लघु बीमकमध्ये प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्समा सरकारी गाडीको दाबी सबैभन्दा धेरै

काठमाडौं । गत भदौ २२ र २३ गते जेनजी आन्दोलनको क्रममा सार्वजनिक तथा निजी क्षेत्रमा भएको क्षतिबाट प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्समा १ करोड १३ लाख २२ हजार रुपैयाँ बराबरको ९ वटा दाबी परेको छ । 

निर्जीवन बीमा कम्पनीहरूमध्ये प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्समा सबैभन्दा धेरै सरकारी गाडीको दाबी परेको कम्पनीले जानकारी दिएको छ ।

मोटर बीमाको मात्रै १ करोड रुपैयाँको दाबी परेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नरेश रोकाले बताए । 

उनका अनुसार कम्पनीमा चारवटा सरकारी गाडीको बीमा दाबी परेको छ । जसमा चितवनको इच्छाकामना गाउँपालिकाको २ वटा, झापाको गाैरदह नगरपालिकाको एउटा र दाङको निर्वाचन कार्यालयको एउटा सवारी रहेको छ । 

कम्पनीमा बीमा दाबी आउने क्रम अझै जारी भएकोले दाबी रकम बढ्न सक्ने सीईओ रोकाले जानकारी दिए । 

बीमा प्राधिकरणका अनुसार जेनजी आन्दोलनको क्रममा सार्वजनिक तथा निजी क्षेत्रमा भएको क्षतिबाट बीमा कम्पनीहरूमा २० अर्ब ७० करोड ३८ लाख १४ हजार रुपैयाँको दाबी परेको छ ।

Share News