काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजार दोहोराे अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३३ अंकले घटेर २६७५ बिन्दुमा झरेको छ ।
आज २२ कम्पनीको सेयर मूल्य बढ्दा २२९ कम्पनीको सेयर मूल्य घटेको छ ।
सोमबार ३२० कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार नेपाल रिइन्स्योरेन्सको भएको छ । नेपाल रिइन्स्योरेन्सको ३० करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
साथै, युनियन हाइड्रोको २४ करोड, युनिभर्सल पावर कम्पनीको २३ करोड, हिमालयन रिइन्स्योरेन्सको २१ करोड र युनाइटेड मोदीको १६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
हिमस्टार ऊर्जा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।