काठमाडौं । भदौ २३ गते भएको जेनजी प्रदर्शनका क्रममा चन्द्रागिरी हिल्समा तोडफोड तथा आगजनी हुँदा केबलकारको बटम स्टेशनमा ठूलो क्षति पुगेको छ । कम्पनीले विज्ञप्ति जारी गर्दै घटनाप्रति दुःख प्रकट गरेको छ र सेवामा पुनः उठ्ने दृढता व्यक्त गरेको छ ।
'पर्यटन प्रवर्द्धनको सपना टुटेको छैन, विचलित भएका छैनौँ । अठोट अझ दृढ छ, तपाईं–हामी सबैको साथले सेवा सुचारु गर्न हामी दृढ संकल्पित छौँ,' विज्ञप्तिमा उल्लेख छ ।
चन्द्रागिरी हिल्स लिमिटेडले जेनजी आन्दोलनले उठाएका सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी र आर्थिक समृद्धिका मुद्दाप्रति सम्मान जनाउँदै आन्दोलनकै क्रममा अकल्पनीय घटनाले पर्यटन प्रवर्द्धनमा ठूलो असर पुगेको जनाएको छ । कम्पनीका अनुसार लाखौँ सेयरधनीको लगानीमा सञ्चालनमा रहेको चन्द्रागिरि केबलकार राष्ट्रिय सम्पत्ति हो, जसले रोजगारी सिर्जना, राजस्व वृद्धि र स्थानीय विकासमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ ।
घटनाबाट सेवामा असुविधा पुगे पनि गुणस्तरीय सेवा मार्फत छिट्टै पुनः सुचारु गर्ने प्रतिबद्धता कम्पनीले जनाएको छ । साथै, कर्मचारी, सुरक्षाकर्मी, स्थानीय समुदाय र अन्य सरोकारवालाले दिएको सहयोगप्रति आभार व्यक्त गरिएको छ ।
कम्पनीले पर्यटक र दर्शनार्थीलाई परेको असुविधाप्रति क्षमा प्रार्थना गर्दै आगामी दिनमा अझ गुणस्तरीय सेवा र थप लगानीमार्फत पर्यटन प्रवर्द्धनमा योगदान गर्ने संकल्प व्यक्त गरेको छ ।