काठमाडौं । विद्यालय शिक्षा विधेयकमा असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासंघ र निजी विद्यालयका सञ्चालकहरू आन्दोलित हुँदै सडकमा उत्रिएपछि अभिभावक चिन्तित भएका छन् । उनीहरूले कुनै पनि बहानामा विद्यार्थीलाई दुःख दिने काम नगर्न आग्रह गरेका छन् ।
शिक्षा क्षेत्रलाई नै शान्ति क्षेत्र भन्ने बौद्धिक वर्गहरूले नै विद्यालय बन्द गरेर आन्दोलन गर्ने चेतावनी दिएपछि अभिभावक पुनः चिन्तित हुन थालेका हुन् । सामुदायिक विद्यालय बन्द गरेर शिक्षक पटकपटक सडकमा आउँदा छोराछोरीको पढाइमात्र नभइ मनोविज्ञानमा असर परेको उनीहरू बताउँछन्।
अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले विद्यालय नै बन्द हुने गरी कुनैपनि पक्ष सडकमा आउन नहुने बताए ।
‘कुनैपनि विषयमा असहमति हुँदा आन्दोलन गर्न मिल्छ, पाइन्छ तर, आन्दोलनको स्वरुप फरक हुनुपर्छ, विद्यालय नै बन्द गर्ने चेतावनी दिएर सडकमा आउनु राम्रो होइन,’ उनी भन्छन् ‘आन्दोलनको स्वरूपप्रति हाम्रो आपत्ति हो ।’
अध्यक्ष भण्डारीले विद्यालय बन्दले विद्यार्थीको मनोविज्ञानमा असर पर्ने बताए । २०६२/६३ सालको जनआन्दोलनको स्मरण गर्दै उनले अब विद्यालय बन्द गर्ने कुरा कुनै पनि वर्गले सोच्न नहुने बताए ।
चार दशकमा निजी विद्यालय ११ प्रतिशतबाट ३० प्रतिशत पुगेको प्रसंग जोड्दै उनले ५४ वर्षपछि आउने विधेयक विद्यार्थीमैत्री हुनुपर्ने बताए । उनी भन्छन्, ‘सबैका जायज माग पूरा हुनुपर्छ । सरकारले पनि आन्दोलन गर्ने वातावरण नभइदिए हुन्थ्यो ।’
निजी विद्यालयका कारण शिक्षाका नाममा हुने पुँजी पलायन रोकिएको भए पनि राज्यको ध्यान सामुदायिक शिक्षा सुधारमै केन्द्रित हुनुपर्ने उनले बताए। शिक्षाका लागि अभियान (एनसी)का उपाध्यक्ष सुबेन्द्रमान श्रेष्ठ सबै पक्षले आफ्नो स्वार्थ छोडेर देश र शिक्षाका विषयमा सोच्नुपर्ने बताउँछन् ।
‘शिक्षा मौलिक हक हो यसको जिम्मा राज्यले लिनुपर्छ,’ उनी भन्छन्, ‘शिक्षा कुनैपनि हालतमा किनबेच गर्न पाइँदैन । यो समान हुनुपर्छ, सबैले पाउनुपर्छ , नेपालमा धनी र गरिबले पाउने शिक्षामा ठूलो खाडल छ जुन देशको लागि राम्रो होइन ।’
उनी आर्थिक हिसाबले शिक्षा राम्रो र नराम्रो पाउन नहुने बताउँछन् । शिक्षा विधेयकमा निःशुल्क र आधारभूत शिक्षा सुनिश्चित गर्ने संविधानको भावनाभन्दा तल झर्न नहुने उनको भनाइ छ ।
बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानका सदस्य शान्ता दाहाल निजी वा सामुदायिक क्षेत्रका विद्यालय बन्द गरेर आन्दोलनमा जान नहुने बताउँछिन् । विद्यालय बन्दले बालबालिकाको मस्तिष्कमा असर पर्ने बताउँदै उनीहरूलाई शान्तिपूर्ण वातावरणमा पढ्न दिनुपर्ने वातावरण सिर्जना गर्नुपर्ने उल्लेख गरिन्।
महासंघ भन्छ– आन्दोलन रहर होइन
नेपाल शिक्षक महासंघले भने आन्दोलनमा जाने रहर नभएको बताएको छ । विभिन्न पार्टीका कार्यालयमा धर्ना दिएर दिँदै आएको महासंघले धर्नाको कार्यक्रम रोकेर पहिलो चरणको दोस्रो आन्दोलन सुरु गर्ने निर्णय गरेको छ ।
आन्दोलनको स्वरूपबारे भने आज शुक्रबार छलफल हुने महासंघले जनाएको छ । महासंघले माग पुरा नभए विगतका भन्दा ठूलो आन्दोलन गर्ने बताउँदै आएको छ ।
शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले ५४ वर्षपछि बन्न लागेको ऐन पनि अधुरो राखेर शिक्षा क्षेत्रलाई सधै समस्यामा राख्न नहुने बताए । संसदीय उपसमितिले उल्टो बाटो हिँडाएको विधेयकलाई समितिले केही सच्याए पनि अहिलेका समस्या समाधान गर्नेगरी ल्याउने छाँट नदेखिएकाले महासंघ आन्दोलनमा उत्रिनुपरेको उनको भनाइ छ ।
उनी भन्छन्, ‘माननीयहरू स–साना कुरामा अल्झिनुभएको छ । आफ्नो नजिकको शिक्षकसँगको सम्बन्ध वा विद्यालय हेरेर कानुन बनाउनु हुँदैन ।’
महासंघले अहिले कुनै नयाँ माग नराखेको दाबी गर्दै अध्यक्ष सुवेदीले विगतमा सरकारले गरेका सहमति कार्यान्वयन मात्र आफूहरुको माग रहेको बताए । ‘धेरैले हामीलाई कम्प्रोमाइज गर्न भन्नुहुन्छ । भइसकेको सम्झौतामा कहाँ कम्प्रोमाइज गर्ने ?,’ उनले भने ।
निजी विद्यालयका सञ्चालकको कडा आन्दोलन गर्ने चेतावनी
निजी विद्यालयका सञ्चालकले विद्यालय शिक्षा विधेयक नसच्चिए विद्यालय बन्द गरेर आन्दोलन गर्ने चेतावनी दिएका छन् । निजी विद्यालयलाई विधेयकमा गैरनाफामूलक बनाउने कुरा अमान्य भएको बताउँदै लगानी सुरक्षित गर्नुपर्नेमा उनीहरूले जोड दिएका छन् ।
प्याब्सनका वरिष्ठ उपाध्यक्ष दिपिका रिमाल थापाले निजी विद्यालय खोल्न र कम्पनीअन्र्तगत सञ्चालन गर्ने अनुमति दिइसकेपछि राज्यले अहिले आएर गैरनाफामूलक हौ भन्न नमिल्ने बताइन् ।
‘कम्पनीमा जाने भनेकै नाफामूलक हो,’ उनी भन्छिन्, ‘पूर्ण छात्रवृत्ति र आवासीय सुविधा दिन सक्ने स्थिति छैन।’
उनले विद्यार्थी छनौटको अधिकार पनि विद्यालयलाई नै हुनुपर्ने बताइन् । ‘गरिबीको रेखामुनिका बालबालिकाको दायित्वबाट निजी विद्यालय नभाग्ने तर राज्यले सबै काम निजीले गरिदेओस् भनेर पन्छाउने प्रवृत्ति गलत छ । हिजो भूकम्प र कोभिडमा निजी क्षेत्र ढल्दा सरकारले हेरेन । तर, अहिले सम्पूर्ण कर्तव्यको भारी बोकाउन खोजेको छ,’ उनले भनिन् ।
विज्ञहरू भने अहिलेको शिक्षा विधेयक नै सोचे जस्तो आउन नसकेको धारणा राख्छन् । जति छलफल र बहस भएको थियो त्यो आधारमा विधेयक नआएपनि विद्यालय नै बन्द गरेर आन्दोलन गर्न नहुने उनीहरूको धारणा छ ।
शिक्षाविद् प्राडा विद्यानाथ कोइराला विद्यालय बन्दले समस्याको समाधान नभइ विद्यार्थीमाथि असर पर्ने बताउँछन्।
उनी भन्छन्, ‘हामीले छलफल गरेर योयो कुरा कानुनमा राख्नुपर्छ, यस्तो आउनुपर्छ भनेका थियौं त्यसको विपरित हामीले पायौं । तर यसको समाधान स्कुल बन्द गरेर हुँदैन । यो एकदमै गलत कदम हो ।’
अर्का शिक्षाविद् टीका भट्टराई संविधानको मर्मविपरित निजी विद्यालयलाई लाभ हुनेगरी विधेयक अघि बढाउन खोजिएको बताउँछन् । उनी निजी विद्यालयका सञ्चालकले केही कुरामा असन्तुष्टि राखेपनि विधेयक भने उनीहरूकै पक्षमा तयार भएको बताउँछन् ।