स्कुल–कलेज छाडेर माइतीघरमा पुगे जेनजी, भ्रष्टाचार र अव्यवस्थाविरुद्ध प्रदर्शन

काठमाडौं । भ्रष्टाचार, अव्यवस्था र सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयको विरोध गर्दै नयाँ पुस्ताका युवा (जेन जी) ले सडक आन्दोलन सुरु गरेका छन् ।

स्वतस्फूर्त रूपमा काठमाडौंको माइतीघर मण्डलामा भेला भएका उनीहरूले ‘जेनजी पुस्ता चिच्याउँछ, भ्रष्टलाई गिज्याउँछ’, ‘स्वतन्त्र आवाज हाम्रो अधिकार’, ‘स्टप करप्सन’ लगायतका नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका थिए । कतिपय विद्यार्थीहरू विद्यालय र कलेजको पोशाकमै प्रदर्शनमा देखिएका थिए ।

पहिले सामाजिक सञ्जालमा मात्र सीमित आलोचना र असन्तुष्टिलाई जेनजी पुस्ताले सडकमा उतारेसँगै आन्दोलनलाई विभिन्न पेशा, व्यवसाय र क्षेत्रका व्यक्तिहरूले समर्थन गरेका छन् । राजनीतिक दलसँग आवद्ध भ्रातृ संस्थाहरूलाई भने उनीहरूले प्रदर्शनमा सहभागी नहुन स्पष्ट आग्रह गरेका छन् ।

Share News