काठमाडौं । नेपाल एसोसिएशन फर सफ्टवेयर एण्ड आईटी सर्भिस कम्पनीज (नास आइटी) ले आयोजना गरेको नेपाल टेक रोडशो अस्ट्रेलिया २०२५ सिड्नीस्थित राइड्जेस वर्ल्ड स्क्वायरमा भव्यताका साथ सम्पन्न भएको छ । कार्यक्रममा नेपाल र अस्ट्रेलियाका प्रविधि क्षेत्रका आविष्कारक, उद्यमी, लगानीकर्ता तथा उद्योग अगुवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
रोडशोको उद्देश्य नेपालको बढ्दो आईटी र सफ्टवेयर क्षमतालाई अन्तर्राष्ट्रियस्तरमा प्रस्तुत गर्नुका साथै दुवै देशबीच प्रविधि सहकार्य र लगानीका नयाँ अवसरहरू सिर्जना गर्नु रहेको आयोजक नास आइटीले जनाएको छ ।
कार्यक्रमको उद्घाटन टेकक्राफ्ट इंकका सह–संस्थापक तथा नास आइटी सदस्य अनिश श्रेष्ठले गरेका थिए । त्यस्तै, ईके सोलुसन्सका प्रमुख कार्यकारी अधिकृत तथा नास आइटी अध्यक्ष गौरव पाण्डेले नेपालको विकासशील प्रविधि इकोसिस्टमबारे विस्तृत प्रस्तुति दिएका थिए ।
कार्यक्रमको प्रमुख आकर्षण अस्ट्रेलियाली र नेपाली प्रविधि इकोसिस्टमबीच सहकार्य र लगानीका अवसरहरू विषयमा गरिएको प्यानल छलफल थियो । एमिनेंस वेजका प्रबन्ध निर्देशक तथा नास आइटी कार्यकारी सदस्य नारायण कोइरालाको संयोजनमा भएको छलफलमा दुवै देशका विज्ञहरूले चुनौती, सम्भावना र व्यावहारिक कदमबारे गम्भीर बहस गरेका थिए ।
प्यानलमा सहभागीहरूमा डाटा विश्लेषण, मेसिन लर्निङ र सूचना सुरक्षामा विशेषज्ञ मनोज घिमिरे, डिजिटल रचनात्मकता तथा प्रयोगकर्ता अनुभव डिजाइनका विज्ञ माइकल सिग्नल, र एसिया–प्रशान्त क्षेत्रमा डिजिटल रूपान्तरणको नेतृत्व गरिरहेका सुदीप आचार्य रहेका थिए ।
कार्यक्रमको समापन रात्रिभोजसहितको नेटवर्किङ सत्रबाट गरिएको थियो, जसले सहभागीहरूलाई विचार आदानप्रदान र सम्बन्ध विस्तार गर्ने अवसर प्रदान गरेको थियो ।
नास आइटीका अनुसार यस कार्यक्रमले नेपालको तीव्र गतिमा विकास भइरहेको प्रविधि परिदृश्य, नेपाली स्टार्टअपहरूले प्रस्तुत गरेका नविन समाधानहरू र अस्ट्रेलियामा सहकार्यका सम्भावनाबारे गहिरो जानकारी प्रदान गरेको छ ।
कार्यक्रम एनसेल बिजनेसको सहयोगमा सम्पन्न भएको हो । नास आइटीले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै नेपालको प्रविधि क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा थप प्रभावकारी बनाउन प्रतिबद्धता व्यक्त गरेको छ ।