काठमाडौं । भदौ २३ र २४ गते देशभर भएको जेनजीको प्रदर्शनबाट ठूलो धनजनको क्षति भएको छ । राजनीतिक नेतृत्वको गलत कार्यशैली र देशमा व्याप्त भ्रष्टाचार अन्त्यको एजेण्डा बोकेर सडकमा उत्रिएको दोस्रो दिनमै देशले ठूलो जनधनको क्षति बेहोर्नु पर्यो ।
यो प्रदर्शनले हिंसात्मक रुपमा लिँदा देशभर ३० जनाको मृत्यु भएको छ भने ९ सय ६० जना घाइते भएको विवरण प्राप्त भएको छ । केही व्यक्ति भने सामान्य उपचारपछि घर फर्किएका छन् ।
काठमाडौं उपत्यकाका सातवटा अस्पताल र उपत्यका बाहिरका केही अस्पतालमा उपचारका लागि पुगेका ३० जनाको मृत्यु भएको ती अस्पतालले जानकारी दिएका छन् । विकासन्युजले देशभरका ११ वटा अस्पतालबाट पाएको सूचना अनुसार हालसम्म ३० जनाको मात्रै मृत्यु भएको छ ।
राष्ट्रिय ट्रमा सेन्टर
काठमाडौंमा रहेको राष्ट्रिय ट्रमा सेन्टरमा जेनजी प्रदर्शनमा १ सय ७१ जनालाई उपचारको लागि ल्याइएको थियो । ती मध्ये ८ जनाको मृत्यु भएको छ भने पाँच जनाको आइसीयूमा उपचार भइरहेको अस्पतालले जानकारी दिएको छ ।
अस्पतालका अनुसार २७ जनाको अहिले पनि उपचार भइरहेको छ । मृतक ८ जनामध्ये अहिलेसम्म दुई जनाको ठेगाना खुल्न सकेको छैन ।
अस्पतालका अनुसार मृत्यु हुनेमध्ये ग्लोबल कलेजमा अध्ययनरत १९ वर्षका श्रीयाम चौलागाई, बाँकेको धुम्वुजी गाउँपालिका २ का २५ वर्षिय शुलभराज श्रेष्ठ, कीर्तिपुरका ४२ वर्षका बुद्धि तामाङ, सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकाका ६ का २९ वर्षका योग बहादुर श्रेष्ठ, काठमाडाैंको बनस्थलीका २६ वर्षका ईश्वत बहादुर अधिकारी, उदयपुरको बेलका नगरपालिका ४ बेलकका २९ वर्षका सन्तोष बिक, काठमाडौंको टोखा नगरपालिका ८ का १९ वर्षका आयुष थापा र ठेगाना नखुलेका करिब २९ वर्षका गौरब जोशी रहेका छन् । मृतक ८ जनाको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पुर्याएको अस्पतालले जनाएको छ ।
सिभिल अस्पताल
प्रर्दशन भएको ठाउँबाट सबैभन्दा नजिकको अस्पतालमा पर्छ निजामती कर्मचारी अस्पताल (सिभिल) । काठमाडौंको मीनभवनमा रहेको निजामती कर्मचारी अस्पतालमा उपचारका लागि पुगेका ६ जनाको मृत्यु भएको छ । अस्पतालका अनुसार ३ सय ५४ जना सामान्य उपचारपछि डिस्चार्ज गरिएको छ भने ४८ जना अस्पतालमा भर्ना भएका छन् ।
अस्पतालले ४१ जनाको शल्यक्रिया गरेको छ भर्ना भएका घाइतेमध्ये १५ जनालाई डिस्चार्ज गरेको छ । अस्पतालले चार जना घाइतेको फेरि शल्यक्रिया गर्नुपरेको र ४४ जनालाई अन्य अस्पतालमा रिफर गरिएको बताएको छ ।
सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु हुनेहरूमा अर्घाखाँचीका १८ वर्षका मिशल सारु मगर, गोरखाका २२ वर्षिय विमल भट्ट, ठेगाना नखुलेका २४ वर्षका काशीआलम ठाकुर, सिराहका ३२ वर्षका विजय चौधरी रहेका छन् ।
यस्तै, दोलखाका २१ वर्षीय अभिषेक चौलागाईं र धनकुटाका ६० वर्षका छत्रमान कुथुमीको मृत्यु भएको अस्पतालले जनाएको छ । उनीहरू सबैको शव पोष्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको अस्पतालका कार्यकारी निर्देशक डा. मोहनचन्द्र रेग्मीले बताएका छन् ।
फ्रन्टलाइन हस्पिटल
पुरानो बानेश्वरमा रहेको फ्रन्टलाइन अस्पतालले जेनजी प्रदर्शनमा घाइते १७ जनाको उपचार गरेको जनाएको छ । जसमध्ये तीन जनाको उपचारका क्रममा मृत्यु भएको छ भने १३ जनाको उपचारपछि डिस्चार्ज गरेको जानकारी दिएको छ । घाइते एक जना भने अहिले पनि उपचाररत रहेको अस्पतालले जानकारी दिएको छ ।
अस्पतालका अनुसार उपचारको क्रममा मृत्यु भएका तीन जनामा संखुवासभाका २१ वर्षका प्रविन कुलुङ, चावहिलका २१ वर्षका उमेश महत र गौशालाका १७ वर्षीया निकिता गौतम रहेका छन् । मृतकको शवलाई भने पोष्टमार्टमको लागि त्रिवि शिक्षण अस्पतालमा पुर्याइएको अस्पतालले जनाएको छ ।
केएमसी अस्पताल
सिनामंगलमा रहेको केएमसी अस्पतालले ७३ जनाको उपचार गरेको जानकारी दिएको छ । जसमध्ये २ जनाको मृत्यु भएको छ भने एक जनाको अवस्था गम्भीर रहेको अस्पतालका सूचना अधिकारी नारायण दाहालले बताए ।
अस्पतालमा अहिले पनि ३५ जना उपचाररत छन् भने ३३ जनालाई उपचार पछि डिस्चार्ज गरिएको छ । दाहालका अनुसार उपचारको क्रममा ठेगाना नखुलेका सुभाष बोहोरा र सौरम किशोर श्रेष्ठको रहेका छन् ।
बयोधा अस्पताल
बल्खुमा रहेको बयोधा अस्पतालले पनि जेनजीहरूले गरेको आन्दोलनमा घाइते भएका २१ जना उपचार गरेको बताएको छ । अस्पतालले प्रेस विज्ञप्ति जारी गर्दै २१ जनाको उपचार गरेको जनाएको छ ।
जसमा दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइतेहरू उपचारपछि घर फर्किएका छन् । ९ जनाको अहिले पनि अस्पतालमा उपचार भइरहेको छ । एक जनालाई भने अस्पतालले रिफर गरेको छ । मृत्यु हुनेमा २८ वर्षका अर्जुन भट्ट र २३ वर्षका देवकुमार सुवेदी रहेको अस्पतालले जानकारी दिएको छ । अस्पतालका अनुसार २४ वर्षका दीपक साउँदको भने रिफर गरिएको छ ।
एभरेष्ट अस्पताल
नयाँ बानेश्वरमा रहेको एभरेष्ट अस्पतालमा तीनजनाको मृत्यु भएको छ । अस्पतालका अनुसार ललितपुरका २४ वर्षिय योगेन्द्र न्यौपाने, ललितपुर महानरपालिका ७ का ३४ वर्षका विनोद महर्जन र काभ्रेको तेमाल गाउँपालिका ७ का ४३ वर्षीय दिलनारायण तामाङको उपचारको क्रममा मृत्यु भएको छ ।
अस्पतालले १ सय २१ जना घाइते उपचारका लागि अस्पतालमा आएका मध्ये तीनजनाको मृत्यु भएको र गम्भीर घाइते ८ जनाको उपचार भइरहेको जानकारी दिएको छ ।
स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान
देशको पूर्वी भेगमा भएको जेनजी प्रदर्शनमा घाइते दुई जनाको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । उपचारका लागि पुगेका चार जनामध्ये दुई जनालाई मृत अवस्थामा अस्पताल पुर्याएको अस्पतालले जानकारी दिएको छ ।
अस्पतालका प्रवक्ता प्रा.डा. अञ्जु प्रधानका अनुसार अस्पतालमा ल्याइएका चार जनामध्ये दुई जना मृत अवस्थामा पुर्याएको र दुई जनाको उपचार भइरहेको छ । मृत्यु हुनेमा २० वर्षका अभिषेक श्रेष्ठ र अर्को ठेगाना नखुलेका अन्दाजी ३० वर्षका पुरुष रहेको प्रधानले जानकारी दिइन् ।
घाइते गुमन सिंह शासंकको डेन्टल वार्ड र भूपेन्द्र खड्काको न्यूरो सर्जरी वार्डमा उपचार भइरहेको छ ।
त्रिवि शिक्षण अस्पताल
त्रिवि शिक्षण अस्पतालमा पनि एक जना घाइतेको उपचारको क्रममा मृत्यु भएको छ । अस्पतालका अनुसार मृतकको अहिलेसम्म पनि पहिचान खुल्न सकेको छैन ।
अस्पतालका सूचना अधिकारी काली प्रसाद रोस्यारा भन्छन्, ‘एक जनाको उपचारकै क्रममा मृत्यु भयो । तर, उनको पहिचान खुल्न सकेको छैन, आफन्त पनि नआउँदा मृतक को हुन् भन्ने यकिन हुन सकेको छैन ।’
उनले २४ जना घाइतेको उपचार गर्दा एक जनाको मृत्यु भएको र अन्यको उपचार पछि डिस्चार्ज गरिएको बताए ।
भेरी अस्पताल, बाँके
बाँकेमा रहेको भेरी अस्पतालले भने २१ जना घाइतेको उपचारपछि रिफर गरेको जानकारी दिएको छ । अस्पतालका मेडिकल सुपरिडेन्ट निराजन सुवेदीले प्रदर्शनकारी पाँच जनाको मृत्यु भएको भनिए पनि जेनजी प्रदर्शनकारी नरहेको बताए ।
उनले बाल सुधारगृहको प्रदर्शनमा पाँच जनाको मृत्यु भए पनि जेनजी प्रदर्शनका घाइतेको भने मृत्यु नभएको जानकारी दिए ।
‘भेरी अस्पतालमा पाँच जना प्रदर्शनकारीको मृत्यु भन्ने हल्ला भएको रहेछ,’ उनी भन्छन्,‘ तर, ती प्रदर्शनकारी जेनजी आन्दोलनका होइनन् । उनीहरू बालसुधार गृहभित्रका प्रदर्शनकारी हुन् ।’
बीएनसी अस्पताल
झापाको बीएनसी अस्पतालमा पनि ३ जनाको मृत्यु भएको छ ।
पोष्टमार्टममा समस्या
जेनजी आन्दोलनमा मृत्यु भएका शवको पोष्टमार्टममा समस्या भएको त्रिवि शिक्षण अस्पतालले जानकारी दिएको छ । अस्पतालले क्षमता भन्दा बढी शव पोष्टमार्टम गर्नुपर्ने अवस्था आउँदा समस्या भएको बताएको हो ।
अस्पतालमा पोष्टमार्टमको लागि सय जनाको क्षमता भएपनि क्षमता भन्दा बढी शव हुँदा समस्या भएको अस्पतालले जानकारी दिएको छ ।
अस्पतालमा ८०/९० वटा शव पुरानै भएको अवस्थामा थप आन्दोलनका क्रममा मृत्यु भएको शव आउँदा पोष्टमार्टममा समस्या भएको अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराले बताए ।
उनी भन्छन्, ‘हामीकहाँ बेवारिसे शवदेखि अन्य देशबाहिरका शव पनि पोष्टमार्टमको लागि आउँछन् अहिले आन्दोलनका शवदेखि अन्य गरेर ४९ वटा शव थप आउँदा क्षमताभन्दा बाहिर गइसकेको अवस्था छ ।’
रोस्याराका अनुसार जेनजी आन्दोलनमा मृत्यु भएका केही शवको पहिचान नै नखुल्दा पनि समस्या देखिएको छ । ‘शव पोष्टमार्टमका लागि प्रहरीको रिपोर्ट र मृतकको परिचय खुल्नुपर्छ तर यहाँ न प्रहरीको रिपोर्ट छ न त व्यक्तिको परिचय खुलेको छ, जसका कारण शव त्यत्तिकै राखिएको छ,’ उनले भने ।
यी हुन् मृतक :
