काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले महानगर प्रहरीले गर्ने काम सिनेमा हेरेजस्तो लाग्ने बताएका छन् ।
३३औँ महानगर प्रहरी दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले सानैमा हलिउड फिल्म हेर्दा सिटी प्रहरीले गर्ने कामजस्तो अहिले काठमाडौं महानगर प्रहरीले गरिरहेको अनुभव भएको बताए ।
शाहले काठमाडौं महानगरबाट धेरै स्थानीय तहले सिक्ने प्रयास गरिरहेको उल्लेख गर्दै सो सिकाइमा महानगर प्रहरीको ठूलो योगदान रहेको स्पष्ट पारे । उनले सार्वजनिक सम्पत्ति संरक्षण, अतिक्रमण हटाउने, सुशासन र सुव्यवस्था कायम गर्ने तथा अनुगमन गर्ने काममा महानगर प्रहरीको भूमिका महत्वपूर्ण रहेको बताए ।
‘सानोमा हलिउड फिल्म हेर्दा न्यूयोर्क सिटी पुलिसको काम कारबाही देखेर रमाइलो लाग्थ्यो । अहिले भने काठमाडौं महानगर प्रहरीको काम हेर्दा कहिलेकाहीँ त्यस्तै सिनेमा हेरेजस्तो लाग्छ, जुन खुशीको कुरा हो,’ शाहले भने ।
उनले महानगर प्रहरी बल काठमाडौंको पर्यायवाची पहिचानको रूपमा स्थापित भएको भन्दै यसले आगामी दिनमा पनि अन्य सिटी प्रहरी र स्थानीय सरकारका लागि सिकाइको आधार बन्ने विश्वास व्यक्त गरे ।