाका) गत भदौ ३० गतेदेखि पूर्ण रुपमा सञ्चालनमा ल्याइएको विभागले जनाएको छ । पूर्णरुपमा संचालन आएदेखि असोज ४ गतेसम्म मुस्ताङ भन्सार कार्यालयबाट २०९ वटा विद्युतीय गाडी र १०७ वटा माल बाहक ढुवानी साधनमा रहेका माल वस्तु जाँच पास गरी ३४ करोड ४७ लाख ४५ हजार २५२ रुपैंया राजस्व संकलन भएको विभागका सूचना अधिकारी समेत रहेका निर्देशक किशोर बर्ताैलाले बताए । 

उनका अनुसार हाल कोरला नाकामा आशिकुडा प्रणाली समेत संचालन भइसकेको र नेपाल राष्ट्र बैंकको भदौ ३१ गतेको परिपत्र अनुसार मुस्ताङ भन्सार कार्यालयलाई समेत चिनियाँ भूभाग भई प्रतितपत्र मार्फत सामान आयात गर्न एकीकृत परिपत्र २०८१ मा समावेश गरी सहजीकरण गरिसकेको छ । 

तातोपानी र रसुवा नाका अवरुद्ध भएपछि नेपाली व्यापारीहरूले कोरला नाकाबाट मुस्ताङ, म्याग्दी हुँदै राजधानी काठमाडौंमा चिनियाँ सामग्री आयात तथा निर्यात गर्न थालेका हुन् । विसं २०८० कात्तिक २७ गतेदेखि उपल्लो मुस्ताङका बासिन्दाका लागि मात्र सञ्चालन भएको कोरला नाका दुई वर्षपछि व्यापारिक रुपमा सञ्चालन हुन थालेको हो ।

भारत र चीनका सामान आयात निर्यातका साथै नेपालमा उत्पादन भएको सामान बजारीकरणका लागि कालीगण्डकी कोरिडोर र कोरला नाकाले धौलागिरि क्षेत्रमा व्यापार व्यवसायको नयाँ अवसर सिर्जना गरेको म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठ बताउँछन् । 

‘कोरला नाका सञ्चालनपछि मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत र कास्कीका व्यवसायीहरू उत्साही भएका छौँ । गण्डकी र लुम्बिनी प्रदेशका लागि कोरला नाकाबाट सामान ल्याउँदा सस्तो पर्छ,’ उनले भने ।

समुद्री सतहदेखि ४ हजार ७ सय मिटर उचाइमा रहेको कोरला नाकामा प्रदेश सरकारले गत वर्ष बनाएको भवनमा पूर्वाधार निर्माण, इन्टरनेट र विद्युत् जडान गरेर भन्सार सञ्चालन गरिएको भन्सार कार्यालयका अधिकृत रमेश खड्काले बताए । 

Share News