मस्कको लगानीले टेस्लाको एआई–रोबोटिक्स महत्त्वकांक्षालाई नयाँ दिशा

एलएसईजीका तथ्यांकअनुसार डिसेम्बरसम्म मस्कसँग करिब १३ प्रतिशत सेयर हिस्सेदारी

काठमाडौं । टेस्लाको सेयर सोमबारको प्रारम्भिक कारोबारमा ६ प्रतिशतले बढ्यो जब कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कले करिब १ अर्ब डलर बराबरको टेस्लाको सेयर खरिद गरेको खुलासा गरे । यो खरिदलाई मस्कले कम्पनीको भविष्यप्रति देखाएको पछिल्लो ठूलो विश्वासको संकेतका रूपमा हेरिएको छ ।

यो सेयर खरिद मस्कको २०२० को सुरुवातपछिको पहिलो खुला बजार खरिद हो– जुन टेस्लाका लागि महत्त्वपूर्ण समयमै आएको हो । कम्पनी हाल आफैलाई कृत्रिम बौद्धिकता (एआई) र रोबोटिक्स पावरहाउसमा रूपान्तरण गर्ने महत्त्वाकांक्षी लक्ष्य पूरा गर्न दौडिरहेको छ, यद्यपि कार बिक्री सुस्ताउँदै गएको चुनौती पनि छ ।

यो कदमले मस्कको टेस्लामा अझ बढी नियन्त्रण चाहने लक्ष्यलाई पनि बलियो बनाएको छ । यसअघि करिब एक हप्ताअघि मात्रै कम्पनीको बोर्डले मस्कका मागलाई सम्बोधन गर्ने गरी १ ट्रिलियन डलर बराबरको क्षतिपूर्ति योजना प्रस्ताव गरेको थियो, जसले कम्पनीका वित्तीय र सञ्चालन लक्ष्यहरूलाई उच्च स्तरमा राखेको छ ।

सोमबारको नियामक विवरण अनुसार मस्कले शुक्रबार २५.७ लाख सेयर खरिद गरेका थिए, प्रति सेयर ३७२.३७ देखि ३९६.५४ डलरसम्म तिरेर । 

‘यो मस्कले पुनः टेस्लामा पुरै ध्यान केन्द्रित गर्न लागेको स्पष्ट संकेत हो... वर्षको कमजोर सुरुवातपछि टेस्ला-मस्कको कथा पुनः सही ट्रयाकमा फर्किएको देखिन्छ,’ हग्रिभ्स ल्यान्सडाउनका वरिष्ठ इक्विटी विश्लेषक म्याट ब्रिट्जम्यानले भने ।

मस्कले निरन्तर टेस्लामा आफ्नो सेयर हिस्सेदारी र मतदान शक्ति बढाउन माग गर्दै आएका छन् । उनले पहिले भनेका थिए कि यदि उनले २५ प्रतिशत मतदान शक्ति पाउन सकेनन् भने एआई र रोबोटिक्सका उत्पादनहरू टेस्लाबाहिर बनाउने उनको प्राथमिकता हुनेछ ।

एलएसईजीका तथ्यांकअनुसार डिसेम्बरसम्म मस्कसँग करिब १३ प्रतिशत सेयर हिस्सेदारी थियो ।

सोमबार लगातार तेस्रो दिन टेस्लाको सेयर बढिरहेको भए पनि यो वर्ष हालसम्म यसको मूल्य २ प्रतिशत घटेको छ, जसले यसलाई ‘म्याग्निफिसेन्ट सेभेन’ ठूला टेक कम्पनीहरूबीच कमजोर प्रदर्शन गर्ने सेयर बनाएको छ ।

टेस्लाको पछिल्लो त्रैमासिक नतिजामा कम्पनीको नाफामा दबाब जारी रहेको देखिएको छ किनभने विद्युतीय कारको माग सुस्त भएको, लागत बढेको र प्रतिस्पर्धा तीव्र भएको छ ।

तर, टेस्लाको बोर्ड अध्यक्ष रोबिन डेन्होल्मले शुक्रबार भनेका थिए कि मस्कको राजनीतिक गतिविधिले बिक्रीमा असर गरेको भन्ने चिन्ता निराधार छ । उनका अनुसार मस्क केही महिना ह्वाइट हाउसमा व्यस्त रहेपनि अहिले पुनः कम्पनीमा ‘फ्रन्ट एन्ड सेन्टर’ अर्थात् पूर्ण रूपमा सक्रिय भएका छन् ।

इतिहासकै ठूलो तलब डिल : मस्कलाई टेस्लाको १ ट्रिलियन डलर प्रोत्साहन प्याकेज

चिनियाँ अर्थतन्त्रमा दबाब बढ्दैः खुद्रा बिक्री, लगानी र रोजगारीमा निराशाजनक तथ्यांक

गोह चेंग लियाङको निर्णयले विश्व चकित, ६ नाति–नातिनी एकै रातमा अर्बपति

Share News