चीनले एनभीडीयाको एआई चिप्स प्रतिबन्ध लगाएपछि सीईओ हुवाङ असन्तुष्ट

हामीले चीन बजारका लागि धेरै योगदान दिएका छौं, धेरै देशहरूले दिएकोभन्दा बढी

काठमाडौं । एनभीडीयाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुवाङले चीनमा अमेरिकी प्रविधि कम्पनीले भोगिरहेको समस्याबारे प्रतिक्रिया जनाएका छन् । 

बुधवार फाइनान्सियल टाइम्सले चीनको साइबरस्पेस प्रशासनले टिकटकको मालिक कम्पनी बाइटडान्स र अलीबाबालगायतलाई एनभीडीयाको RTX Pro 6000 D चीनका लागि विशेष रूपमा बनाइएको चिप किन्न आदेश नदिएको खबर प्रकाशित गरेपछि हुवाङले आफू निराश भएको बताए ।

फाइनान्सियल टाइम्सको रिपोर्टबारे सोधिएको प्रश्नमा हुवाङले भने, ‘हामी केवल त्यही बजारमा सेवा गर्न सक्छौं, जहाँ त्यो देशले हामीलाई चाहन्छ ।’

‘हामीले चीन बजारका लागि धेरै योगदान दिएका छौं, धेरै देशहरूले दिएकोभन्दा बढी । मैले देखिरहेको कुराले मलाई निराश बनाएको छ । तर चीन र अमेरिकाबीच ठूलो राजनीतिक एजेन्डा छन्, जसलाई मैले बुझ्ने प्रयास गरेको छु,’ उनले थपे ।

यो समाचार एनभीडीयाको चीनमा भइरहेको उतार-चढावपूर्ण व्यापारिक अवस्थापछि आएको हो ।

लन्डनमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘हामीले सबै वित्तीय विश्लेषकलाई चीनलाई वित्तीय पूर्वानुमानमा समावेश नगर्न मार्गदर्शन दिएका छौं । यसको कारण के भने यो मुख्यतया अमेरिकी र चिनियाँ सरकारबीचको छलफलमा रहने विषय हो ।’

यसअघि अमेरिकी सरकारले राष्ट्रिय सुरक्षाको चिन्ताका कारण एनभीडीयाका एआई चिप्स चीन पठाउन प्रतिबन्ध लगाएको थियो– जसमा कम शक्ति भएको सर्भर चिप H20 पनि थियो । तर, गत अगस्टमा ह्वाइट हाउसले घोषणा गरेको थियो कि राष्ट्रपति डोनाल्ड ट्रम्प र हुवाङबीच भएको सम्झौताअनुसार एनभीडीयाले निर्यात अनुमति पाउनेछ र चीनमा बिक्री भएको H20 चिप्सको १५ प्रतिशत अमेरिकी सरकारलाई जानेछ ।

बुधबारको यो समाचारले फेरि एकपटक एनभीडीयाको चीन व्यवसायमा ठुलो धक्का दिएको छ । यसअघि चीनको राज्य बजार नियामक प्रशासनले एनभीडीयाले इजरायली प्रविधि कम्पनी मेलानक्स (डेटा सेन्टर र सर्भरका लागि नेटवर्क समाधान बनाउने कम्पनी) खरिद गरेको विषयमा एक एन्टिट्रस्ट (एकाधिकार विरोधी) छानबिन सुरु गरेको थियो ।

मंगलबार एनभीडीयाले बेलायतमा ११ अर्ब पाउण्ड (१५ अर्ब डलर) को लगानी गर्दै एआई पूर्वाधार विकास गर्ने घोषणा गर्यो । माइक्रोसफ्ट, गूगल र सेल्सफोर्सलगायत अन्य अमेरिकी प्रविधि कम्पनीहरूले पनि बेलायतमा बहुअर्ब डलरको एआई लगानी गर्ने घोषणा गरेका छन् ।

भू–राजनीतिक परिस्थितिका बाबजुद हुवाङले चीनको एआई बजारको महत्त्वलाई जोड दिए।

‘चिनियाँ बजार महत्त्वपूर्ण छ। यो ठूलो छ। प्रविधि उद्योग धेरै सक्रिय छ । हामी ३० वर्षदेखि यसको सेवा गर्दै आएका छौं,’ उनले भने ।

‘एनभीडीयाले चिनियाँ सरकार र चिनियाँ कम्पनीलाई उनीहरूलाई चाहिने रूपमै समर्थन गर्न जारी राख्नेछ र हामी अमेरिकी सरकारलाई पनि निरन्तर समर्थन गर्नेछौं, जबसम्म यी भू-राजनीतिक नीतिहरू समाधान हुँदैनन्,’उनले थपे ।

एनभीडीयाको आम्दानी ५६ प्रतिशत वृद्धि, तर सेयर किन घट्दैछ ?

चीनको कडाइपछि एनभीडीयाको एच २० चिप उत्पादन संकटमा, ४.५ अर्ब डलर बराबरको स्टक घाटा
 

Share News