काठमाडौं । अगस्ट महिनामा चीनबाट अमेरिकामा निर्यात ३३ प्रतिशतले घट्दा समग्र निर्यात वृद्धिदर पनि गत ६ महिनाकै कमजोर स्तरमा पुगेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘ट्रान्ससिप्मेन्ट’ (तृतीय मुलुकमार्फत पठाइने सामान) लक्षित गर्ने नीतिका कारण र व्यवसायिक अघिल्लो अग्रिम गतिविधि सुस्ताएको प्रभाव यसमा देखिएको हो ।
अमेरिकाबाट चीनले गरेका आयात पनि अघिल्लो वर्षको तुलनामा १६ प्रतिशतले घटेको चीनको भन्सार तथ्याङ्कले देखाएको छ ।
चीनको कुल निर्यात अगस्ट महिनामा अघिल्लो वर्षको तुलनामा अमेरिकी डलरमा ४.४ प्रतिशतले बढेको देखिएको छ, जसले फेब्रुअरीयताकै न्यूनतम वृद्धिदर देखायो । यो वृद्धिदर रोयटर्स सर्वेक्षणले अनुमान गरेको ५.० प्रतिशतभन्दा कम रह्यो ।
यो वृद्धिदर गत दुई महिनाभन्दा सुस्त देखिएको हो, जुन अघिल्लो वर्षको उच्च आधार (हाई बेस) प्रभावका कारण पनि हो । त्यसबेला चीनको निर्यात करिब डेढ वर्षकै उच्चतम गतिमा बढेको थियो ।
अगस्टमा आयात अघिल्लो वर्षको तुलनामा १.३ प्रतिशतले बढ्यो, तर रोयटर्सको अनुमानित ३ प्रतिशतभन्दा कम रह्यो । आयात लगातार तेस्रो महिनामा बढेको भए पनि अचल सम्पत्ति (रियल स्टेट) क्षेत्रमा आएको मन्दी, बढ्दो रोजगारी असुरक्षा लगायतका कारण अझै कमजोर देखिएको छ ।
अमेरिकी राष्ट्रपतिको व्यापार नीतिले अमेरिकी बजारतर्फ पठाइने सामानमा दबाब बढाएपछि चीनले दक्षिण–पूर्वी एसिया, युरोपेली संघका मुलुकहरू, अफ्रिका र ल्याटिन अमेरिकालाई विकल्पका रूपमा प्रयोग गर्दै आएको छ ।
यद्यपि कुनै पनि देशले अमेरिकी बजारलाई प्रतिस्थापन गर्न सकेको छैन । अमेरिकी बजार अझै पनि चीनको सबैभन्दा ठूलो एकल व्यापार साझेदार रहँदै आएको छ । यस वर्ष अगस्टसम्म अमेरिकाले चीनका २८३ अर्ब डलर बराबरका सामान आयात गर्यो । त्यही अवधिमा युरोपेली संघतर्फ निर्यात ५४१ अर्ब डलर पुगेको थियो ।
अगस्ट ११ मा बेइजिङ र वाशिङ्टनबीच भएको सहमतिअनुसार दुवै पक्षले थप ९० दिनका लागि शुल्क युद्धविराम बढाएका थिए । यसअन्तर्गत अमेरिकी आयातमा करिब ५५ प्रतिशत अमेरिकी शुल्क र अमेरिकी सामानमा चीनले ३० प्रतिशत कर कायम गर्ने सहमति भएको पिटर्सन इन्स्चिच्युट फर इन्टरनेशनल इकोनोमिक्सका अनुसार बताइएको छ ।
तर, दुवै पक्षबीचको वार्ताले ठोस उपलब्धि हासिल गर्न सकेको छैन । अगस्ट अन्त्यतिर चीनका प्रमुख व्यापार वार्ताकार ली चेंगगाङको वाशिङ्टन भ्रमण पनि निष्कर्षविहीन रह्यो ।
चिनियाँ निर्यातकर्ताले अमेरिकी शुल्क चुकाउनबाट बच्न तेस्रो मुलुकमार्फत सामान पठाउने रणनीति अपनाउँदै आएका छन् । तर, अमेरिकी प्रशासनले यस्ता ‘ट्रान्ससिप्मेन्ट’ माथि निगरानी कडा गरेपछि यो रणनीति प्रभावकारी हुने वा नहुने अनिश्चितता बढेको छ । जुलाईमा अमेरिकाले ट्रान्ससिप्मेन्ट ठहरिएका सामानमा ४० प्रतिशतसम्मको अतिरिक्त शुल्क लगाउने घोषणा गरेको थियो ।
निजी क्षेत्रको निर्यातमुखी सर्वेक्षण रेटिङडग पर्चेसिङ म्यानेजर्स इन्डेक्सले अगस्टमा चीनको उत्पादन गतिविधि अपेक्षाभन्दा बलियो देखाएको जनाएको छ । नयाँ निर्यात अर्डरमा सुधार देखिएकोले बाह्य माग अझै स्थिर रहेको संकेत गरेको छ ।
यसै हप्तामा चीनले दुई प्रमुख मुद्रास्फीति सूचकाङ्कहरू— उपभोक्ता मूल्य सूचकाङ्क (सीपीआई) र उत्पादक मूल्य सूचकाङ्क (पीपीआई) सार्वजनिक गर्ने तयारी गरेको छ।
गोल्डम्यान स्याच्सको अनुमानअनुसार पीपीआई मुद्रास्फीति अझै ‘गहिरो नकारात्मक’ रहन सक्नेछ, वार्षिक रूपमा २.९ प्रतिशतले घट्ने सम्भावना छ । तर मासिक आधारमा भने बेइजिङले अत्यधिक मूल्य कटौती नियन्त्रण गर्ने ‘एन्टी– इनभोलुसन’ नीति तथा कच्चा पदार्थको बढ्दो मूल्यको कारण सकारात्मक हुन सक्नेछ ।
यसैगरी, गोल्डम्यान स्याच्सले सीपीआई मुद्रास्फीति पनि ‘सामान्यतया नकारात्मक’ हुने अपेक्षा गरेको छ, जुन गत वर्षको तुलनामा अगस्टमा ०.२ प्रतिशतले घट्ने सम्भावना रहेको बताइएको छ । (सीएनबीसीबाट अनुदित तथा सम्पादित)
इतिहासकै ठूलो तलब डिल : मस्कलाई टेस्लाको १ ट्रिलियन डलर प्रोत्साहन प्याकेज