काठमाडौं । नेपालमा सूचीकृत नभएका सामाजिक सञ्जाल प्लेटफर्मलाई क्रमशः बन्द गर्ने सरकारी निर्णय कार्यान्वयनमा पुगेपछि युट्युब पनि बन्द भएको छ । इन्टरनेट सेवा प्रदायक संघ (आईएपान) का अनुसार नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशनअनुसार युट्युबका वेब ठेगाना (यूआरएल) र आईपी एड्रेसहरू ब्लक गर्ने प्रक्रिया सुरु गरिएको हो ।
आईएपानका अध्यक्ष सुधीर पराजुलीका अनुसार हाल वेब ब्राउजरमा युट्युब बन्द भएको छ भने मोबाइल एपमार्फत चलिरहेको छ, तर मोबाइलमा पनि बन्द गर्ने तयारी भइरहेको छ । यसअघि बिहीबारदेखि फेसबुक, एक्स (ट्विटर), इन्स्टाग्राम जस्ता सामाजिक सञ्जाल प्लेटफर्म वेब ब्राउजरमा अवरुद्ध भइसकेका थिए ।
सरकारले मंसिर २०८० मा सामाजिक सञ्जाल निर्देशिका जारी गरी नेपालमा सञ्चालन हुने सबै प्लेटफर्मलाई अनिवार्य रूपमा सूचीकरण गर्न आग्रह गरेको थियो । पाँच पटक सूचना दिइए पनि तोकिएको सात दिनको अन्तिम समयसीमा बुधबार सकिएपछि सरकारले सूचीकरण नभएका प्लेटफर्म बन्द गर्ने प्रक्रिया अघि बढाएको हो ।
यसबीचमा, एक्स (ट्विटर) ले नेपालमा दर्ता हुन चाहेको भन्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई आधिकारिक इमेल पठाएको छ । तर मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार हालसम्म कुनै औपचारिक निवेदन प्राप्त भएको छैन । मेटाले पनि मन्त्रालयसँग अनौपचारिक जिज्ञासा राखेको तर आधिकारिक दर्ता निवेदन नदिएको अधिकारीहरूले जनाएका छन् ।
सरकारी निर्णयविरुद्ध केही कानुन व्यवसायी र मानवअधिकारकर्मीले शुक्रबार नै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । सर्वोच्च अदालतका सूचना अधिकारी नीराजन पाण्डेले उक्त रिटबारे दर्ता र अन्य प्रक्रिया आइतबारसम्ममा टुंगो लाग्ने जानकारी दिए ।