काठमाडौं । सिप्रदी ट्रेडिङका मालिक सिद्धार्थ राणा प्रत्येक वर्ष सबैभन्दा बढी कर तिर्ने व्यक्तिका रुपमा सरकारबाट सम्मानित हुँदै आएका छन् । उनले व्यक्तिगत आम्दानीमा सबैभन्दा बढी कर तिरेर राज्यलाई ठूलो टेवा पुर्याउँछन् र आफू पनि सम्मानित हुन्छन् । न उनी कुनै विषयमा धारणा राखेर आलोचित बन्छन् नत आफूलाई फ्रन्टलाइनमा देखाएर कुनै व्यावसायिक स्वार्थ नै लिन्छन् । उनको एउटै लक्ष्य हो, इमानदार भएर व्यवसाय गर्ने, राज्यलाई पनि सहयोग गर्ने र जनतालाई पनि रोजगारी दिने ।
तर, विडम्बना तिनै सिद्धार्थ राणाको लगानी रहेको सिप्रदी ट्रेडिङको सोरुममा गत २४ गते जेनजीको प्रदर्शनको नाममा आगजनी भयो । सोरुममा रहेका चार वटा गाडी जलेर ध्वस्त भए । सोरुम सखाप भयो ।
भाटभटेनीका मालिक मीनबहादुर गुरुङले पनि एक इमानदार उद्यमीको परिचय बनाएका छन् । तर, सोही दिन भाटभटेनीका १२ वटा स्टोरहरु पूर्णहरुमा आगजनी गरेर ध्वस्त बनाइए । गुरुङलाई यसबाट अर्बौंको क्षति भयो । यो आक्रमणबाट हजारौंले रोजगारी गुमाए, राज्यले पाइरहेको राजस्व पनि ठूलो परिमाणमा गुमाउनेछ ।
देशको अग्रणी दुरसञ्चार प्रदायक कम्पनीको छवि बनार नेपालीलाई सहजै टेलिकम्युनिकेसनमा पहुँच पुर्याउन सहयोग गरेको एनसेलमा पनि आगजनी भयो भने हालै सञ्चालनमा आएको हिल्टन होटल, वर्णवास होटल लगायत ठूल्ठूल्ला कर्पोरेट हाउस र निजी निवासमा समेत आगजनी भयो ।
यसले देशको व्यावसायिक वातावरण खलबलिएको मात्रै छैन, विदेशी लगानीकर्ताको नजरमा पनि नेपाल लगानीका लागि असुरक्षित देशका रुपमा दर्ज भएको छ । व्यवसाय सञ्चालन गरेर हजारौंलाई रोजगारी र राज्यलाई ठूलो परिमाणमा राजस्व तिरिरहेका व्यावसायिक हाउसहरुमा भएको यो आक्रमणले व्यवसायीमा निराशा छाएको छ ।
यसले लगानीकर्ताबीच गम्भीर सन्देह र असुरक्षाको भावना पैदा गरेको विज्ञहरूले बताएका छन् । लगानीविज्ञ नारायण काफ्लेका अनुसार यी कम्पनीहरूले देशको अर्थतन्त्रमा उल्लेख्य योगदान दिन्छन् । तर, तिनै कम्पनीहरूलाई नै असुरक्षित बनाइँदा नेपालमा दीर्घकालीन लगानीको सम्भावना माथिनै प्रश्न उठेको छ ।
पटक–पटक हुने आक्रमण, तोडफोड र विवादले मुलुकका ठूला करदाता कम्पनीहरू असुरक्षित बनेका छन् । अर्बौं रुपैयाँ राजस्व बुझाउने कम्पनीहरूमाथि हुने यस्ता हमला र नीतिगत अन्योलताले लगानीकर्ताको मनोबल कमजोर पारेको छ भने नेपालको लगानी गन्तव्यको छवि अन्तर्राष्ट्रिय बजारमै धूमिल हुन थालेको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा क्वेस्ट फर्माका अध्यक्ष उमेशलाल श्रेष्ठले असोज ५ गते आयोजना हुने भनिएको अन्तर्राष्ट्रिय लगानी सम्मेलनको पूर्वसन्ध्यामा भएको आगजनी र तोडफोडले ठूला लगानीकर्तामाझ गहिरो असमञ्जसस्यताको स्थिति सिर्जना गरेको गुनासो पोखे ।
सम्मेलनका लागि एयरलाइन्स टिकेटिङ, होटल बुकिङ समेतको तयारी भइसकेको बेला यस्तो घटना हुनु विदेशी लगानीकर्ताको नजरमा नेपालमा लगानी गर्नु ‘बालुवामा पानी हाल्नु’जस्तै सन्देश दिने काम भएको उनको बुझाइ छ ।
‘भदौ २४ गते विदेशी लगानीकर्ताहरूको आँखामा नेपाल एउटा अस्थिर, जोखिमयुक्त गन्तव्यको रूपमा चित्रित भयो । यसले लगानीकर्ताको भरोसा पूर्ण रूपमा हल्लाइदिएको छ,’ उनले भने ।
महासंघका सदस्य गोपाल खनालले यस पटकको लगानी सम्मेलन एउटा उत्साहका साथ हुन लागे पनि आगजनी र आक्रमणले उत्साहमा ब्रेक लागेको बताए । राज्यले व्यवसायीहरूको सुरक्षा दिन चुक्दा अन्तर्राष्ट्रिय लगानीकर्तामा नकारात्मक सन्देश प्रवाह भएको उनको भनाइ छ ।
गैर–आवासीय नेपाली संघ अमेरिकाका सदस्य बाबुराम काफ्लेका अनुसार वैधानिक प्रक्रिया हुँदै नेपाल भित्रिएको लगानीसमेत असुरक्षित हुने अवस्था सिर्जना हुनु विदेशी लगानीकर्ताका लागि निकै नकारात्मक सन्देश हो ।
यही विषयमा अन्तर्राष्ट्रिय लगानी विज्ञ तथा अधिवक्ता बाबुराम अर्याल पनि चिन्तित छन् । उनका अनुसार यस्ता घटनाहरूले विदेशी लगानीकर्तामा नेपाल असुरक्षित गन्तव्य हो भन्ने मानसिकता सिर्जना गरेको छ ।
अर्याल भन्छन्, ‘पछिल्लो समय लगानी वातावरणमा सुधार हुँदै थियो । त्यसैबेला भएको ध्वंसात्मक कार्यले नेपालमा हुनसक्ने वैैदेशिक लगानीलाई पुनः पछाडि धकेल्ने काम गरेको छ ।’
लगानीको आत्मविश्वास घट्दै
बेला बखत हुने यस्ता आक्रमणले लगानीकर्ताको मनोवल नै गिर्ने जानकारहरु बताउँछन् । अधिवक्ता भगवती पाण्डे शितलले ठूला करदाता कम्पनी सुरक्षित नरहेका बेला नयाँ लगानीकर्ताले नेपालमा पूँजी लगाउन डर मान्नु स्वाभाविक रहेको बताउँछिन् ।
उनले भनिन्, ‘यस्ता खालका घटनाले मुलुकलाई उच्च जोखिमयुक्त लगानी गन्तव्यको सूचीमा राख्ने खतरा बढाउँछ । लगानी घट्नु भनेको प्रत्यक्ष रोजगारी मात्र हैन, आपूर्ति श्रृंखलासँग सम्बन्धित लाखौं अप्रत्यक्ष रोजगारी पनि संकटमा पर्नु हो ।’
उनका अनुसार ठूला कम्पनीहरूमाथि भएको आक्रमणले ठूला कम्पनी पनि नेपालमा सुरक्षित छैनन् भन्ने सन्देश दिन्छ, जसको मनोवैज्ञानिक असर दीर्घकालसम्म रहन्छ ।
विज्ञहरुका अनुसार ठूला करदाता कम्पनीहरूलाई सुरक्षित राख्नु राज्यको कर्तव्य हो । उनीहरूको भौतिक संरचना, कर्मचारी र कारोबारी गतिविधिको संरक्षण गर्न नसक्दा लगानीमै संकट आउँछ । कमजोरी हुँदा अनुसन्धान निष्पक्ष र तथ्यमा आधारित हुनुपर्ने हो । तर, राजनीतिक पूर्वाग्रह वा दबाबमा हुने अनुसन्धानले लगानीकर्तामा डर पैदा गर्ने विज्ञहरूले चेतावनी दिएका छन् ।
यसैगरी राम्रा कार्यमा प्रोत्साहन गर्नु उच्च लगानीको संकेत हो, जुन पछिल्लो समय नेपालमा धुमिल हुँदै गएको अधिवक्ता पाण्डेको दाबी छ । ‘राज्यले लगानीकर्तालाई नीतिगत सुरक्षा दिनुपर्छ,’ अधिवक्ता पाण्डे भन्छिन्, ‘अन्यथा आर्थिक वृद्धिको सपना केबल नारामै सीमित हुनेछ ।’
सुधार नगरे समय गुम्ने
नेपालले समृद्धिको लक्ष्य पूरा गर्न विदेशी र स्वदेशी दुवै लगानीलाई प्रोत्साहन गर्नुपर्छ । तर, त्यसका लागि लगानीकर्ताको सुरक्षा, पारदर्शी नीति र दीर्घकालीन स्थायित्व अपरिहार्य सर्त रहेको महासंघ सदस्य खनाल बताउँछन् ।
उनका अनुसार एनसेल, भाटभटेनी र सिप्रदीजस्ता ठूला करदाता कम्पनीमाथिको आक्रमणलाई सामान्य घटना ठान्ने हो भने नेपालको लगानी वातावरण गम्भीर संकटमा पर्न सक्छ ।
‘आज ठूला कम्पनीले असुरक्षित महसुस गरे भने भोलि साना लगानीकर्ताले पनि फर्किएर हेर्दैनन्,’ क्वेस्ट फर्माका अध्यक्ष श्रेष्ठ भन्छन्, ‘यो केवल एक/दुई कम्पनीको कुरा होइन, यो सिंगो अर्थतन्त्रको स्थायित्व र भविष्यको कुरा हो ।’
यस्तो संवेदनशील समयमा सरकारले लगानीकर्ताको सुरक्षाप्रति देखाएको कमजोरीले राष्ट्रिय हितमै चोट पु¥याउन सक्छ । समयमै सुधार नगरे पछुतोबाहेक केही बाँकी नरहने उनीहरुको धारणा छ ।