काठमाडौं । जेनजी पुस्ताले गरेको आन्दोलनमा प्रहरीले टाउको र छातीमा गोली हानेको भेटिएको छ । राष्ट्रिय ट्रमा सेन्टरका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. बद्री रिजालका अनुसार घाइतेहरूको पेट र टाउकोमा बढी चोट लागेको देखिएको छ ।
नयाँ बानेश्वर क्षेत्रमा भएको आन्दोलनमा सरकारी पक्ष तथा प्रहरीले प्रदर्शनकारीकाे टाउको र छातीमा हानिएको देखिएको उनले बताए । रिजालका अनुसार आन्दोलनमा झडप भएपछि ११ बजे नै तयारीमा अवस्थामा रहन फोन आएको थियो ।
‘आन्दोलनकर्मीहरूको झडप भयो भनेर हामीलाई साढे ११ बजेतिर फोन आयो र तयारी अवस्थामा रहनु निर्देशन दिनुभयो । झडपबाट दुखद अवस्था छ । ट्रमा सेन्टरमा मात्रै ५० जना घाइते हुनु भएको छ, ६ जनाको मृत्यु भइसकेको छ । यहाँ आएपछि सीपीआर गर्दा पनि बचाउन नसकेर ६ जनाको मृत्यु भएको हो,’ उनले भने, ‘थप ३ जनालाई हामीले आईसीयूमा राखेर उपचार गरिरहेका छौं । २ जनाको मेजर अप्रेसन भइरहेको छ ।’
उनका अनुसार घाइतेहरूको पेट, छाती, टाउको, हातखुट्टामा चोट लागेको छ । ‘बुलेट चलेको भन्ने सुनिएको छ । यो बुलेट नै हो भन्ने हामीले भन्न सक्ने अवस्था छैन । यदि बुलेट भित्रै छ भने अप्रेशन पछि मात्रै थाहा होला । चोट चाहीँ सिरियस किसिमको छ,’ उनले भने ।
मेसु रिजालका अनुसार कसैको खुट्टामा रड राख्ने, प्लास्टर गर्ने काम भइरहेको छ । साधारण चोट लागेका केही घाइतेहरूलाई डिस्चार्ज पनि गरेको उनले बताए । साथै मन्त्रीले फोन गरेर निःशुल्क उपचार गर्न निर्देशन दिएको उनले बताए ।
‘मन्त्री, सचिवज्यू सबैले फोन गर्नु भएको छ । सकेसम्म निशुल्क उपचार गर्नु भनेर निर्देशन दिनु भएको छ । हामी इमरजेन्सी स्किम अनुसार उपचार गरिरहेका छौं,’ उनले भने, ‘ट्रमा सेन्टरमा आएका घाइते र मृत्यु भएका व्यक्तिहरु १५/१६ वर्षदेखि ३०/३५ वर्ष उमेर समूहका देखिएका छन् । एक जना ५२ वर्षको पनि हुनुहुन्छ ।’
@bikashnewsउपचाररत व्यक्तिहरुको स्वास्थ्य अवस्थाबारे जानकारी दिदै ट्रमा सेन्टरका मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री रिजाल
♬ original sound - BikashNews