लक्ष्मी विद्यापदले गर्यो तीन उत्कृष्ट विद्यार्थी सम्मान

काठमाडौं । लक्ष्मी ग्रुपद्वारा स्थापित र पोखरा उद्योग वाणिज्य संघद्वारा सञ्चालित लक्ष्मी विद्या पदकबाट यस वर्ष तीन जना उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिएको छ । संघको ७१ औं साधारणसभा अवसरमा कास्कीका विभिन्न क्याम्पसका विद्यार्थीलाई पदक प्रदान गरिएको हो ।

यसपटक लक्ष्मी विद्या पदक २०८१ बाट एमबीएसतर्फ पृथ्वीनारायण क्याम्पसकी दीपा तिवारी, बीबीएतर्फ ला ग्रान्डी इन्टरनेसनल कलेजकी प्रमिशा सापकोटा र बीबीएसतर्फ पृथ्वीनारायण क्याम्पसका विजय सुवेदी सम्मानित भएका छन् ।

व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह (एमबीएस) र स्नातक तह (बीबीए र बीबीएस) मा सर्वाधिक अंक ल्याउने विद्यार्थीलाई हरेक वर्ष पदक प्रदान गरिँदै आएको छ ।

उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष एवं लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक अन्जन श्रेष्ठ, पोखरा उद्योग वाणिज्य संघ अध्यक्ष गोकर्ण कार्की र लक्ष्मी ग्रुपका अर्का कार्यकारी निर्देशक सुनील श्रेष्ठले विजयी विद्यार्थीलाई ताम्रपत्र, दोसल्ला, पदक र नगद पुरस्कारसहित सम्मान गरेका हुन् ।

यसअन्तर्गत स्नातकोत्तर विद्यार्थीलाई २५ हजार रुपैयाँ र स्नातक तहका विद्यार्थीलाई १५ हजार रुपैयाँ नगद प्रदान गरिएको संघका महासचिव शोभा गौतमले जानकारी दिइन् ।

Share News