चर्चित गीत ‘हामी उभिएको धरातल’ पुनः म्युजिक भिडियोमा

भक्तपुर । विश्व सम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिर प्राङ्गणमा ‘हामी उभिएको धरातल बोलको गीतको छायाँकनको शुभमुहुर्त गरिएको छ । एक दशकअघि नै चर्चामा रहेको सो गीतको रिमिक्स म्युजिक भिडियो निर्माण गर्न लागिएको हो । 

ग्रेटर नेपाल नामक संस्थाले रिमिक्स गरि अहिलेको परिवेशअनुसार सम्पदादेखि सहरसम्मको दृश्यलाई कैद गर्दै नयाँ स्वरूपमा छायांकन गरी म्युजिक भिडियो निर्माणको सुरु गरेको हो ।

सो म्युजिक भिडियोको नरिवल फुटाएर शुभ मुहूर्त गर्दै प्रतिनिधिसभाका सांसद एवं नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले सम्पदादेखि वातावरणको संरक्षण गर्ने सन्देश बोकेको गीतलाई अन्तराष्ट्रिय स्तरको भिडियो निर्माण गरी सबैमा शन्देश फैलाउँने उदेश्य रहेको बताए ।  

देशमा केही भएको छैन भन्नेहरूले यो गीतको पुरानो दृश्य र अब बन्ने दृश्य हेरे पुग्ने बताउँदै सांसद थापाले देशमा लोकतन्त्र आएपछि शिक्षा, स्वास्थ्य सञ्चार लगायतका क्षेत्रमा आमूल परिवर्तन आएको बताए । 

सामाजिक र राजनीतिक क्षेत्रको कालजायी गीतले देशलाई युवा पुस्ताले माया गर्ने सन्देश प्रवाह गर्दै सम्पदादेखि वातावरण संरक्षणसम्म, सडकदेखि संरचनासम्म भएको विकासलाई सन्देशपूर्ण रूपमा उनको थियो ।

युवा विदेशिने प्रवृतिको अन्त्य गर्दै नेपालमै डाक्टर, इन्जिनियरलगायत सबै विषय पढ्न पाइन्छ, नेपालमै बस्नु पर्छ भन्ने सन्देश फैलाउन पनि यो म्युजिक भिडियो सहयोगी सिद्ध हुने उनको भनाइ थियो ।
 
कार्यक्रमलाई सम्बोधन गर्दै चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले ऐतिहासिक चाागुनारायण मन्दिर सम्पदालाई नगरकोट भ्रमण वर्षको अवसरमा विश्वभर प्रचारमा लाग्न म्युजिक भिडियो सहयोगी सिद्ध हुने विश्वास व्यक्त गरे । 

स्थानीयवासी, जनप्रतिनिधि सबै नागरिक मिलेर चाँगुनारायणको विकास, सम्बृद्धि र पर्यटकको आगमन बढाउन लाग्नु पर्ने बताउँदै उनले यहाँको धार्मिक, सांस्कृतिक, प्राकृतिक गन्तव्यलाई अन्तर्राष्ट्रिय जगतमा पुर्याएर पर्यटकलाई आकर्षित गर्न सक्नुपर्ने बताए । 

म्युजिक भिडियोको निर्देशकमा सञ्चारकर्मी सुचित्रा श्रेष्ठ रहेकी छिन् । शुभमूर्हुत कार्यक्रममा संगीतकार सुनिल उप्रेती, गायक प्रवेशमान शाक्य, प्राश्ना शाक्य, भीम तुलाधार, रबिन महर्जन, कलाकार रश्मि भट्टलगायतका चर्चित कलाकारको सहभागिताको रहेको थियो । 

कार्यक्रममा भिडियो निर्माणका लागि भक्तपुरका चाँगुनारायण, मध्यपुरथिमि नगरपालिका तथा काठमाडौंका कागेश्वरी मनोहरा, दक्षिणकालीलगायका उपत्यकाका ६ वटा नगरपालिकाको सहयोग रहने जानकारी सिदइएको थियो । 

करिब १० वर्ष अगाडि सुनिल उप्रेतीको संगीत, निरामिषको शब्द, संजय श्रेष्ठ, रत्न सुवेदी, उमा गुरुङ, सन्नी रौनियार, प्रविण मानन्धर, राजकुमार जोशीलगायतको स्वर र रोशनप्रताप राणाको निर्देशनमा कोरस नृत्य रहेको यस गीतको म्युजिक भिडियो चर्चामा आएको थियो ।
 

Share News