काठमाडौं । चिनियाँ र युरोपेली कार निर्माताहरू आगामी हप्ताको म्युनिख कार शोमा आमनेसामने हुने तयारीमा छन् । यसले युरोपमा तीव्र बन्दै गएको प्रतिस्पर्धालाई झल्काउँछ, जहाँ फक्सवागनजस्ता पुराना कम्पनीहरू ईभी दिग्गज बीवाईडी तथा नयाँ प्रवेशकर्ता जीएसी र चाङ्गानसँग भिडिरहेका छन् ।
आईएए मोबिलिटी, जुन महादेशकै सबैभन्दा ठूलो कार शो हो । यो यस्तो समयमा आउँदैछ जब युरोपेली कार निर्माताहरू चीन जुन विश्वकै सबैभन्दा ठूलो बजारमा आफ्नो स्थान गुमाइरहेका छन् । केही कार्यकारीहरूले यसलाई ‘डार्विनियन मूल्ययुद्ध भनेका छन् । मोबिलिटी दुई वर्षमा एकपटक हुने गर्छ ।
त्यसैबेला घरेलु दबाबबाट पन्छिन चिनियाँ कार निर्माता युरोपतर्फ लाभको खोजीमा विस्तार गर्दैछन् । विशेषगरी ईभी निर्माता बीवाईडी जसको विश्वव्यापी बिक्री २०२४ मा ४२ लाख कारमा पुगेको छ, जुन २०१९ को तुलनामा दशगुणा बढी हो ।
गार्टनरका अनुसन्धान उपाध्यक्ष पेड्रो पाचेकोले भने, ‘चिनियाँ ब्रान्डहरू युरोपमा बढ्न खोजिरहेका छन् भने युरोपेलीहरू ईभी र सफ्टवेयरमा प्रतिकार गर्न खोजिरहेका छन्।’
बीवाईडीसँगै म्युनिखमा चाङ्गान, जीएसी र एफएडब्ल्यूको हङ्गक्वी ब्रान्डसहितका चिनियाँ कम्पनीहरू पनि सहभागी हुनेछन् ।
जर्मन अटो लबी भीडीएका विभागीय प्रमुख जान हेकम्यानले यस वर्षको मोबिलिटीमा २०२३ को तुलनामा ४० प्रतिशत बढी चिनियाँ प्रदर्शक रहने बताए ।
जाटो डाइनामिक्सअनुसार चिनियाँ ब्रान्डहरूले जनवरीदेखि जुलाई २०२५ सम्म युरोपेली बजार हिस्सेदारी लगभग दोब्बर पारेर ४.८ प्रतिशत पुर्याएका छन् ।
म्याककिन्सेले अनुमान गरेको छ कि भविष्यमा उनीहरूले जापानी र कोरियन कार निर्माताहरूको स्तर (१४ प्रतिशत र ९ प्रतिशत क्रमशः) सम्म पुग्न सक्छन् ।
व्यापार युद्ध र युरोपमा केन्द्रित रणनीति
यो वृद्धि यूरोपियन संघ (ईयू) ले चिनियाँ ईभीमा हालै लगाएको शुल्कको बाबजुद आएको हो ।
‘शुल्कले चिनियाँ विस्तार रोक्दैन,’ अलिक्सपार्टनर्सका साझेदार जिङ झाउले भने, ‘अमेरिका राजनीतिक कारणले पहुँचबाहिर भएकाले अब युरोप नै प्रमुख गन्तव्य हो ।’
एक समय अध्यक्ष माओ त्सेतुङले प्रयोग गर्ने गरेको हङ्गक्वीले आफ्ना इएचएस ५, इएचएस ७ र इएचएस ९ मोडेल सार्वजनिक गर्दै युरोपेली रणनीति प्रस्तुत गर्नेछ ।
चीनको सबैभन्दा ठूलो निर्यातकर्ता चेरीले जर्मनीमा आफ्ना ओमोडा र जेको ब्रान्ड ल्याउनेछ भने बीवाईडीले आफ्नो प्रिमियम डेन्जा ब्रान्ड र सिल ६ डीएम–आई टुरिङ प्लग–इन हाइब्रिड सेडान प्रदर्शन गर्नेछ ।
जुलाईसम्म बीवाईडीको युरोपेली बिक्री २९० प्रतिशत बढेर ८४ हजार कार नाघेको छ । चीनमा हालै कमजोर बिक्री र उत्पादन घटेसँगै युरोपमा अझै तीव्र विस्तार गर्ने दबाब बढेको छ ।
युरोपेली कार निर्माता मर्सिडिज बेन्ज, बीएमडब्ल्यू, रिनल्टलगायत प्रतिकारका लागि तयारी गरिरहेका छन् ।
बीएमडब्ल्यूले आफ्नो आईएक्स ३ एसयूभी प्रदर्शन गर्नेछ । रिनल्टले क्लिओ ६ ल्याउनेछ भने मर्सिडिजले नयाँ पुस्ताको ईभी जीएलसी प्रस्तुत गर्नेछ ।
फक्सवागनले आफ्नो आईडी पोलो ईभी कम्प्याक्ट ह्याचब्याक सार्वजनिक गर्नेछ, जसको मूल्य २०२६ मा २५ हजार युरो (२९ हजार २६७ डलर) भन्दा कम हुने अनुमान छ ।
कन्सल्टेन्सी स्ट्याक्सका प्रबन्ध निर्देशक फिल डनले भने, ‘युरोपेली कार निर्माताहरूले चिनियाँ चुनौतीप्रति ढिलो प्रतिक्रिया जनाए ।’
‘पश्चिमी निर्माता केही हदसम्म ढुक्क भएका थिए । अब उनीहरूले सानो बजार हिस्सासँगै बाँच्न सिक्नुपर्ने हुन्छ, किनभने चिनियाँ कम्पनीहरू यहाँ स्थायी रूपमा आउँदैछन्,’ उनले थपे ।
विश्वकै ठूलो ईभी निर्माता बीवाईडीको नाफा घट्दै, उत्पादन विस्तार योजनामा ढिलाइ
पोर्शेमा नयाँ सीईओको खोज सुरु, फक्सवागनसँगको दोहोरो भूमिका अन्त्य हुने संकेत