काठमाडौं । होटल संघ नेपालले देशभर जारी निषेधाज्ञा र विमानस्थल बन्द भएपछि अनिश्चित बनेको पर्यटक यात्रुलाई सहज बनाउन सम्बन्धित निकायलाई प्राथमिकताका साथ पहल गर्न आह्वान गरेको छ ।
संघले एक विज्ञप्ति जारी गर्दै परिवर्तनका लागि जीवन उत्सर्ग गर्ने युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । संघले युवाहरुको बलिदानबाट सुरु भएको नयाँ भविष्यको संक्रमणकालमा देश र जनताको हितमा हुने सबै प्रयास सफल होस् भन्ने शुभकामना पनि व्यक्त गरेको छ ।
विज्ञप्तिमा उल्लेख भए अनुसार, चाडपर्व र पर्यटकीय सिजन सुरु हुने समयमै निषेधाज्ञा र अन्य अवरोधका कारण नेपाल आउने पर्यटकबाट अत्यधिक र अप्रत्याशित क्यान्सिलेसन भइरहेको छ । यस्तो अवस्थामा आवागमनको समस्या छिटो व्यवस्थापन गर्न सकेमा पर्यटन क्षेत्रलाई केही हदसम्म सहज बनाउन सकिने संघको भनाइ छ ।
संघले होटललगायतका निजी तथा सार्वजनिक सम्पत्तिमा भएको आगजनीलाई देशकै सम्पत्ति विनाशको रूपमा व्याख्या गर्दै थप क्षति हुन नदिन सबैलाई अपिल गरेको छ ।
त्यस्तै, हाल प्रभावित पर्यटकको व्यवस्थापन तथा सहजीकरणका लागि होटल संघ नेपालले नेपाल पर्यटन बोर्ड र नेपाली सेनाको सहकार्यमा पहल गरिरहेको जनाएको छ । साथै, अलपत्र पर्यटकलाई आवश्यक आवास सुविधा चाहिएको खण्डमा होटल संघ नेपालको हटलाइन नं. ९८५१०३१४९५ मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।