सिचुवान एयरलाइन्सले पोखरा-छेन्दु-अष्ट्रेलिया उडान भर्ने

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चिनियाँ वायुसेवा कम्पनी सिचुवान एयरलाइन्सले पोखरा–छेन्दु–अष्ट्रेलियाको उडान भर्ने तयारी गरेको छ ।

सिचुवान एयरलाइन्सले अक्टोबरदेखि पोखरा विमानस्थलबाट चीनको छेन्दु हुँदै अष्ट्रेलियाको उडान गर्नेगरी तयारी गरिरहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए ।

पोखरा–छेन्दु–अष्ट्रेलियाको उडानले नेपाली यात्रुहरूलाई सहज हुने उनले बताए । पोखरा विमानस्थलबाटै अष्ट्रेलियासम्म यात्रा गर्न सकिने अवस्था बन्नु खुशीको कुरा भएको उनले उल्लेख गरे । सिचुवान एयरलाइन्सले केही समयअघि पोखरा–छेन्दु–पोखराको उडान गरेको थियो। तर प्राविधिक कारण देखाउँदै हाल उडान स्थगित गरिएको थियो ।

उनले भने, 'केही समयअघि सिचुवान एयरलाइन्सले पोखरा–छेन्दु र छेन्दु–पोखराको उडान गरेको थियो । तर प्राविधिक कारणले केही समय स्थगित गरेको हो । अब आउने अक्टोबरदेखि फेरि पोखरा विमानस्थलमा उडान सुचारु गर्ने तयारी भइरहेको छ । पोखराबाट छेन्दु र त्यहाँबाट अष्ट्रेलियासम्म जोड्ने तयारी भइरहेको छ । यसले नेपाली यात्रुहरूलाई सहज बनाउनेछ । पोखराबाटै अष्ट्रेलियासम्म यात्रा गर्न सक्ने अवस्था आउनु नयाँ खुशीको कुरा हो ।'

हाल पोखरा विमानस्थलबाट नियमित रूपमा हिमालयन एयरलाइन्सले ल्हासा–पोखरा–ल्हासामा हप्तामा एक उडान गर्दै आएको छ ।

भूटान एयरलाइन्सले चार्टर्ड उडान गर्ने

महाप्रबन्धक निरौलाले भूटान एयरलाइन्सले पोखरा विमानस्थलबाट चार वटा चार्टर्ड उडान गर्ने जानकारी दिए। उनका अनुसार, भूटान एयरलाइन्सले सेप्टेम्बर २८, अक्टोबर २, ६ र १० मा पारो–पोखरा–पारो चार्टर्ड उडान गर्ने अनुमति पाएको छ ।

उनले भने, 'चार्टर्ड उडानको अनुभव र यहाँको बजार हेरेर नियमित उडान सेवा सञ्चालन गर्नेगरी भूटान एयरलाइन्सले तयारी गरिरहेको छ ।'

महाप्रबन्धक निरौलाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई, मलेसिया र बैंककसम्म उडान गर्नेगरी विदेशी वायुसेवाले पनि तयारी गरिरहेको तर यसबारे अन्तिम निर्णय हुन बाँकी रहेको जानकारी दिए । उनले यसका लागि स्थानीय सरकार, प्रदेश सरकार, उद्योगी व्यवसायी तथा पर्यटन व्यवसायी सबैको पहल आवश्यक हुने बताए ।

उनले भने, 'वायुसेवा र विमानस्थलको व्यवसाय केवल सरकारले मात्र सम्भव गराउन सक्दैन । स्थानीय पर्यटन व्यवसायी सबै मिलेर हातेमालो गर्ने हो भने पोखरा विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान सुचारु गर्न सकिन्छ भन्नेमा हामी आशावादी छौँ ।'

हाल पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक ४० भन्दा बढी आन्तरिक उडान भइरहेका छन् । बुद्ध एयर, यति एयरलाइन्स र श्री एयरलाइन्सले नियमित उडान गर्दै आएका छन् । अफ-सिजनमा पनि दैनिक २ हजारभन्दा बढी यात्रुहरू आवागमन गर्दै आएका छन् । सेप्टेम्बर १५ देखि सुरु हुने पर्यटन सिजनमा दैनिक ५० भन्दा बढी उडान भई करिब ४ हजार यात्रुहरूले सेवा लिने अपेक्षा गरिएको छ ।

त्यस्तै, पोखराको पुरानो विमानस्थलबाट समिट एयरले जोमसोम उडान सुरु गरेको छ भने त्यहाँबाट हेलिकप्टर सेवा पनि नियमित रूपमा सञ्चालन भइरहेको छ ।

Share News