...अनि विद्रोह नगरी के गर्ने ?

विध्वंश भयो तर, यो ठूलो परिवर्तनका लागि गरिएको हो । युवाहरूले जिम्मेवारी हामीलाई सुम्पिनुभयो । उहाँहरू आफै पनि यो जिम्मेवारी लिन सक्नुहुन्थ्यो । तर, उहाँहरूले परिवर्तन चाहनु भएको छ । परिवर्तनका लागि अनुभवी हातहरू चाहिन्छ । उहाँहरूसँग मिलेर मात्रै हामी अगाडि बढ्न सक्छौं प्रधानमन्त्रीज्यूले भन्नु भएको छ । यो हामीले लिएको नासो हो, मैले पाएको पदभन्दा पनि यो जिम्मेवारी मलाई कसैले सुम्पिएको छ । र, त्यो जिम्मेवारी सम्पन्न गर्नका लागि कर्मठ हातहरू हुनुहुन्छ । र, अब आइन्दा मुलुकलाई करप्सन (भ्रष्टाचार)बाट पुरै मुक्त गर्नुपर्छ । यो विश्वासका साथ उहाँहरू आफ्नो ज्यान नै गुमाउने गरी युद्ध वा आन्दोलनमा होमिनु भयो । 

अब हामीले विगतमा के गरेका थियौं भनेर स्मरण नगरौँ । कथमकदाचित ज्यादै ठूलो गल्ती गरेका थियौं भने कानुनी प्रक्रियामा सहभागी हुनैपर्छ । त्यो भनेको कानुन बमोजिमको सजाय भोग्न तयार हुनुपर्छ । तर, अब आइन्दा नजानेर पनि (जानेर त गर्न कुरै भएन) गल्ती गर्ने काम नगरौँ । कुनै विषयमा शंका लाग्छ, मैले यो काम गर्दा नेपाल सरकारको स्रोतको दुरुपयोग हुन्छ, करदाताको पैसाको सही प्रयोग हुन सक्दैन की, सार्वजनिक सम्पत्तिको सही प्रयोग हुँदैन कि, सार्वजनिक प्रयोगको निमित्त भनेर खरिद गरेको सम्पत्ति आफ्नो व्यक्तिगत वा अन्य कुनै प्रयोजनमा खर्च गरिएको छ कि भन्ने विषयलाई ध्यान दिएर हामी सच्चिनै पर्छ । सच्चिनका निमित्त म तपाईंहरूलाई विनम्र आग्रह गर्छु । यस्तो आग्रह ज्यादै आवेग, कराएर गर्नुपर्ने आवश्यक छैन, त्यसैले तपाईंहरूले सुनिदिनु हुन्छ भन्ने मैले विश्वास गरेको छु । 

कदाचित कसैको नाम लिएर अनेक थरीको गतिविधि गरियो भने प्रशासकीय अधिकार मलाई थाहा छ । मन्त्रीले हप्काउन सक्छ, कारवाही गर्न पनि सक्छ । यस्तो किसिमको कुनै घटना घट्यो भने त्यो घटनालाई हामीले धेरै लामो समयसम्म लिनु हुँदैन । तुरुन्तै कर्मचारीलाई के गर्नुपर्ने हो गरिन्छ । माया गर्नसम्म माया गरिन्छ, गल्ती गरिसकेपछि माया हुँदैन । यो मेरो व्यक्तिगत एजेन्डा होइन, यो राष्ट्रको एजेन्डा हो ।

६ महिनाभित्रमा यो सरकारले निर्वाचन गर्नैपर्छ । कुनै हालतमा पनि संविधानको परिधिभित्र रहेर पनि ६ महिना निर्वाचन गर्नै पर्ने हुन्छ । त्यसपछि म्याद थप गर्न सक्ने सम्भावना छैन । कतिपय थप खर्च गर्नुपर्ने हुन्छ । जुन यसपटकको बजेटमा प्रबन्ध गरिएको थिएन । अब त्यो बजेटभित्रैबाट निकाल्नु पर्ने हुन्छ । हामी पूरक बजेट वा अरू कुनै पनि किसिमको विकल्प सोच्नुपर्ने अवस्थामा छैनौं । बजेटभित्रै रहेर बजेट खर्चका निम्ति गरिएका विनियोजन कटौती गर्नुपर्ने हुन सक्छ वा बजेटभित्रै रहेर तयारी नभएका, अध्ययन नभई प्रोजेक्ट बैंकमा अन्तिम समयमा राजनीतिक दबाबमा छिर्याइएका बजेटबाट कटौती गर्नुपर्ने हुन्छ । अथवा बजेट तर्जुमा गर्ने टिमले हुनै नहुने काममा बजेट राखेको छ भने त्यो रकम निकाल्न सकिन्छ । 

म पारदर्शी छु, यहाँहरूले मसँग कुनै कुरा सेयर गर्नु भयो भने प्याच्च पब्लिकमा भनिदिन सक्छु । त्यसैले कुनै पनि कुरा गर्दा मसँग सोचेर भन्नु होला । अर्थसचिवले भनिसक्नु भएको छ कि १ सय अर्ब रुपैयाँ कोतर कातर गरेर बजेटबाट निकाल्न सकिन्छ । जसको उपयोग हामीले सही काममा गर्न सक्छौं । त्यो सही काम भनेको दुइटा छन्, एउटा निर्वाचन सम्पन्न र दोस्रो, पुन : निर्माण । यदि निर्वाचन सुरक्षित हुन सकेन भने त्यसको जिम्मेवारी अर्थमन्त्रालयले लिनुपर्ने हुन्छ । त्यसको तात्पर्य जथाभावी खर्च गर्ने भन्ने पनि होइन । म सरकारी सेवामा हुँदा ३१ वर्ष र १५ वर्ष सरकारी सेवा छोडेपछि गरी ४६ वर्ष सिंहदरबार छिरे । सिंहदरबारमा यत्तिको विध्वंश कहिले पनि देखेको थिइँन । युद्ध भूमिमा प्रवेश गर्दा खण्डहर जस्तो, फिल्महरू वा कुनै टेलिभिजन डकुमेन्ट्रीमा देखेको जस्ता दृश्यहरू आज पनि देखियो । 

अरू मन्त्रालयमा हामी गर्न सक्दैनौँ । तर, तत्काल अर्थमन्त्रालय परिसरको भग्नावशेषहरू हटाऔँ । यो कालो धुवाँ पोतेर सेतो बनाऔँ । कम्तीमा पनि हामी उठ्यौँ है, खरानीबाट हामी जाग्यौँ है भन्ने सन्देश दिने गरी हाम्रै मन्त्रालयबाट सुरु गरौं । सार्वजनिक र निजी सम्पत्तिमा ठूलो क्षति भएको छ । बैंकका प्रतिनिधि र उद्योगी व्यवसायीका प्रतिनिधि बोलाएर बजार विकासको विषयमा राष्ट्र बैंकले छलफल गरिसक्नु भएको छ । कतिपय वित्तीय प्रणालीबाट र कतिपय बीमाबाट पुन: निर्माण गर्न सकिन्छ । तर, कति हुन सक्छ भनेर आँकलन गर्नुपर्ने हुन्छ ।

सार्वजनिक सम्पत्तिको हामीले बीमा गरेका छैनौं । बीमा गरेको सम्पत्तिमा क्षति भएको जस्तो पनि लाग्दैन । त्यसकारण हामीले धेरै ठूलो क्षति तुरुन्तै गर्नुपर्ने हुन सक्छ, कतिपय चरणवद्ध गर्न सकिन्छ । साथै कतिपय गइसके अब केही गर्न सकिँदैन भन्ने पनि हुन सक्छ । हामीलाई चाहिने भन्दा बढी सवारीसाधन पनि थिए होला । कतिपय लिलाम गर्न नसकेर वा निर्णय विहीनताका कारण लिलाम गर्न नसकेका गाडीहरू पनि सिंहदरबारमा थिए । ती सबै रिप्लेस गर्नुपर्ने आवश्यक छैन । 

हामीले अर्थमन्त्रालयमा निर्वाचन सरकार रहुञ्जेलसम्म सवारीसाधन किन्ने काम नगरौँ भनेर अर्थ सचिवलाई निर्देशन दिइसकेको छु । सार्वजनिक सेवा प्रवाह गर्नको निमित्त प्रहरीका लागि सवारीसाधन खरिद गर्नुपर्छ । कतिपय भवनहरू मर्मत सम्भार गरेर केही महिनाभित्र सार्वजनिक कार्यालयबाट सेवा दिने अवस्थामा पुर्याउनुपर्छ । निजी क्षेत्र र सार्वजनिक सम्पत्तिको पुन: निर्माणमा काम गर्न आवश्यक छ । त्यसको निम्ति यत्तिकै बोलेर हुँदैन, यसको यकिन तथ्याङ्क संकलन गर्नुपर्ने हुन्छ ।

कतिपय अनुमान कहाली लाग्दो छ, भूकम्प जस्तै क्षति हो भन्ने अनुमान अनौपचारिक हो, त्यसलाई आधिकारिक मान्नु भएन । क्षतिको यकिन तथ्याङ्क संकलन गर्नैपर्छ । निजी क्षेत्रको मनोबल कमजोर हुन दिनु हुँदैन । एउटा साङ्घातिक हमला भएको छ । निजी क्षेत्रसँग सहकार्य गर्नुपर्छ । किनभने सर्वसाधारण जनतालाई अर्थमन्त्रालयका निकायले प्रत्यक्ष सेवा दिँदैनन् । बैंकिङ क्षेत्र, नेपाल धितोपत्र बोर्ड, आन्तरिक राजस्व कार्यालय र भन्सार कार्यालयबाट मात्रै सर्वसाधारणलाई सेवा दिने हो । त्यसपछिका सबै सेवा निजी क्षेत्रले दिने हो । त्यसकारण हाम्रो सम्पर्क निजी क्षेत्रसँग नियमित हुनुपर्छ ।

निजी क्षेत्रले अर्थमन्त्रालयको निकायमा आउँदा हिजोको तुलनामा परिवर्तन भएको छ है भन्ने अनुभव गर्न पाउनुपर्छ । कतिपय निजी क्षेत्रमा बैंकमा पनि यस्ता समस्या छन् । जस्तो बैंकमा जाँदा एउटा फाराम भर्नुपर्दा तीन ठाउँमा सही र तीन ठाउँमा नाम लेख्नुपर्ने बाध्यता छ । युवाहरूले खोजेको परिवर्तन पनि यही हो । एउटा कुनै कार्यालयमा जाँदा हेपेर व्यवहार गरिन्छ, अनि विद्रोह नगरी के गर्ने ? त्यसैले अब हामीले विश्वास जितेर काम गर्न सक्नुपर्छ । 

नेपाल सरकारको राजस्वमा समेत कमी आउन दिनु भएन । आफ्नो आन्तरिक काममा पनि तदारुक हुनुपर्छ र सेवाग्राहीले पाउने सेवामा पनि अन्तर देखाउनुपर्छ । राजस्व असुलीको लागि कतिपय अवस्थामा कडा हुनुपर्ला, कतिपय अवस्थामा करदातालाई प्रसन्न पार्न सक्नुपर्छ । कतिपय अवस्थामा नरम हुन सक्नुपर्छ । यो विषयमा सन्तुलन कायम गर्नै पर्छ । राजस्व असुलीका लागि ज्यादै क्रूर हुनुपर्ने आवश्यक छैन, हामी नरम भएर पनि राजस्व संकलन गर्न सक्छौं । यो राज्य करबाट नै चल्ने हो भनेर हामीले निरन्तर भन्न सक्नुपर्छ । हरेक ब्राम्हणले बिहान मन्त्र वाचन गरेजस्तै स्मरण गराइरहनु पर्छ । अर्थमन्त्रालय सूचना प्रणालीमैत्री भइसकेको छ । पेन्सन, भुक्तानी प्रणाली र कर संकलन लगायतमा ठूलो सुधार भएको छ । सबै संरचना आईटीबेस छन् । अब ती सूचनाहरूमा कुनै कमजोरी भए सुधार गरेर अघि बढ्नुपर्छ । सार्वजनिक खर्चमा मितव्ययिता अपनाउनुपर्छ । 

यो मेरो निर्देशन नभई, नासो ल्याएर पास गरेको हो । हामी एउटै ढुंगाका सहयात्री हौं । मेरो घरमा बिहान साँझ आएर निजी मागहरु राख्ने काम नगर्नूहोला । तर, कार्यालय प्रयोजनका लागि म सधैं खुला छु । होटल रेस्टुरेन्टमा गएर काम नगरौँ । यदि मेरो घर देख्नु भएन भने मलाई अत्यन्तै खुशी लाग्नेछ । मैले स्वकीय सचिव नराख्ने घोषणा गरेको छु । तर, फोन उठाउनुपर्ने भएकाले एउटा मलाई चालक भने चाहिन्छ । 

Share News