सुकिला नोट सटहीमा छैन खासै सर्वसाधरणको चासो

काठमाडौं । दशैँका लागि नेपाल राष्ट्र बैंकले सुकिला नोट सटही शुरु गरेपनि नोट सटहीमा सर्वसाधरणको चासो कम छ । राजनीतिक संक्रमणको अवस्थाका कारण पनि नोट सटहीमा चहलपहल कम देखिएको हो । 

विगतको दशैँहरुमा नयाँ नोट सटहीको लागि सर्वसाधरणको भीड लाग्ने गर्दथ्यो । नेपाल राष्ट्र बैंकले आईतवारदेखि सुकिला नोट वितरण गर्न शुरु गरेको छ । असोज १० गतेसम्म सुकिला नोट वितरण गर्ने राष्ट्र बैकले जनाएको छ । राष्ट्र बैंकले प्रति प्याकेट १८ हजार पाँच सय रुपियाँको सुकिला नोट वितरण गर्ने व्यवस्था मिलाएको छ । थापाथलीस्थित नेपाल राष्ट्र बैंक, राष्ट्र बैंकका प्रदेश कार्यालयहरुबाट सुकिला नोट वितरण भइरहेको छ । 

राष्ट्र बैकले अन्य बैंक तथा वित्तीय संस्थाहरुबाट समेत सुकिला नोट वितरण गर्ने व्यवस्था मिलाएको छ । सर्वसाधारणले आफ्नो खाता रहेको बैंक वा पायक पर्ने नजिकको बैंक तथा वित्तीय संस्था वा नेपाल राष्ट्र बैंकमा गएर नोट सटही गर्नसक्ने राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले जनाएको छ । यसअघि राष्ट्र बैंकले दशैका लागी भनेर नयाँ नोट छाप्ने गरेको थियो तर गत वर्षदेखि भने खर्च व्यवस्थापनको लागी भन्दै नयाँ नोटलाई बन्द गरेको हो । 

यस पटक पाँच रुपैयाँ दरको नोट भने नयाँ वितरण हुने राष्ट्र बैकले जनाएको छ । राष्ट्र बैकले झुत्रा, जलेका तथा दाबी नोटहरु भने दशैँ पछाडी मात्रै वितरण गरिने जानकारी दिएको छ । 

Share News