‘आन्दोलनबाट भएको ठूलो क्षतिको ५० प्रतिशत रकम एडभान्स दिन्छौं, अनलाइनबाट पनि दाबी गर्न मिल्छ’ {अन्तर्वार्ता}

सम्पत्तिभन्दा मोटर बीमाको बढी दाबी

सरकारले मोटर बीमाअन्तर्गत सवारीसाधनको सुरक्षाको लागि तेस्रो पक्ष बीमा अनिवार्य गरेको छ । दुर्घटना भएको अवस्थामा यदि तेस्रो पक्षलाई क्षति पुगेको छ भने क्षतिअनुसारको भुक्तानी बीमा कम्पनीले दिन्छ । तर, नेपालमा बीमा हुँदाहुँदै पनि दुर्घटना भयो भने दुई चालक सडकमै आपसमा झगडा गर्न थाल्छन् । गल्ती कसको भन्दै क्षतिपूर्ति दिलाउन दबाब दिन्छन् । यस्तै, बीमामा ढिला दाबी भुक्तानी, क्षतिभन्दा बढी दाबीलगायतमा पनि विवाद हुने गरेको छ । यिनै विषय र समग्र मोटरबीमासँग सम्बन्धित रहेर युनाइटेड अजोड इन्स्योरेन्सका  वरिष्ठ प्रबन्धक तथा क्लेम हेड सञ्जय ज.ब.राणासँग विकासन्युजका लागि बबिता तामाङले कुराकानी गरेकी छन् । 

गत भदौ २३ र २४ मा जेनजी पुस्ताले गरेको प्रदर्शनमा देशभर मानवीय क्षतिसँगै ठूलो मात्रामा सार्वजनिक तथा निजी सम्पत्तिमा क्षति पुग्यो । अहिले कम्पनीहरूमा दाबी परेको छ । युनाइटेड अजोडमा दाबीको अवस्था के छ ? 

अहिलेसम्म हामीकहाँ २ सय जति दाबी परिसकेको छ । हाम्रोमा सम्पत्ति बीमाभन्दा पनि मोटरबीमा अन्र्तगतको सवारीसाधनको क्षतिको बढी दाबी परेको छ । हामीले फिल्डमा सर्भेयर खटाइसकेका छौं । न्यूनतम डकुमेन्टमा छिटोभन्दा छिटो क्लेम सेटल गर्ने भनेर लागिपरेका छौं ।

यो बेला बीमा कम्पनीको भूमिका कस्तो हुनुपर्छ ?

जेनजी प्रदर्शनमा ठूलो मात्रामा धनजनको क्षति भएको छ । अहिले धेरै पीडामा पनि हुनुहुन्छ । यो बेला चाहिने भनेकै बीमा हो । ज–जसले आफ्नो सम्पत्तिको बीमा गर्नुभएको छ, उहाँहरूलाई बीमाले ठूलो राहत दिनेमा हामी विश्वस्त पार्न चाहन्छौं । बीमा नहुनेको क्षतिको सबै भार आफैले बेहोनुपर्थ्यो ।

, तर बीमा गरेको छ भने ढुक्क हुन सक्नुहुन्छ । अहिलेको यो विषम परिस्थितिमा हाम्रो मुख्य उद्देश्य छिटोभन्दा छिटो बीमितको क्षतिको क्षतिपूर्ति दिनु नै हो । त्यो पनि न्यूनतम कागजातको आधारमा । सर्भेयरलाई पनि हामीले त्यहीअनुसार खटाएका छौं । कसैको ठूलो क्षति छ भने हामीले अहिले तत्काल ५० प्रतिशत एडभान्स दिएर पनि काम अगाडि बढाउने तयारी गरेका छौं ।

यो मोटर बीमाको दाबी प्रक्रिया कसरी हुन्छ, बीमितले कसरी क्षतिपूर्ति पाउँछन् ? 

दुर्घटना भइसकेपछि बीमितले हामीलाई निवेदन गर्नुहुन्छ । निवेदन भौतिक रूपमै उपस्थित भएर दिनुपर्छ भन्ने छैन । भाइबर, ह्वाट्सएप जहाँबाट सहज हुन्छ त्यहीबाट दिँदा हुन्छ । बीमा प्राधिकरणले दुई लाखभन्दा कम दाबीलाई सानो मानेको छ । सानो दाबी छ भने हामी इनहाउसबाटै मिलाउँछौं, त्यसको लागि बीमितलाई नै फोटो खिचेर पठाउन भन्छौं । आवश्यक परे मात्रै सर्भेयर खटाउँछौं । बीमितले सवारीसाधन मर्मत गरेको हो भने कुन–कुन पार्ट्स फेरेको र मर्मत गरेको हो त्यसको डिटेल्स अनि बिल माग्छौं । मागेको आवश्यक कागजात र बिलअनुसार हामीले भुक्तानी गछौं ।

ठूलो क्षतिको हकमा यदि सवारीसाधन दुर्घटनास्थलमै छ भने त्यहीँ सर्भेयर खटाउँछौं । सानो दाबीको हकमा एकपटक सर्भेयर खटाएपनि हुन्छ तर ठूलो दाबीमा पटक-पटक क्षति मूल्यांकनको लागि पठाउँछौं । सर्भेयरले दुर्घटना भएको सवारीसाधनको निरीक्षण गरेपछि हामीलाई रिर्पोटिङ गर्नुहुन्छ, त्यसपछि सवारीसाधनलाई मर्मतको लागि पठाउँछौं । कतिपय अवस्थामा भने पहिला सवारीसाधन मर्मतको लागि पनि पठाउन सकिन्छ । सर्भेयरले यतिसम्मको क्षति छ भनेपछि हाम्रो दायित्व यति हो भनेर त्यसलाई सिस्टममा राख्छौं । मर्मतपछि पनि सर्भेयरले के कति पार्ट्स फेरियो, कति खर्च लाग्यो त्यसको भ्यालुएसन गरेर हामीलाई रिर्पोट बुझाउँछन् । यता बीमितको तर्फबाट पनि सबै बिल आउँछ । त्यहीअनुसार हामीले दाबी भुक्तानी गछौैं ।

ठूलो क्षतिको दाबीको हकमा पुलिस रिपोर्ट चाहिन्छ । दुर्घटनामा यदि मान्छेको मृत्यु भएको छ भने मुचुल्का पनि चाहिन्छ । दुर्घटनामा तेस्रो पक्ष, यात्रु वा ड्राइभरको मृत्यु भएको छ भने पोस्टमार्टम रिपोर्ट चाहिन्छ । साथै नाता प्रमाणित हुने कागजात, डेथ सर्टिफिकेट पनि माग्छौं । दुर्घटनाको केस यदि अदालतमा पुगेको छ भने त्यसको निर्णय पछि नै आउँछ । जिल्ला प्रशासनबाट पनि हामीलाई पत्र आउँछ, यसको नाममा भुक्तानी दिनु भनेर । गाडी मालिकले तेस्रो पक्षलाई भुक्तानी गरेको हो भने हामी भुक्तानी उहाँकै नाममा दिन्छौं ।

दाबीभन्दा कम भुक्तानी पाए भन्ने बीमितको गुनासो हुन्छ, कस्तो अवस्थामा दाबीभन्दा कम भुक्तानी हुन्छ ?

हामीले दाबी भुक्तानी गर्ने भनेको सर्भेयरको रिपाेर्टअनुसार नै हो । नेपालमा धेरैले बीमालाई फाइदाको रूपमा हेर्ने गर्छन्, बीमा फाइदाको लागि भन्दा सहयोग दिने हो । उसको पहिलोको जुन स्थिति हो त्यही स्थितिमा फर्काउने हो । दुर्घटना हुनुभन्दा पहिला बीमितको सम्पत्ति जेजस्तो हालतमा थियो त्यही हालतमा पुर्याउने दायित्व हो ।

दाबीभन्दा कम भुक्तानी हुने अवस्था भनेको सर्भेयरको रिपोर्टले नै हो । बीमितले क्षतिभन्दा बढी दाबी गरेको हुन सक्छ, सर्भेयरले भ्यालुएसनपछि रकम घट्न सक्छ । हामीले मान्ने भनेको सर्भेयरको रिपोर्ट नै हो । अर्को रिपोर्टमा सर्भेयरले यति दाबी आउन सक्छ भनेर लेख्यो तर बिलमा त्यो आएन भने पनि रकम घट्न जान्छ । सवारी साधन मर्मत गर्ने बेलामा पनि यो–यो पार्ट फेरेको छ, यसको यति लाग्यो भनेपनि त्यसको निरीक्षण गर्दा यदि त्यो पाइएन भने पनि दाबी रकम घटेर आउँछ । दाबी जति पनि गर्न सक्छन्, सबै दाबी शतप्रतिशत सही हुँदैन । भ्यालुएनपछि तलमाथि हुन्छ । हाम्रो उद्देश्य भनेको क्षतिअनुसार बीमितले दाबी पाउनैपर्छ भन्ने नै हो ।

बढीजस्तो दाबी केमा आउँछ ?

बढी त दुर्घटना नै हो  । दुर्घटनाबाट मानवीय र सम्पत्ति क्षतिको दाबी बढी  आउने गरेको छ । दुर्घटनामा आफ्नो गाडी मात्रै संलग्न छ भने क्षतिको मात्रै कुरा आउँछ तर आफ्नो कारणले तेस्रो पक्षको सवारी र मानवीय क्षति पुगेको छ भने त्यहीअनुसारको हुन्छ ।

कस्तो अवस्थामा दाबी अस्वीकार हुन्छ ?

हामीलाई सबैभन्दा बढी आइरहने भनेको स्वामित्व हस्तान्तरण (ओनरसीप चेन्ज) उदाहरणको लागि मैले गाडी बेचेपछि मेरो हुँदैन, अर्कोलाई नामसारी गर्नुपर्छ । बीमा पोलिसी पनि त्यही हो । मैले बीमा पोलिसी पनि नामसारी गर्नुपर्छ । तर, कतिपय अवस्थामा सवारी बेचेपनि बीमालेख नामसारी भएको हुँदैन । त्यो केसमा दाबी भुक्तानी दिन समस्या हुने अस्वीकार नै हुने अवस्था आउन सक्छ । अर्को मादकपदार्थ सेवन गरेर सवारी चलाएको छ र दुर्घटना भएको छ भने दाबी पाइँदैन । तर,  तेस्रो पक्षको सम्पत्तिमा क्षति पुर्याएको अवस्थामा दाबी पाइन्छ । 

सरकारले तेस्रो पक्ष बीमा अनिवार्य गरेको छ, तैपनि कतिपयले गर्दैनन् भन्ने कुरा पनि आइरहन्छ नि ?

तेस्रो पक्ष बीमा सरकारले अनिवार्य नै गरेको हुँदा नगर्ने भन्ने हुँदैन । किनभने अहिले लाइसेन्स, ब्लुबुक नवीकरण बीमा गरेको कागजात अनिवार्य माग्छ । नगरी सुख छैन । छिटपुट त्यस्तो हुन सक्छ । अर्को कम्प्रिहेन्सिभ बीमा  । तेस्रो पक्षले आफ्नो सम्पत्तिको क्षतिको कभर गर्दैन । कम्प्रिहेन्सिभ पोलिसी लिएको छ भने तेस्रो पक्ष बीमा र आफनो पनि कभर हुन्छ ।

बीमा दाबी समयमै पाइँदैन भन्ने बीमितको गुनासो भइरहन्छ, दाबी भुक्तानीमा विवाद किन हुन्छ ?

कम्पनीले जानीजानी भुक्तानी ढिला गर्दैन । दाबी भुक्तानी ढिला हुनुको मुख्य कारण कागजपत्र नै हो । कम्पनीले मागेको कागजपत्र समयमै आएन भने हामीलाई भुक्तानी गर्न गाह्रो हुन्छ । बीमितसँग कागजपत्र नहुने होइन, आवश्यक कागजात उहाँहरूसँग हुन्छ । त्यही पाउनलाई पनि हामीलाई गाह्रो छ । उहाँहरूले ढिला गरी बुझाइरहेका हुन्छन् । हामीले नभएको डकुमेन्ट माग्दैनौं । रिर्पोट बनाउन समय लाग्ला तर हामीले मागेको लाइसेन्स र बिल बुकसमेत दिन आनाकानी गरिरहनुभएको हुन्छ । हामी त्यसमै अड्किरहेका हुन्छौं ।

बीमितलाई बीमा पोलिसीबारे जानकारी नभएर वा हामीले बुझाउन नसकेर पनि हुन सक्छ नि ?

हामीले आफ्नो सम्पत्तिको बीमा गरेका छौं भने पोलिसीबारे जानकारी लिनैपर्छ । हामी सामान्य सामान किन्न जाँदा त राम्रो छ कि छैन सबै जाँच गरेर लिन्छौं तर त्यत्रो ठूलो पोलिसी लिँदा त्यहाँ के छ भन्ने कुरा पढ्दैनौं । दाबी परेपछि हामीले तपाईंको पोलिसीमा यस्तो छ भनेपछि उल्टै पहिल्यै किन जानकारी गराउनु भएन भन्नुहुन्छ । हामीले पोलिसीबारे बुझाउन नसक्नु हाम्रो गल्ती हुन सक्छ । तर बीमितले पोलिसी नै लिइसकेपछि आनन्दले बस्नुभएन । आफ्नो सम्पत्तिको बीमा गर्नेले त्यसमा जानकार हुनैपर्छ ।

बीमितलाई बीमा पोलिसी बुझाउन अभिकर्ताको भूमिका महत्त्वपूर्ण हुन्छ, यसमा उहाँहरूले आफ्नो भूमिका कतिको खेलेको पाउनुहुन्छ ?

तेस्रो पक्ष बीमा सरकारले अनिवार्य गरेको हुँदा बीमितले त्यही अनिवार्य भएको हुँदा मात्रै गरेको हुन सक्छन् । कति जनाले अभिकर्ताको माध्यमबाट पनि बीमा गरेका हुुन्छन् । त्यसबाहेक बीमित आफै पनि बीमा गर्न गएको हुन्छ । उहाँहरूले पनि नबुझेको पाउँछु । कतिपयले बैंकबाट ऋण लिएको हुन्छ । त्यतिबेला बैंकले बीमा खोज्ने भएकाले उहाँहरू तुरुन्तै पोलिसी चाहियो भन्न आउनुहुन्छ । पोलिसी लिनुभन्दा अगाडि प्रपोजल फर्म (सम्पत्तिको विवरण) दिनुपर्ने हुन्छ । बीमितले प्रपोजल फर्म सही रूपमा राखिदिनुभयो भने पोलिसी पनि त्यहीअनुसार जारी हुन्छ । हामीले पनि दाबी भुक्तानी दिने बेलामा त्यही पोलिसीअनुसार नै दिने हो । तर कतिपय बीमितलाई चित्त बुझ्दैन । यस्तो कतिबेला हुन्छ भने उदाहरणको लागि मेरो एक करोडको सम्पत्ति छ तर बैंकबाट २० लाख रुपैयाँको मात्रै बीमा भएको छ । पोलिसी पनि त्यहीअनुसार जारी हुन्छ । बीमितले यो कुरा हेरेन र दाबी पर्ने बेलामा पुरै सम्पत्तिको बीमा खोज्नुभयो भने पाइँदैन । समस्या यहानेर हुन्छ ।

मोटर बीमामा फ्रड केस धेरै आउँछन् भनिन्छ, यसलाई कम्पनीले कसरी हेर्ने गरेको छ ?

हामी साइडमा जाँदैनौं । हामीले हेर्ने भनेको कागजात नै हो । कदमकदाचित कसैले बढी क्लेम गर्ने प्रयास गरेको हुन सक्छ । जुन मानवीय स्वभाव पनि हो । त्यसमा हाम्रो सर्भेयरले सर्पोट गर्नुहुन्छ । सर्भेयरले क्षतिको मूल्यांकन गरेर बुझाएको रिर्पोटको आधारमा हामीले भुक्तानी गर्ने हो । बीमितले दिएको क्षतिको आधारमा होइन । क्षति भएपछि जति पनि दाबी गर्न पाइन्छ भन्ने बीमितको बुझाइ छ तर आफ्नो वास्तविक क्षति कति हो त्यसअनुसार दाबी गर्नुपर्छ । वास्तविक क्षति कति हो भ्यालुएसन गरेर रिर्पोट बुझाउने सर्भेयरको दायित्व हो । यसले गर्दा कम्पनी र बीमित दुवैलाई घाटा हुँदैन । हामी त्यसरी सोच्छौं । सवारीसाधनको अवस्था के छ, पुनःमर्मत गर्नुपरे केके फेर्नुपर्छ त्यो सबै हेर्ने दायित्व पनि सर्भेयरकै हुन्छ । यसमा बीमितले यो पनि बिग्रेको छ त्यो पनि बिग्रेको छ भनेर मर्मत गराउन लगाउने हो भने कम्पनीलाई घाटा लाग्छ । 

कतिपय अवस्थामा चालकले जानीजानी दुर्घटना गराएको भन्ने कुरा पनि आउँछ । यो सिधै बीमामा धोका हो । यदि बीमितले यस्तो गरेको छ भने सर्भेयरले रिर्पोटिङको क्रममा पत्ता लगाइहाल्छ । बीमितले भुक्तानी पाउने कुरै आएन । विगतमा यस्तो घटना अलि बढी सुनिन्थ्यो । अहिले विस्तारै न्यूनीकरण हुँदै गएको छ । यसलाई न्यूनीकरण गर्नमा हामी निरन्तर छलफल गर्दै आएका छौं ।

सडकमा सवारी साधन एकापसमा ठोक्किए पछाडि सुरुमा झगडा सुरु हुन्छ, जबकि दुर्घटना भइसकेपछि जति क्षति भएपनि बीमाले कभर गर्छ । कारण के हुन सक्छ ?
 
विश्वका विभिन्न मुलुकमा दुर्घटना भयो भने सडक जाम गरेर झगडा गरेर कोही बस्दैन । दुर्घटना भएपछि नम्बर छोड्ने, कहाँ बीमा छ सो को जानकारी गराउने राम्रो अभ्यास छ ।  हाम्रोमा चाहिँ सुरुमै गल्ती कस्को भनेर झगडा सुरु हुन्छ । यसको विभिन्न कारण हुन सक्छन् । नेपालीहरू सडकमा हतार गर्छन् । जबकि उनीहरू चिया पसलमा बसेर घण्टौंसम्म कुरा गर्दा कुनै हतार हुँदैन । जब सवारी कुदाउन तयार हुन्छन् अनि हतार हुन थाल्छ । त्यसपछि जता खाली त्यतैतिर सवारी दौडाउन थाल्छन् । कतिपयले ट्राफिक नियम नै पालना नगरी सवारी चलाउँछन् । उनीहरूले न रातो बत्ती हेर्छन् न स्पीड न त जेब्राक्रसिङ । यसरी हतारले चलाउँदा धेरै दुर्घटना हुन्छ।

दुर्घटना भएपछि पनि आफ्नै जिद्दी बढी हुन्छ । आफ्नो गल्ती हुँदा हुँदा पनि जिद्धी गर्ने नेपालीको बानी नै हो । एकआपसमा झगडा गर्दा सडक जाम हुन्छ । आफ्नो कारणले अरूले दुःख पाइरहेका हुन्छन् । सडकमा बसेर झगडा गर्नुपर्ने आवश्यकता नै छैन । किनभने अहिले हरेक सडकमा सीसीटीभी छ, त्यहाँबाट कस्को गल्ती थाहा भइहाल्छ । त्यस्तै प्रत्यक्ष घटनास्थलमा भएकाहरूले पनि भनिहाल्छन् गल्ती कस्को हो भनेर । अझ महत्त्वपूर्ण कुरा दुर्घटना भएपछि प्रहरीले पनि गल्ती कस्को भन्ने कुरा भनिहाल्छ ।

बीमा हुँदा पनि किन ढुक्क हुन सक्दैनन् चालक ?

दुर्घटना भइसकेपछि तेस्रो पक्ष बीमा कभर हुन्छ, गल्ती मेरो होस् या उसको । यसमा व्यक्तिको खल्तीबाट एक रुपैयाँ पैसा जाँदैन । यो ज्ञान चालकमा नभएर पनि यो स्थिति आएको पनि हुन सक्छ । अर्को कुरा बीमा छ भनेर थाहा हुँदाहुँदै पनि अरूको गल्ती देखाउनका लागि झगडा गर्छन् । कतिपय चालक बीमाको झन्झटमा किन पर्ने, तत्काल क्षतिपूर्ति पाउनकै लागि पनि सडकमै मिलाउन खोजेको हुन सक्छन् । तर म यसलाई उहाँहरूको गलत बुझाइ भन्छु । अहिले हरेकसँग स्मार्टफोन छ, तत्काल फोटो खिचेर पठाउन सक्छ । निवेदन पनि अनलाइनबाटै दिन सक्छौं । क्षतिअनुसारको भुक्तानी दिन कम्पनीलाई कुनै समस्या छैन ।

दुर्घटनास्थलमा सबैभन्दा पहिले पुग्ने भनेको प्रहरी नै हो । दुर्घटनाको रिर्पोट प्रहरीसँग पनि हुन्छ । त्यो रिर्पोट बीमितसँग मागिराख्नुभन्दा प्रहरीको वेबसाइटबाटै लिन सक्ने व्यवस्था भयो भने दाबी भुक्तानी अझ प्रभावकारी होला कि ?

पहिला, रिपोर्ट प्रहरीको वेबसाइटबाटै हेर्न मिल्ने व्यवस्था थियो । आजभन्दा चार/पाँच वर्षअघि कहाँ कति दुर्घटना भयो भन्ने जानकारी वेबसाइटबाट लिन्थ्यौं । यसरी वेबसाइटमा दुर्घटनाको रिपोर्ट सुचारु भयो भने हामीलाई धेरै सहज हुन्छ । अनलाइनमै भएपछि हामीले मागिरहनुपर्ने झन्झट हुँदैन । रिपोर्ट पनि एक्युरेट हुन्छ । जसले गर्दा सिधै लिंक हुन पनि पाइयो । पेपरलेस पनि हुँदै जान्छ । सबै कुरा अनलाइन हुन थालेपछि विवाद पनि नआउने र रिपोर्टहरू त्यसरी स्क्यानिङ भएर जाने कुरा पनि भएन । यसले कम्पनीलाई भार कम हुँदै जान्छ ।

मोटर बीमा सम्बन्धी नियामक निकायको छुट्टै निर्देशिका छ । प्राधिकरणको निर्देशनले दाबी प्रक्रियामा कुनै असर गरिरहेको छ ?

डकुमेन्टेसनको पार्टमा समस्या छ । दाबी भुक्तानीमा ढिलाइ हुनुको मुख्य कारण भनेकै कागजपत्र हो । हामीले मागेको कागजपत्र समयमै नपाउँदा भुक्तानीमा ढिला हुन्छ । प्राधिकरणले हामीलाई यति दिनभित्र क्लेम सेटल गर भनेर भनेको छ, त्यो हामी गर्न पनि तयार छौं । तर बीमितलाई पनि दुर्घटना भइसकेपछि यति दिनभित्र तपाईंको कागजात बुझाउनुपर्छ भनेर तोकिएको छैन । यदि तोकिदिने हो भने दाबी पेन्डिङ हुने कुरा नै आउँदैन । बीमितलाई दुर्घटना भएको यति दिनभित्र कागजात बुझाउनुपर्छ भनेर नियमले नै बाँधिदिने हो भने हामीले समयमै कागजात पाउँछौं । जति चाँडो कागजात प्राप्त हुन्छ, त्यति चाँडै हामीले सेटल गर्न सक्छौं । बीमितको कागजात बुझाउने समय अनिश्चित हुँदा उहाँहरूले जति बेला पनि कागजात बुझाउन सक्छन् । तर प्राधिकरणले यति दिनभित्र बुझाउनुपर्छ भनेर म्यान्डेटरी गर्यो भने तुरुन्तै सेटल पनि हुन्छ ।

अन्तिममा केही छ बीमा दाबीसम्बन्धी भन्नैपर्ने विषय ?

मोटर बीमा सम्बन्धमा ज्ञान निकै कम छ । यसमा हाम्रो पनि कमीकमजोरी छन् । त्यही भएर स्कुलदेखि नै यदि बीमासम्बन्धी शिक्षाको सुरुवात गर्यौं भने यसले ठूलो योगदान पुर्याउँछ जस्तो लाग्छ । आजभन्दा १०/१५ वर्ष अगाडि बीमा कसैलाई थाहा थिएन ।  अहिले त कमसेकम अलिअलि बुझ्दै आएका छन्, बीमा के र किन गर्ने भनेर । सबभन्दा बढी बीमा भनेको फाइदा होइन भनेर चाहिँ बुझ्नुपर्ने हुन्छ । बीमामा फाइदा र घाटाको कुरा नै आउँदैन । आफ्नो सम्पत्ति जेजस्तो छ पहिलाको स्थिति पूर्ण त्यही हिसाबले क्षतिपूर्ति दिने हो ।

बीमाले तपाईंलाई फाइदा पनि हुँदैन घाटा पनि हुँदैन । हामीलाई पनि अझै मोटर बीमासम्बन्धी सचेतन नपुगेको हो कि जस्तो लाग्छ । मलाई लाग्छ स्कुलदखि बीमासम्बन्धी ज्ञान चाहिँ बढाउनैपर्छ । हुन त हामीले समय समयमा विभिन्न जागरुकतासम्बन्धी कार्यक्रम गर्दै आएका छौं । तालिम पनि दिँदै आएका छौं । तर मानिसमा अझै चेतना आइसकेको छैन । यससम्बन्धमा सचेतना अझै बढाउनु आवश्यक छ । 

Share News