काठमाडौं । डोंगफेंग मोटर ग्रुपलाई प्राइभेटाइज गर्ने योजना सार्वजनिक भएलगत्तै कम्पनीका सेयर मूल्य शुक्रबार हङकङ बजारमा तीव्रगतिमा बढ्दै करिब आठ वर्षयताको उच्च विन्दुमा पुगेका छन् ।
रिपोर्ट अनुसार, प्रस्तावित प्राइभेटाइजेसन सम्झौता करिब ७ अर्ब अमेरिकी डलरबराबर हुनेछ । यसलाई लगानीकर्ताले कम्पनीको भविष्यप्रति बढ्दो विश्वास र चीनको अटो उद्योगमा यसको प्रभावकारी भूमिकाको संकेतका रूपमा लिएका छन् । बजारमा घोषणापछि डोंगफेंगका सेयरहरू झण्डै ६९५ अंकले बढेर ५७५ अंकभन्दा माथि बन्द भएका छन् ।
चीनको अग्रणी अटो कम्पनीका रूपमा सस्तो, भरपर्दो र 'भ्याल्यु फर मनी' गाडीका लागि चिनिने डोंगफेंगले प्राइभेटाइजेसनमार्फत दीर्घकालीन रणनीति लचिलो बनाउन, छिटो निर्णय लिन र सञ्चालन क्षमतामा मजबुती ल्याउने तयारी गरेको जनाएको छ ।
यसैबीच, कम्पनीले आफ्नो प्रिमियम इलेक्ट्रिक भेहिकल ब्रान्ड ‘भोया’लाई हङकङ स्टक एक्सचेन्जमा अलग लिस्टिंग गर्ने तयारीसमेत गरिरहेको छ । इलेक्ट्रिक गाडी बजारमा तीव्रगतिमा बढ्दो प्रतिस्पर्धाबीच भोया कम्पनीको प्रविधि, डिजाइन र दिगोपनको प्रतिनिधि ब्रान्डका रूपमा अघि सारिएको छ । लिस्टिङपछि उत्पादन दायरा विस्तार र विश्वबजारमा प्रतिस्पर्धात्मक क्षमता बढाउने लक्ष्य लिइएको छ ।
डोंगफेंग मोटर ग्रुपले आगामी दिनमा पनि किफायतीपन, नयाँपन र प्रविधिमैत्री समाधानमार्फत ग्राहकलाई भरपर्दो सवारीसाधन उपलब्ध गराइरहने प्रतिबद्धता जनाएको छ ।