ललितपुर । ललितपुर महानगरपालिकाले विद्यार्थीलाई सम्पदा संरक्षणमा जोड्न नयाँ कार्यक्रम ‘एक विद्यालय–एक सम्पदा’ सुरु गरेको छ । बुधबार सामुदायिक र संस्थागत विद्यालयका प्रधानाध्यापक तथा सरोकारवालासँग छलफल गर्दै यो कार्यक्रमको औपचारिक सुरुवात गरिएको हो ।
यस कार्यक्रमअन्तर्गत विद्यार्थीले आफ्नो विद्यालय नजिकै वा पायक पर्ने सम्पदाको सरसफाइ र संरक्षण गर्ने जिम्मेवारी लिनेछन् । ढुंगेधारा, पाटी–पौवा, बौद्ध विहार, मठमन्दिर, स्तुपा र प्रमुख पोखरी जस्ता सम्पदामा विद्यार्थी सक्रिय हुने महानगरले जनाएको छ ।
महानगर प्रमुख चिरीबाबु महर्जनले यसलाई महानगरको ‘ड्रिम प्रोजेक्ट’ भन्दै, 'विद्यार्थीले देखेर र छोएर सिकेका कुरा जीवनभर सम्झिन्छन्, यसले सम्पदा संरक्षणप्रति चासो र चेतना बढाउँछ,' भने ।
सामाजिक विकास समितिका संयोजक तथा प्रवक्ता राजु महर्जनले कार्यक्रमले विद्यार्थीलाई प्रयोगात्मक शिक्षासँग जोड्ने र सम्पदाको प्रचारप्रसारमा मद्दत गर्ने विश्वास व्यक्त गरे ।
शिक्षा महाशाखा प्रमुख देवीप्रसाद पौडेलका अनुसार, कार्यक्रम महानगरका सबै २९ वटै वडामा सञ्चालन हुनेछ । अनुगमनका लागि पाँच सदस्यीय तीनवटा समिति गठन गरिएको छ । समितिको मूल्यांकनमा उत्कृष्ट काम गर्ने विद्यालयलाई आगामी पुस २ गते, महानगरको १०७ औं स्थापना दिवसका अवसरमा पुरस्कृत गरिनेछ ।
कार्यक्रमअन्तर्गत संकलित फोहोरको तत्काल व्यवस्थापन वातावरण शाखाले गर्ने व्यवस्था गरिएको छ ।