काठमाडौं । जैशिदेवल युथ क्लवले आफ्नो ३२औं वार्षिकोत्सवको अवसरमा शनिबार छैठौं ईन्ट्रा डोजाङ्ग तेक्वान्दो प्रतियोगिता सम्पन्न गरेको छ ।
काठमाडौं महानगरपालिका वडा नम्बर २१ को आर्थिक सहयोगमा आयोजना गरिएको एक दिने प्रतियोगितामा विभिन्न समूहका ८८ जना खेलाडीबीच प्रतिस्पर्धा भएको थियो । प्रतिस्पर्धाबाट २३ स्वर्ण, २३ रजत र ४६ काँस्य पदक वितरण गरिएको क्लवले जनाएको छ ।
प्रतियोगिताको उद्घाटन बागमती प्रदेश सरकारकी युवा तथा खेलकुद मन्त्री उर्मिला नेपाल केसीले गरेकी थिइन् । कार्यक्रममा क्लवका अध्यक्ष राजेश प्रजापति, नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सांसद ध्यान गोविन्द रन्जितलगायतको उपस्थितिमा विजयी खेलाडीलाई पदक तथा प्रमाणपत्र वितरण गरिएको थियो ।
सो अवसरमा प्रदेश सभा सदस्य एवं अर्थ तथा विकास समिति सभापति नुरज बज्राचार्य, काठमाडौं जिल्ला समन्वय समितिका अध्यक्ष सन्तोष बुढाथोकी, काठमाडौं महानगरपालिका प्रवक्ता तथा वडा नम्बर १७ का अध्यक्ष नविन मानन्धर, प्रदेश विकास खेलकुद परिषदका सदस्य–सचिव दिपक लामा, काठमाडौं महानगरपालिका वडा नम्बर २१ का अध्यक्ष उदय चुडामणि बज्राचार्य, वडा नम्बर १२ का अध्यक्ष बालकृष्ण महर्जन, वडा नम्बर १९ का अध्यक्ष राजेश श्रेष्ठ, वडा नम्बर २० का अध्यक्ष राजेन्द्र मानन्धर, वडा नम्बर २४ का अध्यक्ष विनोद राज राजभण्डारी, वडा नम्बर १४ का अध्यक्ष सुमन श्रेष्ठ, नेपाल तेक्वान्दो संघ बागमती प्रदेशका अध्यक्ष केशव पुरीलगायतका अतिथिहरूको सहभागिता थियो ।
यसै क्रममा काठमाडौं महानगरपालिका वडा नम्बर १२ का अध्यक्ष बालकृष्ण महर्जनले जैशिदेवल तेक्वान्दो डोजाङ्गलाई दैनिक अभ्यासका लागि दुई लाख रुपैयाँ बराबरको खेल सामग्री हस्तान्तरण गरेका थिए ।
त्यस्तै, नेपाल तेक्वान्दो संघको वार्षिक तालिका अनुसार सम्पन्न सिनियर ग्रेडिङ्ग परीक्षामा ब्ल्याक बेल्ट प्रथम डान प्राप्त गर्न सफल पाँच खेलाडीलाई मन्त्री केसीले बेल्ट र प्रमाणपत्र प्रदान गरेकी थिइन् ।
जैशिदेवल युथ क्लवले प्रतियोगितामार्फत उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्य राखेको जनाएको छ । क्लबका अध्यक्ष राजेश प्रजापतिले विगतका यस्ता प्रतियोगिताबाट यस डोजाङ्गका खेलाडीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पदक जित्दै आएको तथ्य स्मरण गर्दै भविष्यमा पनि आफ्नै खर्चमा खेलाडीलाई विभिन्न प्रतियोगितामा सहभागी गराइने बताए ।
कार्यक्रममा महासचिव चन्द्र गोपाल प्रधानले स्वागत मन्तव्य राखेका थिए भने अध्यक्ष प्रजापतिले समापनमा धन्यवाद ज्ञापन गरेका थिए ।