काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडको सेयर कारोबार फुकुवा गरेको छ ।
वार्षिक साधारण सभा सम्बन्धी सञ्चालक समितिको निर्णय ढिलो पठाएको कारण नेप्सेले गत सोमबारदेखि कम्पनीको सेयर कारोबार रोक्का गर्दै ३ दिनभित्र स्पष्टीकरण दिन निर्देशन दिएको थियो ।
नेप्सेले कानुनको पालना गर्ने प्रतिबद्धतासहित कम्पनीले चित्तबुझ्दो स्पष्टीकरण पेश गरेपछि कारोबार फुकुवा गरेको जनाएको छ ।
कम्पनी सञ्चालक समितिले भदौ ११ गते बसेको बैठकले १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्तावसहित नवौँ वार्षिक साधारण सभा असोज ९ गते आयोजना गर्ने निर्णय गरेको थियो। तर उक्त निर्णय नेप्सेमा भदौ १६ गते मात्र पठाइएको थियो ।
धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२(१) अनुसार धितोपत्रको मूल्यमा प्रभाव पार्ने सूचना वा निर्णय भएमा कम्पनीले सोही दिन वा भोलिपल्ट कारोबार खुल्नुअघि नेप्सेमा पेश गर्नुपर्ने व्यवस्था छ ।