लगानीकर्ताको मनोबल बढाउन केसीको संयोजकत्वमा कार्यदल गठन, राष्ट्र बैंक र नेप्सेका अधिकारी सदस्य

काठमाडौं । पुँजी बजारमा देखिएका समस्या र लगानीकर्ताको मनोबल बढाउन कार्यदल गठन गरिएको छ । अर्थमन्त्रालयको योजना, अनुगमन तथा मूल्याङ्कन महाशाखाले नेपाल धितोपत्र बोर्डका कामु कार्यकारी निर्देशक रूपेश केसीको संयोजकत्वमा कार्यदल गठन गरेको हो । 

जेनजी आन्दोलनपश्चात पहिलो पटक खुलेको सेयर बजार १६० अंकले घटेपछि अर्थमन्त्री रामेश्वर खनालले कार्यदल गठन गरेर नै सेयर बजारमा देखिएका समस्या समाधान गर्न खोजेका हुन् । 

कामु कार्यकारी निर्देशक केसीको संयोजकत्वमा नेपाल राष्ट्र बैंकका निर्देशक शरण अधिकारी, नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का कामु कार्यकारी निर्देशक निरञ्जन फुयाँल सदस्य र अर्थमन्त्रालयका उपसचिव शरद निरौला सदस्य सचिव तोकिएको छ । 

मन्त्रालयका सहसचिव एवं प्रवक्ता टंकप्रसाद पाण्डेयका अनुसार पुँजी बजारमा विकसित विसङ्गति तथा समस्याको अध्ययन गरी तत्काल लगानीकर्ताको मनोबल वृद्धिका लागि चाल्नुपर्ने प्रणालीगत तथा प्रकृयागत सुधारको लागि सुझाव र ठोस कार्यान्वयनका लागि कार्यदल गठन गरिएको हो । 

अर्थमन्त्रीस्तरको निर्णयअनुसार कार्यदलले ५ दिनभित्र कार्ययोजना प्रस्तुत गर्नुपर्ने उनले बताए ।

Share News