काठमाडौं । काठमाडौं महानगरपालिकाले कार्यान्वयनमा ल्याएको लक्षित वर्ग निःशुल्क उपचार कार्यक्रममार्फत हालसम्म २०४ जना विपन्न, असहाय र बेबारिसेले स्वास्थ्य सेवा लिएका छन् ।
सबैभन्दा धेरै ४८ जनाले शल्यक्रिया गराएका छन् । हर्निया, हाइड्रोसिल, पाठेघर, स्नायु तथा नसा, पित्तथैलीको पत्थरी, मिर्गौलामा पत्थरी, हाडजोर्नी तथा कान-नाक-घाँटीसम्बन्धी समस्या भएका बिरामीले शल्यक्रिया गराएका हुन् ।
त्यसपछि जटिल मधुमेह, मिर्गौलाको रोग, क्षयरोग, उच्च रक्तचाप, दम र दीर्घ कलेजोसम्बन्धी रोगको उपचार गराएका छन् ।
यस्तै, ७ जनाले आकस्मिक स्वास्थ्य सेवा, १९ जनाले नसा तथा स्नायु, १३ जनाले श्वासप्रश्वास सम्बन्धी, १२ जनाले मुत्र प्रणाली तथा पिसाबसम्बन्धी सेवाहरू लिएका छन्।
निःशुल्क उपचार सेवा दिने अस्पतालमध्ये सबैभन्दा धेरै अन्नपूर्ण न्युरोलोजिकल हस्पिटलबाट ५० जनाले उपचार पाएका छन् । त्यस्तै, काठमाडौं मेडिकल कलेजबाट १९ जना, काठमाडौं मोडेल अस्पतालबाट १८ जना, नेपाल आँखा अस्पतालबाट १५ जना र पिपुल्स डेन्टल कलेज एण्ड जनरल अस्पतालबाट ९ जनाले सेवा लिएका छन्।
प्रदेशगत रूपमा हेर्दा सबैभन्दा धेरै बागमती प्रदेशका ७२ जनाले उपचार सेवा पाएका छन् । त्यस्तै, गण्डकी प्रदेशका ३२ जना, कोशी प्रदेशका २७ जना, मधेश प्रदेशका २१ जना, लुम्बिनी प्रदेशका २० जना, कर्णाली प्रदेशका १७ जना र सुदूरपश्चिम प्रदेशका १५ जनाले निःशुल्क उपचार सुविधा लिएका छन् ।
यो उपचार सेवाको लागत करिब ७४ लाख १६ हजार रुपैयाँ बराबर पुगेको छ । उक्त कार्यक्रम २०८० फागुन १ गतेदेखि सुरु गरिएको हो ।
लक्षित वर्गलाई निःशुल्क उपचार गर्नुपर्ने कानुनी व्यवस्था पहिले कार्यान्वयनमा थिएन । काठमाडौं महानगरले २०८० सालमा ‘लक्षित वर्गको उपचार गराउने सम्बन्धी कार्यविधि’ जारी गरी अनलाइन प्रणालीमार्फत सेवा प्रारम्भ गरेको हो ।
सेवाको सहजीकरणका लागि महानगरको स्वास्थ्य विभागमा फोकल पर्सन तोकिएको छ । हाल निजी क्षेत्रका ५३ वटा अस्पतालका ३८० शय्या महानगरको प्रणालीमा आवद्ध भई निःशुल्क उपचार सुविधा उपलब्ध गराइरहेका छन् ।