काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले मंगलबार अर्थमन्त्री रामेश्वर खनालसँग भेट गरी मुलुकको वर्तमान जटिल अवस्थाबारे छलफल गरेको छ ।
छलफलमा अध्यक्ष चौधरीले देशको शान्ति, अमनचयन र व्यवसायीहरूको सुरक्षालाई पहिलो प्राथमिकता दिनुपर्नेमा जोड दिँदै खस्किँदो अर्थतन्त्रलाई उकास्न सरकारले व्यवसायीमैत्री नीतिहरु ल्याउनुपर्ने बताए । उनले अटोमोबाइल क्षेत्रले भन्सार राजस्वमा २७ प्रतिशत योगदान दिँदै आएको उल्लेख गर्दै, नेपाल सवारी प्रदूषण मापदण्ड २०८२ कार्यान्वयनपछि मूल्यवृद्धि हुने र लगानीकर्ताहरू नेपालमा विश्वस्त हुन नसक्ने अवस्था सिर्जना भएकोप्रति चिन्ता व्यक्त गरे ।
नाडाले सरकारलाई २२ बुँदे सुझाव प्रस्तुत गर्दै पेट्रोल र डिजेलबाट चल्ने सवारी साधनका लागि बैंकबाट प्रवाह हुने हायर पर्चेज लोनको लोन टु भ्यालु अनुपात ६० प्रतिशतबाट बढाएर ८० प्रतिशत पुर्याउन आग्रह गर्यो ।
छलफलमा अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले सडक बिग्रनुका कारण तातोपानी भन्सारबाट सवारीसाधन नेपाल प्रवेशमा अवरोध भएको भए पनि चाँडै सञ्चालन हुने जानकारी दिए । साथै, प्रदूषण मापदण्ड कार्यान्वयनका असरबारे वन तथा वातावरण मन्त्रालयसँग छलफल हुने र व्यवसायीका लागि प्रोत्साहन प्याकेज ल्याइने आश्वासन समेत दिए ।
अर्थमन्त्री खनालले व्यवसायीहरूले राखेका सुझावलाई मनन गर्ने प्रतिबद्धता व्यक्त गर्दै आन्दोलनबाट भएको क्षति सम्बन्धी तथ्याङ्क संकलन गरी आवश्यक कदम चालिने बताए। उनले बैंक तथा वित्तीय संस्थाबाट आवश्यक सुविधा उपलब्ध गराइने र कर प्रणालीमा राहतका उपायबारे मन्त्रिपरिषदमा छलफल गरिने जानकारी दिए ।
उक्त छलफलमा नाडाका उपाध्यक्ष निराकार श्रेष्ठ, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सह–कोषाध्यक्ष पंकज अग्रवाल, केन्द्रीय कार्यसमिति सदस्य आकाश गोल्छा, प्रकाश कपुरी, मेघराज पौडेल, यमुना श्रेष्ठ र अभिक ज्योति उपस्थित थिए ।