बेइजिङ । चिनियाँ टेलिकम दिग्गज हुवावेले बिहीबार आफ्नै एसेन्ड चिप प्रयोग गरेर कृत्रिम बौद्धिकता (एआई) को लागि नयाँ कम्प्युटिङ प्रणाली सार्वजनिक गरेको छ । सार्वजनिक चिपले अमेरिकी प्रतिद्वन्द्वी एनभीडीयामाथि दबाब बढाएको छ ।
हुवावेले आफ्नो नयाँ ‘एटलस ९५० सुपरक्लस्टर’ आगामी वर्षमै सार्वजनिक गर्ने योजना बनाएको छ ।
‘प्रतिस्पर्धा निर्विवाद रूपमा आइसकेको छ र यसको गति बढिरहेको छ,’ एनभीडीयाका प्रवक्ताले सीएनबीसीसँगको एक विज्ञप्तिमा भने, ‘ग्राहकहरूले विश्वका सबैभन्दा लोकप्रिय व्यावसायिक एप्लिकेसन र ओपन–सोर्स मोडेलहरू चलाउन सबैभन्दा राम्रो प्रविधि स्ट्याक छनोट गर्नेछन् ।’
संयुक्त राज्य अमेरिकाले चीनलाई एआई मोडेल सिकाउन प्रयोग हुने अत्याधुनिक सेमिकन्डक्टरहरूबाट काट्ने प्रयास गर्दै आएको छ । यसलाई सामना गर्न, चिनियाँ कम्पनीहरूले प्रायः कम कार्यक्षम तर स्वदेशमै निर्मित चिपहरूको ठूलो संख्यालाई समूहबद्ध गरेर समान कम्प्युटिङ क्षमता हासिल गर्ने रणनीति अपनाएका छन् ।
हुवावेले २०२८ को अन्त्यसम्म आफ्ना एसेन्ड चिपका तीन नयाँ संस्करण ल्याउने र हरेक वर्षको संस्करणमा कम्प्युटिङ क्षमता दोब्बर पार्ने लक्ष्य राखेको जनाएको छ।
यी चिपहरूले हुवावेको एआई कम्प्युटिङ संरचनाको आधार तयार गर्छन्, जसमा सुपरक्लस्टर धेरै सुपरपोडहरूसँग जडित हुन्छ र ती सुपरनोडहरूबाट बनेका हुन्छन् । सुपरनोडहरू एसेन्ड चिपमा निर्मित हुन्छन् र अमेरिकी प्रतिबन्धले लगाएका प्राविधिक अवरोधलाई पार गर्न विशेष प्रणाली डिजाइन प्रयोग गरिएको हुन्छ ।
हुवावेका अनुसार नयाँ एटलस ९५० सुपरनोडमा ८,१९२ एसेन्ड चिपहरू जडान हुनेछन् र सम्पूर्ण एटलस ९५० सुपरक्लस्टरमा ५ लाखभन्दा बढी चिप प्रयोग गरिनेछ ।
आगामी २०२७ मा सार्वजनिक हुने एटलस ९६० संस्करणले प्रत्येक नोडमा १५ हजार ४८८ एसेन्ड चिपहरू समर्थन गर्नेछ । पूरा सुपरक्लस्टरमा एक मिलियनभन्दा बढी एसेन्ड चिप हुने हुवावेले दाबी गरेको छ ।
यी प्रणालीहरू एनभिडियाका चिपले चलाइने प्रणालीसँग कसरी तुलना गर्छन् भन्ने स्पष्ट भएको छैन । तर हुवावेले आफ्नो प्रेस विज्ञप्तिमा भनेका अनुसार यी नयाँ सुपरनोडहरू केही वर्षसम्म विश्वकै सबैभन्दा शक्तिशाली हुनेछन्।
बिहीबारको भाषणमा हुवावेका उपाध्यक्ष तथा घुमाइदार अध्यक्ष एरिक सुले आफ्नो आगामी एटलस ९५० सुपरनोडले एनभिडियाको आगामी वर्ष सार्वजनिक हुने एनभीएल १४४ प्रणालीभन्दा ६.७ गुणा बढी कम्प्युटिङ शक्ति दिने दाबी गरे।
उनले २०२७ मा सार्वजनिक हुने अर्को एनभिडिया प्रणालीभन्दा पनि हुवावेको उत्पादन सबै दृष्टिले अघि रहने दाबी गर्दै एटलस ९५० सुपरक्लस्टर एलन मस्कको एक्सएआई कोलोसर सुपरकम्प्युटरभन्दा १.३ गुणा बढी शक्तिशाली हुने बताए ।
‘चीनको आफ्नै चिप प्रविधिमा आत्मनिर्भरता बढाउने हालैको सरकारी जोडसँग हुवावेको यो उपलब्धि समयानुकूल मेल खान्छ,’ एसिया ग्रुपका पार्टनर र डिजिटल अभ्यासका सहअध्यक्ष जर्ज चेनले भने ।
उनका अनुसार हुवावेले आफ्नो प्राविधिक क्षमता बढाएर देखाउने सम्भावना भए पनि ‘विश्वको एआई नेतृत्व लिन यसको महत्त्वाकांक्षा कम आँक्न मिल्दैन ।’
अनुसन्धान फर्म सेमीएनालिसिसले गत अप्रिलमा पत्ता लगाएको थियो कि हुवावेले विकास गरेको क्लाउडम्याट्रिक्स प्रणाली एनभीडीयाभन्दा राम्रो प्रदर्शन गर्न सक्षम थियो— यद्यपि प्रत्येक एसेन्ड चिपले एनभिडिया प्रोसेसरको मात्र एक–तिहाइ प्रदर्शन दिने गर्छ । हुवावेले पाँच गुणा बढी चिप प्रयोग गरेर यो लाभ प्राप्त गरेको थियो ।
‘कम्प्युटिङ शक्ति एआईको लागि सधैं मुख्य कारक रहँदै आएको छ र रहिरहनेछ,’ घुमाइदार अध्यक्ष सुले बिहीबार शाङ्घाईमा सुरु भएको कम्पनीको वार्षिक हुवावे कनेक्ट कार्यक्रममा भनेका थिए । यो कार्यक्रम शनिबारसम्म चल्नेछ ।
यही कार्यक्रममा दुई वर्षअघि हुवावेले एटलस ९०० सुपरक्लस्टर घोषणा गरेको थियो । कम्पनी अहिले ‘एटलस ९०० एआई क्लस्टर’ बिक्री गर्छ जसमा ‘हजारौं’ एसेन्ड चिप प्रयोग गरिएको हुन्छ ।
हुवावेले बिहीबार जनाएअनुसार २० भन्दा बढी कम्पनीलाई ३०० प्लस एटलस ९०० एथ्री सुपरनोड तैनाथ भइसकेका छन् ।
एनभीडीयामाथि बढ्दो दबाब
हुवावेको यो घोषणा चीनले एनभीडीयाको विकल्प विकास गर्ने प्रयासलाई अघि बढाइरहेको बेला आएको हो । यसै हप्ताको सुरुवातमा दुई देशले स्पेनमा भएको व्यापार वार्ता सकेका थिए, जसमा बाइटडान्स स्वामित्वको टिकटकको अमेरिकी सञ्चालनबारे दीर्घकालीन विवाद समाधान गर्ने बाटोबारे छलफल भएको थियो ।
सोमबार चीनले एनभिडियाविरुद्ध एकाधिकारसम्बन्धी जाँचलाई थप समय दिने घोषणा गरेको थियो ।
यसपछि अमेरिकी चिप निर्माता कम्पनीमाथि थप दबाब बढेको छ । फाइनान्सियल टाइम्सले स्रोतहरूलाई उद्धृत गर्दै चीनले एनभीडीयाको आरटीएक्स प्रो ६००० डी चिप परीक्षण र अर्डर रोक्न आदेश दिएको खबर सार्वजनिक गरेपछि बुधबार एनभिडियाको सेयर मूल्य २ प्रतिशतभन्दा बढी घट्यो ।
एनभिडियाका सीईओ जेन्सेन हुआङले यो प्रतिबन्धको खबर सुनेर आफू ‘निराश’ भएको बताए । उनले यसअघि नै हुवावेलाई ‘शक्तिशाली’ प्रतिस्पर्धी भनेका थिए ।
चीनले एनभीडीयाको एआई चिप्स प्रतिबन्ध लगाएपछि सीईओ हुवाङ असन्तुष्ट
चीनको कडाइपछि एनभीडीयाको एच २० चिप उत्पादन संकटमा, ४.५ अर्ब डलर बराबरको स्टक घाटा