काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले चाडबाड लक्षित यातायात व्यवस्थापन र सडक सुरक्षाबारे शनिबार सरोकारवालासँग छलफल गरेका छन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, यातायात व्यवस्था विभाग र सडक विभागका महानिर्देशक, नेपाल प्रहरी, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका पदाधिकारीसहितको बैठकमा मन्त्री घिसिङले यात्रुहरूको सहज आवागमनका लागि विशेष व्यवस्था मिलाउन निर्देशन दिएका हुन् ।
मन्त्री घिसिङले सडक अवस्थाबारे २४ घण्टा जानकारी दिन सक्ने र यात्रुको गुनासो तत्काल सम्बोधन गर्ने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिए । पहिरोलगायत कारण सडक अवरुद्ध भए तुरुन्तै पुनःस्थापना गर्ने व्यवस्था गर्न पनि उनले जोड दिए ।
बैठकले गरेको निर्णयअनुसार दशैं अवधिमा काठमाडौं उपत्यकाबाट बाहिरिने सार्वजनिक यातायात सिस्नेरी सुरुङमार्ग प्रयोग गर्ने र त्यसपछि मात्रै सो मार्गमा अन्य सवारी साधनलाई प्रवेश गराउने तयारी गरिएको छ ।
त्यस्तै, दशैं अवधिमा राजमार्गमा सुरक्षा व्यवस्था कडा पार्न, प्रहरी संख्या बढाउन र गस्ती सञ्चालन गर्न गृह मन्त्रालयलाई अनुरोध गर्ने निर्णय भएको छ ।
सडकको कमजोर अवस्थालाई मध्यनजर गर्दै बुटवल–नारायणगढ सडकखण्डको दाउन्ने क्षेत्रमा १२ चक्काभन्दा ठूला भारवाहक सवारी साधन नचलाउने र अत्यावश्यक वस्तु ढुवानी गर्ने गाडीलाई भने छुट दिने व्यवस्था गरिने भएको छ ।
सडक स्तरोन्नति र सुधारका लागि पहिरो व्यवस्थापन, उपकरण उपलब्ध गराउने, नारायणगढ–मुग्लिन सडकको तुइन खोलामा अवरोध हटाउने र तातोपानी नाका जोड्ने सडक दशैंअघि सञ्चालनमा ल्याउन निर्देशन दिइएको छ ।
यात्रामा निस्कँदा मौसम र सडकको अवस्थाबारे जानकारी लिन आम नागरिकलाई आग्रह गर्दै मन्त्रालयले सार्वजनिक सूचना जारी गर्ने तयारी गरेको छ । साथै, यातायात साधनलाई सुरक्षित र प्रविधिमैत्री बनाउन कार्यविधि र निर्देशिका छिट्टै ल्याउने, र सडक सुरक्षाका लागि २४ घण्टा सञ्चालन हुने कन्ट्रोल रुम व्यवस्थापन गर्ने पनि निर्णय भएको छ ।