काठमाडौं । जेनजीको आन्दोलनका कारण लगाइएको निषेधाले नयाँ बानेश्वर क्षेत्रका विद्यालयहरूले विद्यार्थीहरूलाई होल्ड गरेका छन् । सोमबार अपरान्ह तीन बजे नै बिदा भएर घर जानुपर्ने विद्यार्थीहरू समाचार तयार पार्दासम्म विद्यालयमै रहेका छन् ।
प्रहरीले अभिभावक बोलाएर मात्र बच्चाहरू जिम्मा लगाउनु भनेपछि विद्यालयहरूले अभिभावक बोलाई जिम्मा लगाएर पठाउन थालेको उक्त क्षेत्रको एक विध्यालयका निर्देशक विमल घिमिरेले जानकारी दिए ।
उनले भने, ‘निषेधाज्ञाका कारण गाडीहरू नचलेकाले अभिभावक आउन पनि ढिला भएको छ । त्यसैले कक्षाकोठामै राखेर होमवर्क गराइरहेका छौं ।’
बानेश्वर क्षेत्रका काठमाडौं मोडेल स्कुल, अवेयरनेस इन्टरनेसनल स्कुल, रोजवड स्कुल, रत्नराज्य स्कुल लगायतका विद्यालयहरू रहेका छन् ।
अवेयरनेस स्कुलका निर्देशक घिमिरेका अनुसार बच्चाहरूलाई सुरक्षित तरिकाले घर पठाउन विद्यालय सञ्चालकहरू लागिरहेका छन् । उनले भने, ‘अहिले प्रहरीसँग समन्वय गरी गाडीमार्फत बच्चाहरूलाई घर पठाउने तयारी भइरहेको छ ।’
आन्दोलनको इपिसेन्टर मानिएको यस क्षेत्रका विद्यालयका विद्यार्थीहरूको सुरक्षालाई ध्यानमा राखेर उक्त निर्देशन जारी गरिएको प्रहरीको भनाइ छ ।
अहिले पनि आन्दोलन चलिरहेकोले विद्यालयहरूसँग समन्वय गरेर बच्चाहरूलाई सुरक्षित स्थानतर्फ लैजाने कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।