जेनजी पुस्ताले उठाएका मुद्दा सामान्य रुपमा नलिऔँ : डा. बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सडकमा पोखिएको नयाँ पुस्ताको अभिव्यक्तिलाई हल्का नलिन सबैलाई आग्रह गरेका छन् ।

उनका अनुसार यो आन्दोलन गहिरो राजनीतिक असन्तोषको परिणाम हो, जसले भविष्यमा नयाँ राजनीतिक संरचना निर्माण गर्ने संकेत दिएको छ । ‘नयाँ पुस्ताले उठाएका मुद्दालाई हल्का रूपमा लिनु हुँदैन । यो आन्दोलनले नयाँ युगको सुरुवात गरेको छ’‚ भट्टराईले भने ।

नयाँ पुस्ता (जेनजी)भन्नाले सन् १९९७ पछि जन्मेका, सूचना–प्रविधि, सामाजिक सञ्जाल र विश्वव्यापी चेतनासँग हुर्किएका युवालाई बुझिन्छ । यही पुस्ता अहिले भ्रष्टाचार, अवसरविहीनता र असमानताविरुद्ध सडकमा उत्रिएको छ । भट्टराईका अनुसार नयाँ पुस्ताले केवल आन्दोलनमा सीमित नभई वैकल्पिक राजनीतिक संरचना निर्माण गर्ने क्षमता राख्छ ।

आन्दोलनबाट आएका नेताहरूले जनताको विश्वास कायम राख्न नसको र जनताको सम्पत्ति दोहन गरेर सत्ताको दुरुपयोग गरेको भट्टराईले आरोप लगाए । यस्तो सम्पत्तिको छानबिन गरी राष्ट्रियकरण गर्नु अपरिहार्य भएको उनको माग छ ।

हालै बनेको अन्तरिम सरकारबारे पनि भट्टराईले स्पष्ट पारेका छन् । उनले यो सरकारको भूमिका शान्ति सुव्यवस्था कायम गर्नु, जनधन क्षतिको छानबिन गर्नु र चुनावको तयारी गर्नु मात्र भएको स्पष्ट पारेका छन् ।

भट्टराईले रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्याल सक्षम र योग्य व्यक्तित्व भएको बताए । उनका अनुसार रामेश्वर खनाल आर्थिक प्रशासन‚ कुलमान घिसिङ विद्युत् क्षेत्र र ओमप्रकाश अर्याल कानूनी क्षेत्रमा स्पष्ट दृष्टिकोण भएका पात्र भएको बताए ।

नेपालको विद्युत् क्षेत्र लामो समयदेखि सुधारको बाटोमा छ । खासगरी कुलमान घिसिङको नेतृत्वमा भएका उपलब्धिहरूले धेरैलाई आशा जगाएको बताएका छन् । भट्टराईले हालैको डेडिकेटेड लाइन प्रयोग गर्ने उद्योगी व्यवसायीले महसुल अनिवार्य रूपमा तिर्नुपर्ने कुराको खुलेरै समर्थन गरे ।

संसदीय प्रणालीले गठबन्धन, दल फुट, लोभ र स्वार्थ मात्र बढाएको छ। त्यसैले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था ल्याएर मात्र राजनीतिक स्थायित्व सम्भव हुने उनको धारणा छ ।

भट्टराईका अनुसार नयाँ पुस्ताले राजनीति केवल सडक आन्दोलनमा सीमित नगरी संस्थागत बनाउनुपर्ने बताए । उनले शहीदहरूको बलिदानलाई खेर जान नदिई नयाँ इतिहास कोर्ने जिम्मेवारी यही पुस्तामाथि आएको बताए । 

 

Share News